छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्दै

छङ्तुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतले चिनियाँहरूलाई नेपाली उत्पादनबारे खासै जानकारी नभएकाले पर्यटन तथा निर्यातमा टेवा पुर्‍याउन यस्ता पेभेलियनले सघाउने विश्वास व्यक्त गरे।

मंसिर २९, २०८२

लक्ष्मी लम्साल

Nepal Pavilion opens for the first time in Chongqing

What you should know

बेइजिङ — नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन (मण्डप) खुल्ने भएको छ।

यस सम्बन्धी सहमतिपत्रमा चिनियाँ र नेपाली पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो। नेपाली महावाणिज्य दूतावासका कर्मचारी, नेपाल पर्यटन बोर्ड र छोङछिङ नगरपालिका युचोङ जिल्लाका कर्मचारीहरू लगायतको उपस्थितिमा नेपाल–चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराई र छोङछिङ इन्टरनेशनल कम्युनिकेसन एण्ड कोअपरेसन अलायन्स (आईसीसीए) का प्रतिनिधि च्या युबीच हस्ताक्षर भएको हो।

परिषद्का अध्यक्ष भट्टराईका अनुसार आगामी जनवरीमा चिनियाँ टोली नेपालमा गएर नेपाली उत्पादन संकलन गर्ने र पेभेलियनमा लगेर प्रवर्द्धन गर्ने योजना छ। हिमालय एयरलाइन्सको हवाई उडानबाट सिधा जोडिएको छोङछिङमा खोलिने पेभेलियनमा नेपालसम्बन्धी झल्को दिने कलावस्तुहरू राखिनेछ।

सिचुवान प्रान्तीय छङ्तुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतले चिनियाँहरूलाई नेपाली उत्पादनबारे खासै जानकारी नभएकाले पर्यटन तथा निर्यातमा टेवा पुर्‍याउन यस्ता पेभेलियनले सघाउने विश्वास व्यक्त गरे। उनले भने, आपसी सहकार्य बढाउनका लागि चीनले यस्तो प्रस्ताव ल्याएको हो। व्यापारसँगै जनस्तरीय सम्बन्ध पनि विकास हुने भएकाले चीनले यसलाई प्रोत्साहन पनि गर्दै आएको छ।

चिनियाँ पिपुल्स डेली अनलाइनका अनुसार चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र नेपाली राष्ट्रिय मण्डपको सुरुवात छोङछिङ नगरपालिकाको युचोङ जिल्लामा गरिएको हो। यसबाट दुवै पक्षबीच अर्थतन्त्र, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमा सहयोगका नयाँ अध्याय थपिएको अनलाइनले लेखेको छ।

चिनियाँ निजी आयातकर्ताले नेपाली सामानहरू ल्याउने र प्रदर्शन गर्ने जिम्मा लिएको भन्दै महावाणिज्यदूत राउतले नेपाली उत्पादनलाई चिनियाँ उपभोक्तामाझ प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको बताए। सन् २०२१ मा नेपाली महावाणिज्यदूतावास खोलेदेखि नै यो अभियान चलाएको उनले सुनाए।

युचोङ जिल्ला समितिका स्थायी समिति सदस्य तथा जिल्ला उपमेयर तङ क्वाङहुआईले युचोङमा नेपाल राष्ट्रिय मण्डपको आधिकारिक अनावरण चीन र नेपालबीचको मित्रताको प्रतीक मात्र नभई दुई पक्षबीचको सहयोग संस्थागत रूपमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए। उनले भने, ‘नेपाल मण्डपले नेपालको संस्कृति, पर्यटन र विशिष्ट उत्पादनहरू प्रदर्शन गर्न महत्त्वपूर्ण झ्यालको रूपमा काम गर्नेछ। छोङछिङ र नेपालसँग दक्षिणपश्चिम चीनबीच आदानप्रदान र सहयोगका लागि नियमित पुल पनि निर्माण गर्नेछ।’

हालसम्म चीनका छङ्तु, खुनमिङ, छिङताउ लगायत विभिन्न स्थानमा नेपाली पेभेलियन खोलिएका छन्। नेपाली महावाणिज्यदूतावास रहेको सिचुवान प्रान्तमा ४ वटा नेपाली पेभेलियन छन्। महावाणिज्यदूत राउतले विश्वका विभिन्न देशका महावाणिज्यदूतावास रहेका स्थानमा आ–आफ्नै शैलीका पेभेलियन राखिएका बताए।

लक्ष्मी लम्साल

Link copied successfully