गत वर्ष साउथ अस्ट्रेलिया सरकारले नेपाली भाषी संघ–संस्थाको सहभागितामा दसैं विशेष कार्यक्रम आयोजना गरेको थियो भने यस वर्ष तिहारलाई पनि समेट्दै दसैं–तिहार विशेष समारोह आयोजना गरेको हो ।
एडिलेड — दक्षिण अस्ट्रेलिया सरकारका बहुसांस्कृतिकमन्त्री जो बेट्टिसनले संसद् भवनमा दसैं र तिहारको उपलक्ष्यमा विशेष समारोह आयोजना गरेका छन् ।
गत वर्ष साउथ अस्ट्रेलिया सरकारले नेपाली भाषी संघ–संस्थाको सहभागितामा दसैं विशेष कार्यक्रम आयोजना गरेको थियो भने यस वर्ष तिहारलाई पनि समेट्दै दसैं–तिहार विशेष समारोह आयोजना गरेको हो ।
मन्त्री बेट्टिसनले नेपाली समुदायको योगदान, एकता र सांस्कृतिक मूल्यप्रतिको सम्मानस्वरूप यो कार्यक्रम गरिएको बताए । उनले नेपाली समुदायलाई 'सांस्कृतिक सम्पदाका वाहक'को रूपमा सम्बोधन गर्दै आफ्ना परम्परामा गर्व गर्न प्रेरित गरे । साथै, भविष्यमा पनि यस्ता अवसरहरूलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले देउसी–भैलोको आकर्षक प्रस्तुति पनि दिएका थिए । पारम्परिक लयमा प्रस्तुत देउसी–भैलोले सभाकक्षमा उत्सवमय कार्यक्रमले प्रवासमा रहेका नेपालीहरू आफ्नो सांस्कृतिक पहिचान जोगाउन र नयाँ पुस्तामा भाषा तथा परम्पराको सम्मान जगाउन कति सक्रिय छन् भन्ने देखाएको सहभागीले बताए । भुटानी–नेपाली संघ संस्थाका प्रतिनिधिहरूको सहभागिताले प्रवासी नेपालीहरूको साझा पहिचान र एकताको सन्देश झल्काएको थियो ।
समारोहमा पण्डित शास्त्री संभव सुवेदी स्वस्तिवाचन गरेर पूजा गरेका थिए भने अस्ट्रेलियामा हुर्कंदै गरेको दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै रितिशा दहालले दसैं-तिहार चाडबारे प्रकाश पारिन् । कलाकार क्षितिज सापकोटाले देउसी-भैलो भट्याउँदा सभाहल तिहारमय भएको थियो ।
कार्यक्रममा साउथ अस्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले दसैं–तिहारको सांस्कृतिक महत्वबारे धारणा राखिन् । उनले नेपाली समुदायका परम्परागत पर्वहरूले सामाजिक एकता, पारिवारिक सुदृढीकरण र सकारात्मक सांस्कृतिक आदानप्रदानमा योगदान पुर्याउने बताइन् । साथै, साउथ अस्ट्रेलिया सरकारले नेपाली समुदायका पर्वहरूलाई सम्मानका साथ मनाउने परम्परा सुरु गरेकोमा धन्यवाद ज्ञापन गर्दै यो पहलले प्रवासी नेपालीहरूको मनोबल र सांस्कृतिक पहिचान सुदृढ भएको टिप्पणी गरिन् ।
