मणिपुरमा रैथाने मेतेई र आदिवासी कुकी समुदायबीच ३ मे २०२३ मा जातीय हिंसा सुरू भएको थियो । त्यसयता यहाँ विभिन्न समयमा हिंसा बल्झिरहेको छ ।
What you should know
विराटनगर — गत ७ अप्रिलमा मणिपुरको विष्णुपुर जिल्लामा भएको बम आक्रमणमा दुई बालबालिकाको मृत्यु भएपछि भड्किएको हिंसा झन् चर्किएको छ। उक्त घटनामा तीन जनाको ज्यान गएको थियो । त्यसयता राज्यका विभिन्न क्षेत्रमा हिंसात्मक घटना निरन्तर भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
१३ मे २०२६ मा पुनः आदिवासी समुदायका तीन जना इसाई नेताको हत्यापछि हिंसात्मक आन्दोलन फेरि चर्किएको हो । चुराचाँदपुरमा आयोजित इसाई सम्मेलनबाट कांगपोकपी जिल्लातर्फ फर्किंदै गरेका कुकी समुदायका उनीहरूमाथि आक्रमण भएको थियो ।
मणिपुरमा रैथाने मेतेई र आदिवासी कुकी समुदायबीच ३ मे २०२३ मा जातीय हिंसा सुरू भएको थियो । त्यसअघि अप्रिल २०२३ मा उच्च अदालतले मेतेई समुदायलाई अनुसूचित जनजाति (एसटी) सूचीमा समावेश गर्ने विषयमा सरकारलाई विचार गर्न आदेश दिएको थियो । त्यसपछि पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी कुकी र नागा समुदायले आफ्नो भूमि र अधिकार जोखिममा पर्ने भन्दै विरोध सुरू गरेका थिए । त्यही पृष्ठभूमिमा भड्किएको हिंसा तीन वर्षपछि पनि रोकिएको छैन ।
नागा–कुकी सम्बन्ध किन चिसियो ?
सुरुवाती चरणमा मेतेई समुदायको माग र राज्य संरचनाविरुद्धको असन्तोषका कारण पहाडी क्षेत्रका नागा र कुकी समुदाय कहिलेकाहीँ एउटै मोर्चामा देखिएका थिए । तर, पछिल्ला घटनाक्रमले उनीहरूबीचको सहकार्य कमजोर मात्र होइन, आपसी अविश्वास र प्रत्यक्ष टकरावमा रूपान्तरण भएको देखिन्छ ।
यसपटकको तनावको प्रमुख कारण भू–भागीय दाबी र सुरक्षा धारणाको टकराव हो । नागा र कुकी दुवै समुदायले पहाडी क्षेत्रलाई आफ्नो ऐतिहासिक प्रभावक्षेत्र मान्दै आएको छ । म्यानमार सीमासँग जोडिएको यो क्षेत्रमा भूमि, बस्ती र आवतजावत नियन्त्रणको प्रश्न बारम्बार विवादको केन्द्र बन्दै आएको छ ।
सँगै सीमापार सशस्त्र समूहहरूको सत्रियता र हतियारको पहुँचले द्वन्द्वलाई अझ जटिल बनाएको छ । ७ मेमा नागा गाउँहरूमा भएको आक्रमणमा ड्रोन र रकेट लन्चर जस्ता हतियार प्रयोग भएको दाबी गरिएको छ, जसलाई नागा संगठनहरूले ‘सीमापार सैन्य आक्रमण’ भनी टिप्पणी गरेका छन् । यस्ता घटनाले स्थानीय समुदायबीच डर मात्र होइन, प्रतिशोधको भावना पनि बढाउँदै लगेको छ ।
‘नागा र कुकीबीच भूमिकै लडाइँ हो’, मणिपुरका नेपालीभाषी पूर्व प्रधानपञ्च शिवकुमार बस्नेत भन्छन्,‘उनीहरूबीचको लडाइँ जमिनकै लागि हो । उनीहरू आ–आफ्नो जमीन अलग्याउन चाहिरहेका छन् ।’
यसबीच पछिल्लो एक महिनामा नागा–कुकीबीचको सशस्त्र द्वन्द्वमा करिब दुई दर्जनभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा दुवै समुदायका छन् । कुकी सशस्त्र समूहहरूप्रति केन्द्र सरकारले नरम नीति अपनाएको आरोप नागा संगठनहरूले लगाउँदै आएका छन् ।
११ मेमा नागा नागरिक समाजका संगठनहरूले संयुक्त रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन बुझाउँदै कुकी सशस्त्र समूहहरूप्रति सरकारी नीतिले हिंसा बढाएको आरोप लगाएका थिए । युनाइटेड नागा काउन्सिल, नगा महिला संगठन र अल नागा स्टुडेन्ट्स एसोसिएसनले जारी हिंसालाई नागा समुदायविरुद्धको ‘प्रोक्सी युद्ध’ भनी टिप्पणी गरेका छन् ।
उनीहरूको दाबीअनुसार म्यानमारस्थित कुकी नेसनल आर्मी–बर्मा (केएनए–बी) का लडाकुहरूले भारत–म्यानमार सीमापार गर्दै उखरुल, कामजोङ लगायतका नागा गाउँहरूमा आक्रमण गरिरहेका छन् । मे ७ मा जेड, चोरो, नामली–वाङ्ली र काका गाउँमा भएका आक्रमणमा घरहरू जलाइएको र बस्ती विस्थापित भएको उनीहरूको आरोप छ ।
ज्ञापनमा ड्रोन, रकेट लन्चर जस्ता सैन्यस्तरका हतियार प्रयोग भएको उल्लेख गर्दै ठूलो संख्यामा सशस्त्र समूह सीमा पार गर्दै प्रवेश गरिरहेको दाबी गरिएको छ ।
केही दिनअघि नागा समुदायका १८ जनालाई कुकीले र कुकी समुदायका २० जनालाई नागा समुदायले अपहरण गरेका छन् । जसमा तीन नेपालीभाषी समेत थिए । दुवै पक्षले ६/६ जना बाहेक अरूलाई रिहा गरिसकेका छन् । रिहा नहुनेमा नेपालीभाषी पास्टर मनु तामाङसमेत छन् ।
‘दुई नेपालीभाषीलाई छाडिदियो एक जनालाई अझै छाडेको छैन’, पूर्व प्रधानपञ्च बस्नेतले भने,‘किन अपहरण गरिएको हो थाहा छैन ।’
बस्नेतका अनुसार ३ मेमा एक नेपालीभाषी महिलाको घरभित्र हत्या भएको थियो । काङकोक्पी जिल्लाको तिसहजारे गाउँकी ६३ वर्षीया पुष्पा पौड्यालको घरमै हत्या हुनुका साथै पैसा र सुनचाँदी लटेर लगिएको थियो ।
उनको हत्यामा संलग्नलाई कारबाही माग गर्दै नेपालीभाषीहरुले धर्ना र प्रदर्शन गरेका थिए । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान भएको छैन । ‘नेपालीभाषीहरू ज्यादै असुरक्षित बन्दै गएका छन्’, बस्नेतले सुनाए,‘जति बेला जे पनि हुन सक्छ ।’
कुकी गाउँमा आक्रमण, ३ को मृत्यु
भारतको मणिपुर राज्यस्थित कांगपोकपी जिल्लाको एक कुकी गाउँमा शुक्रबार बिहान भएको सशस्त्र आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणका क्रममा सातवटा घरमा आगजनी गरिएको तथा अन्य सम्पत्तिमा पनि ठूलो क्षति पुगेको बताइएको छ।
नर्थइस्ट टुडेका अनुसार न्यू केइथेलमानबी क्षेत्रअन्तर्गत पर्ने लोइबोल गाउँमा बिहान करिब ४ बजे आक्रमण भएको थियो। घटनामा लेतखोङ्गम हाओकिप, टिनमेरी हाओकिप र जाङ्मिनलाल हाओकिपको मृत्यु भएको छ। उनीहरू तीनै जना सोही गाउँका बासिन्दा हुन्।
आक्रमणपछि विस्थापित स्थानीय
कुकी–जो समुदायहरूको छाता संगठन कूकी इनपी मणिपुर (केआईएम) ले घटनाको निन्दा गर्दै निहत्था नागरिकमाथि भएको ‘क्रूर आक्रमण’ को संज्ञा दिएको छ। संगठनले जारी गरेको विज्ञप्तिमा नेशनल सोसलिस्ट काउन्सिल अफ नागालिम (एनएससीएन–आईएम) र त्यससँग आबद्ध जेलीआङ्गरोङ युनाइटेड फ्रन्ट (जेडयूएफ–के) का सशस्त्र सदस्यहरूले गाउँमा आक्रमण गरेको आरोप लगाइएको छ।
केआईएमका अनुसार आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै सातवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्। नागरिकहरूको सम्पत्तिमा समेत ठूलो क्षति पुगेको दाबी गरिएको छ।
संगठनले घटनाको तत्काल छानबिन गर्न, दोषीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन भारत सरकार र सुरक्षा निकायसँग माग गरेको छ। संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाउन पनि आग्रह गरिएको छ।
यता, इम्फालस्थित प्रशासनले घटनामा संलग्न समूहको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ। द हिन्दुका अनुसार यो घटना अखिल नागा विद्यार्थी संघ, मणिपुर (एएनएसएएम) ले उखरुलबाट कांगपोकपी जिल्लातर्फ मार्च सुरु गरेको २४ घण्टाभन्दा कम समयपछि भएको हो।
मार्चको उद्देश्य गत मे १३ मा तीन चर्च नेताको हत्या भएपछि अपहरणमा परेका नागा समुदायका ६ जना अझै सम्पर्क विहीन छन् ।
फेब्रुअरीयता मणिपुरमा नागा र कुकी समुदायबीचको तनाव चर्किँदै गएको हो। उखरुल जिल्लाको लितान क्षेत्रमा दुवै समुदायबीच पटक–पटक हिंसात्मक घटना भएका छन्। ती घटनामा दुवै पक्षका मानिसको ज्यान गएको तथा घरहरूमा आगजनी गरिएको छ।
