७ नेपाली अमेरिकाको ‘अति खराब’ अपराधीको सूचीमा  

होमल्यान्ड सेक्युरिटीले ७ नेपाली यौनशोषण, विद्युतीय ठगी, लागूऔषध ओसारपसार, हिसांत्मक आक्रमण जस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको दाबी गरेको छ । 

वैशाख ८, २०८३

सुदीप शिवाकोटी

7 Nepalis on America's 'worst criminals' list

What you should know

अमेरिका — यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले सात जना नेपालीलाई अति खराब (वर्स्ट अफ द वर्स्ट) अपराधीको सूचीमा राखेको छ । 

यूएस इमिग्रेसन एन्ड कस्टमस् इन्फोर्समेन्ट (आइस)ले गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीलाई कारबाही गर्ने क्रममा पक्राउ गरेका ७  नेपालीलाई अनुसन्धानपछि होमल्यान्ड सेक्युरिटीले ‘अति खराब’ अपराधीको सूचीमा राखेको हो ।  यौन शोषण, विद्युतीय ठगी, लागूऔषध ओसारपसार, हिसांत्मक आक्रमण जस्ता गम्भीर अपराधिक गतिविधिमा उनीहरू संलग्न रहेको सूचीमा उल्लेख गरिएको छ ।  

‘अति खराब’ अपराधीको सूचीमा रिकेश थापा, नवीन शाह, टेकन कँडेल, रातुल सिंह, सयनम घिमिरे, अनिल पन्थ र सन्तोष दर्जीको नाम होमल्यान्ड सेक्युरिटीको वेबसाइटमा उल्लेख गरिएको छ । सूचीमा परेकामध्ये रिकेश वायर फ्रड (विद्युतीय ठगी)को अभियोगमा लुजियाना राज्यबाट पक्राउ परेका थिए ।

नवीन, रातुल र अनिल फरक-फरक मितिमा टेक्सस राज्यबाट पक्राउ परेका हुन् । नवीन ठगी, कुटपिट र चोरी, रातुल डकैती र अनिल सञ्चारमाध्यममार्फत नाबालिगलाई लोभ्याएको अभियोगमा आइसले पक्राउ गरेको होमल्यान्ड सेक्युरिटीले उल्लेख गरेको छ । टेकनलाई नाबालिगलाई यौन शोषण र बन्धक बनाएको अभियोगमा कोलोराडो सहरको ग्रिली सहरबाट पक्राउ गरिएको थियो । 

यसैगरी, यौन दुर्व्यवहारको अभियोगमा सयनमलाई आइसले न्यूयोर्कमा पक्राउ गरेको होमल्यान्ड सेक्युरिटीको सूचीमा उल्लेख छ । सन्तोष खतरनाक लागूऔषध, परिचय चोरी र सवारीसाधन चोरीको अभियोगमा एरिजोना राज्यको फिनिक्स सहरबाट पक्राउ परेका थिए । होमल्यान्ड सेक्युरिटीले ७ जनाको उमेर, मुद्दाको स्थिति, कुन प्रक्रियाबाट अमेरिका आइपुगेको र उनीहरूलाई कहाँ राखिएकोबारे उल्लेख गरेको छैन ।

दक्षिण एसियाका देशहरूमा नेपालीसहित २ सय ६९ जनालाई अमेरिकाले ‘अति खराब’ अपराधीको सूचीमा राखेको छ । तीमध्ये १ सय ३९ जना भारतीय, ६० जना पाकिस्तानी, २० जना भुटानी, २९ जना अफागानी, ३ जना श्रीलंकन, बंगलादेशी ११ जना छन् । 

२०२५ जनवरीदेखि २०२६ जनवरीसम्म एक वर्ष अवधिमा आइसले ३ लाख ९३ हजार गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई पक्राउ गरेको थियो । तीमध्ये २ लाख २९ हजारलाई विदेशी साना-ठूला अपराधमा संलग्न रहेको पाइएको आइसले जनाएको छ ।

होमल्यान्ड सेक्युरिटीको तथ्यांकअनुसार गत वर्ष डिसेम्बरमा मात्र ५ हजारलाई ‘अति खराब’ अपराधी आप्रवासीको सूचीमा राखेको उल्लेख छ । होमल्यान्ड सेक्युरिटीले हत्या, बलात्कार, बाल यौन शोषण, अपहरण, डकैती जस्ता हिंसात्मक अपराधका दोषीलाई ‘अति खराब’ अपराधीको सूचीमा राख्ने गरेको जनाएको छ ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully