नेपाली समुदायद्वारा ओमानको समुद्री किनारमा सरसफाइ

सरसफाइ अभियानमा नेपाली दूतावासका अधिकारी, नेपाली संघ–संस्थाका प्रतिनिधि तथा क्लबका सदस्यको सहभागिता थियो ।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — ओमानको ५५औं राष्ट्रिय दिवसको अवसरमा गैरआवासीय नेपाली सोसल क्लब ओमानले अल अजैवास्थित समुद्री किनारको सरसफाइ गरेको छ ।

क्लबका अध्यक्ष सुरेश खड्काका अनुसार ओमानको ५५औं राष्ट्रिय दिवसमा नेपाली समुदायको उपस्थिति जनाउन समुद्री किनारको सरसफाइ गरिएको हो । ओमानको राष्ट्रिय दिवसमा विभिन्न कार्यक्रम भइरहेको छ ।

समुद्री किनारको सरसफाइ अभियानमा सहभागी हुन शुक्रबार त्यहाँ पुगेका ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल–ओमान सम्बन्धलाई प्रगाढ बनाउन समुदायको योगदान महत्त्वपूर्ण रहेको बताए ।

यस अभियानमा नेपाली दूतावासका अधिकारी, नेपाली संघ–संस्थाका प्रतिनिधि तथा क्लबका सदस्यहरूको सहभागिता थियो । कार्यक्रममा क्लबका सल्लाहकार टीका धितालले ओमानमा रहेका नेपाली समुदायले ओमानको नियम–कानुनलाई पालना गर्नुपर्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully