सिड्नीमा उद्यमशीलता र नवप्रवर्तनबारे नेपाली युवा उद्यमीको भेला हुँदै 

जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा हुने कार्यक्रममा एआई, नवप्रवर्तन र उद्यमशीलताबारे छलफल हुने

जेष्ठ २१, २०८३

कान्तिपुर संवाददाता

Nepali young entrepreneurs gather in Sydney to discuss entrepreneurship and innovation

काठमाडौँ — अस्ट्रेलियाको सिड्नीमा  नेपाली युवा उद्यमीहरूको अन्तर्राष्ट्रिय भेला आयोजना हुने भएको छ। आगामी जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा हुने उक्त कार्यक्रममा एआई, नवप्रवर्तन र उद्यमशीलताबारे छलफल हुनेछ ।

नेपाली युवा उद्यमी महासंघ (फिने) को अन्तर्राष्ट्रिय कार्य समिति (आईसीसी) ले फिने अस्ट्रेलियासँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली उद्यमीहरुको विश्वव्यापी नेटवर्क विस्तारका लागि समेत यो कार्यक्रम महत्वपूर्ण हुने फिने आइसीसीका महासचिव दिपेन घलेले बताए । 

कार्यक्रममा २० देशका ७०० भन्दा बढी नेपाली युवा उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको उनले बताए ।  घलेका अनुसार कार्यक्रममा नेपाल र अष्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ।  त्यसैगरी, अष्ट्रेलियाका वित्तमन्त्री तथा साना-मझौला उद्यम मन्त्रीसहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले विभिन्न विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गर्नेछन् ।

एआईको बढ्दो प्रभावबीच नेपाली युवाहरूले नयाँ प्रविधिमैत्री व्यवसाय तथा स्टार्टअप निर्माण गर्ने सम्भावनाबारे अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त गर्नेछन् ।

सम्मेलनका दौरान नवप्रवर्तनका लागि ३५ लाख रुपैयाँ बराबरको एआई स्टार्टअप प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ। 

कान्तिपुर

Link copied successfully