विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ३ लाख रुपैयाँका दरले हरेक विद्यालयमा अक्षयकोष स्थापना गरेको हो ।
लमजुङ — बेलायतस्थित नेपालीहरुको परोपकारी संस्था सहारा यूकेले कास्की, गोरखा र सिन्धुपाल्चोकका तीन विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।
विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ३ लाख रुपैयाँका दरले हरेक विद्यालयमा अक्षयकोष स्थापना गरेको हो ।
संस्थाका अध्यक्ष शारदा गुरुङको नेतृत्वमा पूर्वअध्यक्ष मीनबहादुर गुरुङ, कुशाङ गुरुङलगायत बेलायतबाट नेपाल आएको टोलीले केही दिनअघि विद्यालयहरुलाई अक्षयकोष हस्तान्तरण गरेका हुन् ।
पूर्वअध्यक्ष मीनबहादुर गुरुङका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङस्थित सरस्वति आधारभूत विद्यालय, गोरखाको आरुघाट गाउँपालिका–१ धुन्चेतस्थित गणेश आधारभूत विद्यालय र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङस्थित हैबुङ महादेवस्थान माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
सरस्वति आधारभूत विद्यालयमा विद्यालयका प्रधानाध्यापक शान्ति तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर तामाङलगायतलाई रकम हस्तान्तरण गरिएको छ । गणेश आधारभूत विद्यालयका लागि प्रधानाध्यापक विमला धमलालाई रकम अस्तान्तरण गरिएको थियो । हैबुङ महादेवस्थान माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम लामा, प्रधानाध्यापक राजकुमार लामिछानेलगायतलाई रकम हस्तान्तरण गरिएको थियो ।
पोखरामा सञ्चालित आहा–रारा गोल्ड कपको अवसर पारेर बेलायतबाट आएका साहारा यूकेको सिंगो टीमले विद्यालयलाई रकम हस्तान्तरण गरेका थिए । साहारा यूकेले २०७२ को महाभूकम्पपछि क्षति पुगेका तिनवटै विद्यालयको पुनःनिर्माणका लागि सहयोग गरेको थियो ।
यसअघि भूकम्पले क्षतिग्रस्त विद्यालयमा अहिले पनि साहारा यूकेले सहयोग गरेको पूर्वअध्यक्ष गुरुङले बताए । सहारा युकेले शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक क्षेत्रमा निरन्तर मानवीय सेवा गर्दै आएको जनाएको छ।
