दोहामा कार्यरत हरि अधिकारी भन्छन्– ‘हामी बसेको क्याम्पमै मिसाइलको टुक्रा झर्यो’
What you should know
काठमाडौँ — इजरायल र इरानबीच शनिबार आक्रमण सुरु भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थाले त्यहाँ कार्यरत नेपाली श्रमिक चिन्तित भएका छन् । खाडी क्षेत्रमा करिब १९ लाख नेपाली श्रमिक छन् । इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेपछि इरानले पनि अमेरिकीलक्षित प्रत्याक्रमण सुरु गरेको हो । खाडीस्थित कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), ओमानमा अमेरिकाका सैन्य बेसक्याप छन् । इरानले ओमानबाहेकका ५ देशमा रहेका अमेरिकी सैन्य बेसमा प्रत्याक्रमण गरिरहेको छ ।
नेपालीहरू यूएईमा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेत १ लाख ७५ हजार, बहराइन ३० हजार र ओमानमा २५ हजार छन् । त्यसैगरी, इराकमा २५ हजार, इजरायलमा ५ हजार र लेबनानमा १ हजार छन् । इरानको प्रत्याक्रमणबाट यूएईमा एक जना एसियाली आप्रवासी श्रमिकको मृत्यु भएको जनाइएको छ । परिचय खुल्न नसकेका उनको इरानी मिसाइललाई निस्तेज गर्ने क्रममा झरेको टुक्रा लागेर ज्यान गएको बताइएको छ । यूएईले आफ्नो नागरिक र आप्रवासीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । यूएईमा रहेको नेपाली दूतावासले ‘अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन, यूएई सरकारले जानकारी गराएको सुरक्षा मार्गदर्शन एवं सूचना पालना गर्न’ अनुरोध गरेको छ ।
इरानले दोहास्थित उदइद एयर बेसलाई निसाना बनाई प्रहार गरेको मिसाइललाई कतारले आकाशमा नै निस्तेज पारेको थियो । त्यो टुक्रा कतारको आप्रवासी श्रमिकहरू राखिएको उकिरस्थित अर्जेन्टिना क्याम्पभित्र झरेर आगलागी भएको थियो । मिसाइलको उक्त टुक्रा क्याम्पको भवनछेउमा झरिरहेको देखेपछि आसपासका श्रमिक भागेको भिडियो सार्वजनिक भएको छ । यो सैन्य क्याम्प अमेरिकाको मध्यपूर्वमा रहेको ठूलो हवाई अड्डा हो ।
‘निस्तेज पारिएको मिसाइलको टुक्रा म बस्ने भिल्लाबाट सय मिटरको दूरीमा रहेको गाडीमाथि खस्यो । केही गाडी जले पनि मान्छेलाई केही भएन,’ दोहामा चार वर्षदेखि कार्यरत हरि अधिकारीले भने, ‘यो झर्नुभन्दा थोरै समय अगाडि कोठामै थिएँ, आकाशमा मिसाइल पड्केको आवाज सुनेर बाहिर निस्किएँ । त्यहीबेला निस्तेज गरेको मिसाइल घुम्दै तल झरिरहेको देखें । भागेर जोगिन सफल भइयो ।’ इरानी प्रत्याक्रमणपछि कतारले ‘अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफ दिने अधिकार सुरक्षित’ रहेको प्रतिक्रिया दिएको छ । ‘कतारी भूभागलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गर्नु राष्ट्रिय सार्वभौमिकताको गम्भीर उल्लंघन, देशको सुरक्षामाथिको प्रत्यक्ष आक्रमण अस्वीकार्य हो,’ कतारद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘यसले सम्पूर्ण खाडी क्षेत्रको सुरक्षा र स्थायित्वलाई नै खतरा पुर्याउन सक्छ ।’
कतारले अत्यावश्यकबाहेक बासस्थानबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । कतारमा कार्यरत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष रमेश भट्ट कतारद्वारा जारी सूचनाअनुसार सतर्क रूपमा बसेको बताए । ‘साथीहरू के हुन्छ भनेर चिन्तित देखिन्छ । सुरक्षा चेतावनी बढ्नेबित्तिकै सूचना आइहाल्छ,’ उनले भने, ‘काम गर्ने केही ठाउँहरू बन्द छ । हामी आफ्नो कोठामा बसिरहेका छौं ।’ बहराइनको राजधानी मनमा नजिकैको अमेरिकी नौसेनाको सैन्य शिविरमा विस्फोट भएको थियो । त्यसलाई बहराइनले निस्तेज बनाउन सकेन । ‘हामी प्रभावित क्षेत्रको नजिकै छौं । भित्र के कस्तो भयो ? केही थाहा छैन,’ बहराइनमा कार्यरत पदम सुन्दर गुरुङले भने, ‘बिहान ११ः३० देखि १२ः३० सम्म धेरै मिसाइल विस्फोट भइरहेको थियो ।’
कुवेतको विमानस्थलमा ड्रोन हमला हुँदा केही श्रमिक घाइते भएका छन् । इजरायलमा कार्यरत श्रीकृष्ण भण्डारीले आफूहरू सुरक्षित रूपमा बसेको बताए । कतारका लागि कार्यवाहक राजदूत कुमार राईले कान्तिपुरलाई भने, ‘अहिले हामीले उहाँहरूलाई जहाँ जुन अवस्थामा हो, सुरक्षित बस्न भनेका छौं ।’ परराष्ट्र मन्त्रालयले इजरायल, इरानसहित खाडी क्षेत्रमा बसोबास गरिरहेका नेपालीलाई बढी सावधानी अपनाउन आवश्यक रहेको जनाएको छ ।
