प्रवासी नेपालीले भ्रष्टाचार नियन्त्रण, शिक्षा, रोजगारी र सुशासनमा सुधारको अपेक्षा राखेका छन् ।
What you should know
अस्ट्रेलिया — २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार बन्दै छ । यसपालिको निर्वाचन नतिजाले अस्ट्रेलियामा रहेका लाखौं नेपालीलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ ।
निर्वाचन घोषणा भएदेखि नै विभिन्न नेता तथा दलको समर्थनमा यहाँका नेपालीले सामाजिक सञ्जालमार्फत खुलेरै समर्थन र विरोध जनाएका थिए । तर निर्वाचन सम्पन्न भएर नतिजा आइसकेपछि अब देशमा परिवर्तन आउने र पहिलेको तुलनामा केही मात्रामा भए पनि सुधार आउने यहाँका नेपाली आशावादी छन् ।
कान्तिपुरले अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपालीलाई नयाँ सरकारले अब के गर्न आवश्यक छ भन्नेबारेमा सोधेको छ ।
०००
सुमन थापा, गोल्डकोस्ट
सबैभन्दा पहिला त नेपालको भ्रष्टाचार उन्मूलन नै अहिलेको सरकारको प्राथमिकतामा पर्नुपर्छ । स्थानीय तहमा गरिने भ्रष्टाचार अन्त्य गर्न केन्द्रीय सरकारको निर्देशनमा गोप्य अनुगमन टोली खटाएर कारबाही अघि बढाउनुपर्छ । केन्द्रीय सरकार र नेतृत्व मात्र परिवर्तन हुँदैमा देश र देशको सिस्टम परिवर्तन हुँदैन, स्थानीय तहलाई अझ प्रभावकारी र जनताप्रति उत्तरदायी बनाउनका लागि विशेष अभियान नै चलाउनुपर्छ ।
स्थानीय तहमा हुने बेथिति, बेरुजु र गैरकानुनी हरेक कामलाई नियन्त्रण गर्नका लागि प्रभावकारी अनुगमन, अनुसन्धान र कारबाही प्रक्रियालाई तीव्रता दिनुपर्छ । बेथिति र भ्रष्टाचारबाट पीडित नेपालीले यो सरकार आएपछि केही हुन्छ भन्ने जुन आशा राखेका छन्, त्यसलाई पूरा गर्न पनि भ्रष्टाचार र बेथितिविरुद्ध शून्य सहनशीलताको अवधाराण लिनुपर्छ ।
०००
खगेन्द्र सत्याल, तास्मानिया
नेपालमा अब परिवर्तन आउँछ भन्नेमा म विश्वस्त छु । नेपालको सबैभन्दा ठूलो समस्या नै भ्रष्टाचार र यसको नियन्त्रणमा देखिएको अनुदारता हो । नयाँ सरकारले विगतमा भएका हरेक अनियमितता र काण्डलाई निष्पक्ष रुपमा छानबिन गरी दोषी जोकोही भए पनि कारबाहीको दायरमा ल्याउनुपर्छ । सत्ताको आडमा भएका आर्थिक घोटाला, सत्ता दुरुपयोग र राजनीतिक संरक्षणका कारण धेरै मुद्दा त्यतिकै थन्किएका छन् । त्यसको समेत निष्पक्ष छानबिन हुनुपर्छ ।
अर्कोतिर अभिव्यक्ति स्वतन्त्रताका नाममा भइरहेका गलत क्रियाकलापलाई पनि रोक्नुपर्छ । गलत सूचना, घृणात्मक सामग्री, साइबर अपराध लगायतका गतिविधिलाई कानुनी दायरमा ल्याउन कदम चाल्नुपर्छ । नेपालमा युवामैत्री र आधुनिक शिक्षा प्रणालीको सुरुवात गर्नुपर्छ, जसले युवालाई विश्वस्तरको ज्ञान, सीप र प्रविधिसँग जोड्दै अवसर प्रदान गर्न सफल हुनेछ । त्यसैगरी विदेशी राष्ट्रसँग समेत द्विदेशीय कूटनीतिक सम्बन्ध विस्तार गर्नका लागि समय सुहाउँदो नीति र उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिन आवश्यक छ ।
०००
रोशनी श्रेष्ठ, मेलबर्न
सरकार बदल्नु मात्रै परिवर्तन होइन । जनताको जीवनमा देखिने गरी वास्तविक परिवर्तन ल्याउन सरकार केन्द्रित हुनुपर्छ । भ्रष्टाचारीमाथि कडा कारबाही र कानुन सबैका लागि बराबरी लागू हुनुपर्छ । अवसर नपाएर विदेसिएका युवालाई नेपालमै रोजगार र आर्थिक अवसर प्रदान गर्नुपर्छ । सुशासन र सेवा सुधारको मुद्दा पनि प्रभावकारी रुपमा अघि ल्याउनुपर्छ ।
जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा स्मारक निर्माण गरेर उनीहरुको जीवनको योगदानको मूल्यांकन गरिनुपर्छ । यसैगरी शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जनताले अनुभव गर्न सक्ने प्रगति हुनु आवश्यक छ । अर्कोतिर प्रवासमा रहेका दसौं लाख नेपालीको ज्ञान, सीप र लगानीलाई देश विकासमा जोड्न सहकार्य नीति अवलम्बन गर्न अत्यन्तै आवश्यक छ ।
०००
छेदा लामा, एडिलेड
नेपालको सबैभन्दा ठूलो समस्या नै भ्रष्टाचार, बेथिति र शून्य जवाफदेहिता भएका कारण सरकारले यसको नियन्त्रणमा काम गर्न आवश्यक छ । भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाउँदै पूर्ण जवाफदेही भएर जनताका लागि काम गर्नुपर्छ । युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न विदेशी लगानीलाई प्रोत्साहित गरेर उद्यम, कलकारखाना र पर्यटन प्रवर्धन गर्न आवश्यक छ ।
निम्न आय भएका नागरिक र विकट बस्तीमा रहेका नेपालीलाई शिक्षा, स्वास्थ्य लगायतको सेवामा बराबरीको अवसर दिँदै उनीहरुको नागरिक अधिकारलाई सुनिश्चित गरिनुपर्छ । सरकार मेरो पनि हो भन्ने भावना उनीहरुलाई समेत दिलाउन आवश्यक छ । यसका साथै एक व्यक्ति बढीमा दुईपटकभन्दा बढी देशको कार्यकारी पदमा रहन नपाउने कानुन पारित गरी नयाँ राजनीतिक संस्कारको विकास गरिनुपर्छ । जघन्य अपराध वा भ्रष्टाचारमा संलग्न जोकोही भए पनि राज्यले कारबाहीको दायरमा ल्याउन कडा कानुनको व्यवस्था गर्नपर्छ ।
०००
बिनु कर्माचार्य, सिड्नी
आजसम्म जे भएको थियो, त्योभन्दा अवश्यै केही परिवर्तन आउँछ भन्ने अपेक्षा छ । नेताको सोर्सफोर्स तथा भनसुनमा मात्र जागिर वा अवसर पाउने अवस्थाको अन्त्य हुन आवश्यक छ । परिवर्तन भनेको आजको भोलि नै आउँछ भन्ने होइन । त्यसका लागि हामी सबैले धैर्य राख्न सक्नुपर्छ ।
पहिलेका नेताले इख राख्ने, खुट्टा तान्ने प्रवृत्ति छाडेर नयाँ आएकालाई निर्धक्क काम गर्न दिनुपर्छ । नयाँले समेत जनताको इच्छा र चाहनाबमोजिम जनताको हकहितका लागि मात्र काम गर्नुपर्छ । क्षमता र योग्यता भएका नेपालीले बराबरी अवसर पाउने वातावरण सिर्जना गर्नुपर्छ । अहिले विदेसिइरहेका नेपालीलाई पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोचको विकास हुन सकोस् । भ्रष्टाचार र बेथितिविरुद्ध कानुन बनाएर अघि बढ्नुपर्छ ।
