काठमाडौं — कुनै बेला सञ्चारमाध्यममै काम गरेका पन्नाकाजी शाक्य पछिल्लो समय सञ्चारमाध्यमबाट टाढै बसे । विसं २००८ देखि रेडियो नेपालमा गायकका रूपमा जागिर खाएका उनले २०४२ मा अवकाश लिएका थिए । ‘तिरिरी मुरली बज्यो...’ गायकले बुधबार ८५ वर्षको उमेरमा जीवनबाटै बिदा लिए ।
पन्नाकाजीले मवीवि शाह, जनार्दन सम, धर्मराज थापा, रत्नशमशेर थापा लगायतका रचनामा स्वर दिएका थिए । आफैं कुशल संगीतकार भएकाले ‘लोलाएका ती ठूला आँखा...’, ‘बिहानी घाम...’ जस्ता गीत कम्पोज गरेर गाए । सरोजकुमार शाक्यको रचना रहेको ‘तिरिरी मुरली बज्यो...’ गीत पन्नाकाजीलाई सम्झाउन पर्याप्त छ ।
गायक बुलु मुकारुङका अनुसार, पन्नाकाजी २०२३ मा रेडियो नेपालबाट सर्वश्रेष्ठ गायक घोषित भएका थिए । संगीतकी सोखिन आमाकै कारण उनी गायनमा तानिएका थिए । उनलाई गायक हरिप्रसाद रिमालले रेडियो नेपाल प्रवेश गराएका थिए ।
उनका नाममा झन्डै ४ सय गीत रेकर्ड भएको पाइन्छ । ‘लिजेन्ड अफ पन्नाकाजी’, ‘भजन–कीर्तन’, ‘आफ्नो संसार’ जस्ता एल्बम निकालेका थिए । लोक, आधुनिक र भजन गायनमा उनको योगदान रहयो ।
पन्नाकाजीका दुई छोरा प्रवेशमान र पवित्रमान शाक्य संगीतमै लागेका छन् । पछिल्लो समय इमेज एफएमले प्रदान गरेको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ग्रहण गर्दाताका पन्नाकाजी सामाजिक समारोहमा देखिएका थिए । त्यसबाहेक उनी सधैं पर्दापछाडि नै बस्न चाहे । उनी ओमबहालमा हुर्केका थिए । विसं २०७२ को भूकम्पले घर भत्काएपछि उनी ताहाचल सरेका थिए ।
उनकै पूर्वइच्छाबमोजिम बुधबार पार्थिव शरीर नेपाल प्रज्ञा प्रतिष्ठानमा नराखी टेकु दोभानमा अन्त्येष्टि गरियो ।
