मेरिल्यान्ड 'हाउस अफ डेलिगेट्स' बन्‍ने दौडमा सतीश चापागाईं

सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै आएका सतीश चापागाईं मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ (ए) बाट हाउस अफ डेलिगेट्सका लागि चुनावी दौडमा रहेका छन् ।

चैत्र २६, २०८२

सुदीप शिवाकोटी

What you should know

अमेरिका — नेपाली मूलका युवा नेता अमेरिकाको मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स बन्न प्रतिस्पर्धामा उत्रिएका छन् । सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै आएका सतीश चापागाईं मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ (ए)बाट हाउस अफ डेलिगेट्सका लागि चुनावी दौडमा रहेका छन् । 

हाउस अफ डेलिगेट्स चयनका लागि मेरिल्यान्डमा आगामी नोभेम्बरमा हुने चुनावी प्रतिस्पर्धामा उनी डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्न प्राइमरी इलेक्सन (उम्मेदवार छनोटका लागि पार्टीभित्र हुने निर्वाचन)मा प्रतिस्पर्धामा उत्रिएका हुन् । अमेरिकामा प्रत्येक तहको जनप्रतिनिधि उम्मेदवार बन्न पहिलो चरणमा आफ्नो पार्टीभित्र प्राइमरी इलेक्सनमा निर्वाचित भएपछि मात्र सोही पार्टीबाट चुनावी प्रतिस्पर्धामा भाग लिन पाउने प्रावधान छ । 

नोभेम्बरमा हुने हाउस अफ डेलिगेट्स निर्वाचनका लागि डेमोक्रेटिक पार्टीमा प्राइमरी इलेक्सन आगामी जुन २३ मा हुनेछ ।

हाउस अफ डेलिगेट्स उम्मेदवार बन्ने होडमा डेमोक्रेटिकको प्राइमरी इलेक्सनमा सतीशसँगै चार जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् । चारमध्ये प्राइमरी इलेक्सनमा बढी मत ल्याउने दुई जना उम्मेदवारका लागि डेमोक्रेटिकबाट छनोट हुनेछन् । हालसम्म सतीशसँगै लिडिया ब्राउन, चम बेकर र क्लिभलेन्ड रेनोल्ड जुनियर चुनावी प्रतिस्पर्धामा उत्रिने पक्का भइसकेको छ । 

यीमध्ये बढी मत ल्याउने दुई उम्मेदवारले आगामी नोभेम्बरमा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका दुई उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने छन् । निर्वाचनमा प्रतिस्पर्धा गर्ने दुई पार्टीका चार उम्मेदवारमध्ये विजयी हुने २ जना मेरिल्यान्डको डिस्ट्रिक्ट ७ (ए)को सांसद बन्ने छन् । यो क्षेत्रमा ८३ हजार मतदाता छन् । जसमध्ये  ४ प्रतिशत एसियाली मूलका मतदाता रहेका छन् । ८३ हजार मतदातामध्ये ४४.९ प्रतिशत रिपब्लिकन, ३४.७ प्रतिशत डेमोक्र्याक्ट र १८.९  इन्डिपेन्डेन्ट मतदाता रहेको आकलन गरिएको छ ।

पत्रकारिता क्षेत्रबाट आफ्नो करिअर सुरू गरेका सतीश नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारको भूमिकामा समेत छन् । नेपालमा पाल्पा घर भएका उनी विगत चार वर्षदेखि डेमोक्रेटिक पार्टीको केन्द्रीय सदस्यका रुपमा आबद्ध छन् । उनी डेमोक्रेटिकको निर्वाचित केन्द्रीय सदस्य हुन् । डेमोक्रेटिकको प्राइमरी इलेक्सनमा आफ्नो जित हुने र हाउस अफ डेलिगेट्समा आफू रिपब्लिकनको उम्मेदवारसँग प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताए । 

कान्तिपुरसँग कुरा गर्दै सतीशले नेपाली मूलका अमेरिकी जनताको आवाज बनेर आफू राजनीतिमा होमिएकाले अमेरिका भरका नेपालीको साथ, सहयोग समर्थन आफूमाथि रहेको दाबीसमेत गरे । ‘मैले डेमोक्रेटिकको केन्द्रीय निर्वाचनमा चार हजारभन्दा बढी मत पाएर केन्द्रीय सदस्य जितेको हुँ, म स्वच्छ र निष्पक्ष राजनीतिमा सक्रिय छु,’ उनले भने, ‘मलाई विश्वास छ, डेमोक्रेटिकका सदस्यले मलाई प्राइमरी इलेक्सनमा जिताउने छन् र म स्टेट डेलिगेटका लागि अब्बल उम्मेदवार बन्नेछु । 

सतीशले आफू प्राइमरी इलेक्सनमा उम्मेदवार बनेपछि नेपाली समुदायसँग सम्बन्धित मेरिल्यान्डमा रहेका संघसंस्थाहरूसँग छलफल सुरू गरिसकेका छन् । सबैको साथका लागि उनले नेपाली आबद्ध संस्थाहरूलाई आग्रहसमेत गरेका छन् । आफू स्टेट डेलिगेटमा निर्वाचित भएमा नेपालीका मुद्दालाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

हाल अमेरिकाभर ११ जना नेपाली मूलका जनप्रतिनिधि छन् । मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्समा ह्यारी भण्डारी, मेम्बर अफ द न्युयोर्क स्टेट एसेम्बलीमा सराहना श्रेष्ठ र न्यूह्याम्पसायर राज्यको हाउस अफ रिप्रिजेन्टेटिभ्समा सुरज बुढाथोकी छन् । तीन वटा हाउस अफ डेलिगेट्समा रहेका यी तीन जना डेमोक्रेटिक पार्टीबाट निर्वाचित भएका थिए ।

यसैगरी आठ जना नेपाली मूलका जनप्रतिनिधि स्थानीय तहमा छन् । टीका पौडेल टेक्सस राज्यको युलेस सहरका उपमेयर छन् । किरण सिटौला मेरिल्यान्ड राज्यको टाउन अफ इन्डियन हेडमा उपमेयर हुन् । स्थानीय तहको सदस्य (सिटी काउन्सिल मेम्बर)मा डिल्ली भट्टराई, रामचन्द्र श्रेष्ठ, ज्ञानु श्रेष्ठ, चिरन न्यौपाने, भुवन प्याकुरेल र मधु पन्थी छन् । 

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully