स्थानीय कानुन पालना गर्न यूएईस्थित नेपाली दूतावासको सूचना

पछिल्लो समयमा यूएईमा कार्यरत नेपाली श्रम, बैंकिङ कारोबार, सामाजिक व्यवहार, साइबर क्राइम, ट्राफिक नियम, स्वतन्त्र भिसाको दुरुपयोगमा संलग्न भएको गतिविधि बढेपछि दूतावासले सचेत गराएको हो ।

आश्विन ७, २०८२

होम कार्की

Notice of Nepali Embassy in UAE to comply with local laws

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली राजदूतावासले विभिन्न पेसा तथा व्यवसायमा यूएईमा कार्यरत नेपालीलाई स्थानीय कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

पछिल्लो समयमा यूएईमा कार्यरत नेपाली श्रम, बैंकिङ कारोबार, सामाजिक व्यवहार, साइबर क्राइम, ट्राफिक नियम, स्वतन्त्र भिसाको दुरुपयोगमा संलग्न भएको गतिविधि बढेपछि दूतावासले सचेत गराएको हो । दूतावासले स्थानीय कानुन उल्लंघन गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै सावधान रहन पनि भनिएको छ । यूएईले नेपालीका लागि श्रम र भिजिट भिसा बन्द गरेको पृष्ठभूमिमा दूतावासले यस्तो सूचना जारी गरेको हो । यूएईले सेप्टेम्बर ८ यता भिजिट र श्रम भिसा जारी गरेको छैन । भिसा बन्द गर्नुको कारणबारे भने यूएईले औपचारिक जानकारी गराएको छैन ।

दूतावासले विशेष गरी ११ बुँदा पालना गर्न नेपाली श्रमिकलाई अनुरोध गरेको छ । जसमा यूएईको विद्यमान श्रम, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्ने, रोजगारदाता परित्याग गरी भाग्ने कार्य नगर्न, आफूले काम गर्ने कम्पनी वा संस्थासँगको वैधानिक सम्झौता मिच्ने कार्य नगर्न भनिएको छ । त्यस्तै ट्राफिक नियमको पूर्ण पालना गर्ने, आवासीय परिचयपत्र सधैं साथमा राख्न, वैधानिक, इमानदारितापूर्ण र अनुशासित व्यवहार गर्नर्, झुक्याउने, ठगी गर्ने वा करारविपरीत कार्य नगर्न पनि दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

दूतावासले पासपोर्ट, इमिरेट्स कार्ड वा बैंकिङ कागजात अरूलाई नदिने, फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत अनुचित पोस्ट नगर्ने, अनधिकृत संस्था वा समूह गठन नगर्ने, दूतावासलाई पूर्वजानकारी दिएर मात्र सांस्कृतिक वा धार्मिक कार्यक्रम गर्ने र आपसी ऐक्यबद्धता, सद्भाव र सहकार्यका आधारमा नेपाली समुदायलाई एकताबद्ध राख्न पनि आग्रह गरेको छ । दूतावासले नियम उल्लंघन गर्ने खण्डमा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनीसमेत दिएको छ । यूएई नेपालीको प्रमुख रोजगार गन्तव्य हो । यूएईमा हाल ८ लाख नेपाली रहेका छन् । गत वर्ष मात्रै २ लाख ६४ हजार नेपाली यूएई गएका थिए ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully