कतारमा करिब ३ लाख ५७ हजार नेपाली कार्यरत छन् ।
What you should know
काठमाडौँ — इलामकी रेणु कार्की आइतबार बिहान ७ः३० बजेतिर कतारको वक्रास्थित पार्कमा योग गर्न निस्केकी थिइन् । एक्कासी कतारको आकासमा मिसाइल आएको खबर आयो । इरानले प्रहार गरेको त्यो मिसाइललाई कतारले आकासमै निस्तेज बनाइदियो । ‘त्यो आवाज निकै ठूलो थियो । मेरो टाउकोमाथि नै खसेको जस्तो भयो,’ उनले भनिन्, ‘म निकै जोडले कुदेर कोठामा आए । अहिले पनि टाउको दुखिरहेको छ ।’
शनिबार बिहानदेखि डरै डरमा रहेको उनले बताइन् । ‘यो युद्ध कति परसम्म जान्छ ? कस्तो रुप लिन्छ भनेर चिन्ता लागेको छ,’ उनले भनिन्, ‘अहिले म बाहिर निस्केको छैन ।’
कतारले निस्तेज पारेको मिसाइल कहाँ झर्छ भन्ने टुङ्गो छैन । शनिबार एउटा टुक्रा हजारौं श्रमिक बस्ने उकिरको अर्जेटिना क्याम्पमा झरेको थियो । त्यसबाट कुनै मानवीय क्षति भएन । आइतबार बिहान पनि एउटा निस्तेज गरिएको मिसाइल सनैया–१० को एउटा क्याम्पमा झर्यो । ‘हामी बिहान ड्युटी जाने बेलामा गाडीमा चढ्दै थियौं । त्यतिखेर माथि आकासमा पड्केको आवाज आयो । त्यो झरेर हामी बसेको नजिकैको क्याम्पमा झरेर ठूलो आगोलागी भयो,’ शिवकुमार सुनारले भने, ‘त्यसपछि हामी काममा गएनौं । क्याम्पभित्रै आएर बसेका छौं । यहाँ सरकारले पनि बाहिर ननिस्कन भनेर मोबाइलमा म्यासेज पठाइरहेको छ ।’
कतारको आन्तरिक मन्त्रालयको सूचनाअनुसार सनैया क्षेत्रमा लागेको आगोलागीबाट कुनै मानवीय क्षति भएको छैन । ‘मिसाइल निस्तेज हुनेक्रममा खसेको टुक्राबाट औद्योगिक क्षेत्र (सनैया)को एउटा ठाउँमा आगोलागी भएको हो । यसलाई नागरिक रक्षा टोलीले तुरुन्तै नियन्त्रणमा लिएको हो,’ आन्तरिक मन्त्रालयको सूचनामा उल्लेख छ ।
इरानले कतारमा रहेको अमेरिकी सैन्य बेस क्याम्पलाई निशाना बनाएर लगातार मिसाइल आक्रमण गरिरहेको छ । यो क्याम्प खाडी क्षेत्रको सबैभन्दा ठूलो अमेरिकी बेस क्याम्प हो । ‘यस्तो अवस्थामा सबैलाई डर त लागेकै हुन्छ । कतिखेर के हुन्छ ?,’ सुनारले भने, ‘हामी सुरक्षित भएर बसिरहेका छौं ।’
कतारको आन्तरिक मन्त्रालयका जनसर्म्पक प्रमुख अब्दुल्लाह खलिफा अल मुफ्ताहले स्थानीय टेलिभिजनमा दिएको सम्बोधनअनुसार इरानले कम्तीमा ६६ वटा मिसाइल प्रहार गरिसकेको छ । निस्तेज बनाउने क्रममा ११४ वटा मिसाइलको छर्रा खसेको छ । त्यसबाट १६ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ ।
‘हामी छतमा बसेर हेरिरहेका थियौ । आकासमा मिसाइल निस्तेज भएपछि पानी परेको जस्तो भएको थियो । छर्रा झर्ने बेला यस्तो हुँदोरहेछ । छर्रा हाम्रो छतमा खस्यो । झन्डै एक किलोको फलामको टुक्रा थियो । प्रहरीलाई बोलायौं,’ दोहामा बस्दै आएका खोटाङका रुद्र शर्माले भने, ‘प्रहरीले लिएर गयो ।’
उनले छतमा बसेर हेर्ने काम निकै जोखिमपुर्ण रहेको बताए ।
मिसाइल निस्तेज गर्नेक्रममा झरेको टुक्राले मानवीय क्षति हुनसक्ने भन्दै कतारले बाहिरी काम गर्न बन्द लगाएको छ । सरकारी र निजी क्षेत्रमा काम गर्नेलाई घरबाटै काम गराउने निर्णय गरेको छ । ‘लगभग सबै काम गर्ने साइडहरू बन्द छ,’ वाक्राा बस्नु चितवनका श्याम भुसालले भने, ‘बाहिर चहलपहल खासै छैन । पसलहरू खुलेको छ ।’
अलगरफ्फामा बस्ने गोरखाका श्रीकृष्ण भट्टराईले रातभर आकासमा पड्किदा सबैलाई डर लागेको बताए । ‘यो युद्ध इरानले सिधै कतारसँग होइन । खाली कतारमा रहेको अमेरिकी बेस क्याम्पमा मात्रै आक्रमण गरेको हो,’ उनले भने, ‘त्यसले गर्दा आफूलाई सुरक्षित हुन्छ भन्ने लागेको छ । आत्तिएका छैनौं । यहाँको सुरक्षा निकायले जारी गरेको निर्देशनलाई भने सबैले पालना गर्नुपर्छ ।’
कतारका लागि कार्यवाहक राजदुत कुमार राईले नेपाली सुरक्षित रहेको बताए । ‘छिटपुट घटनाहरू भइरहेको सूचना जारी भइरहेको छ । यसबारे चासो राख्ने नेपाली श्रमिकहरू दुतावासको सर्म्पकमा आइराखेका छन्,’ उनले भने, ‘अहिलेको लागि सबैजना अत्यावश्यकबाहेक बाहिर निस्कनु हुँदैन ।’
कतारमा करिब ३ लाख ५७ हजार नेपाली कार्यरत छन् ।
