खाडी क्षेत्रमा ७८ प्रतिशत श्रमिक विदेशी नागरिक

खाडीको श्रम बजारमा करिब २ करोड ४६ लाख मानिस कार्यरत रहेकामा १ करोड ९० लाख विदेशी श्रमिक रहेको तथ्यांक सार्वजनिक गरिएको हो ।

भाद्र २२, २०८२

होम कार्की

78 percent of workers in the Gulf region are foreign nationals

What you should know

काठमाडौँ — खाडी क्षेत्रमा कार्यरत श्रमिकमध्ये ७८ प्रतिशत विदेशी श्रमिक रहेको तथ्यांक सार्वजनिक भएको छ ।

खाडी देशका सरकार सम्मिलित खाडी समन्वय परिषद् (जीसीसी) को कुवेतमा जारी ११ औं उच्चस्तरीय बैठकमा यो तथ्यांक सार्वजनिक गरिएको हो । जीसीसीभित्र साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, ओमन  र बहराइन रहेका छन् । 

खाडीको श्रम बजारमा करिब २ करोड ४६ लाख मानिस कार्यरत रहेकामा १ करोड ९० लाख विदेशी श्रमिक रहेको तथ्यांक सार्वजनिक गरिएको हो । खाडीमा कुन देशका कति श्रमिक छन् भन्ने विस्तृत तथ्यांक भने सार्वजिनक गरिएको छैन । खाडीमा रहेका दूतावासहरुका अनुसार यी ६ देशमा झन्डै १५ लाख नेपाली कार्यरत छन् ।

कुवेतको पब्लिक अथोरिटी फर म्यानपावरका कार्यकारी महानिर्देशक मरजुक अल ओतैबीले विदेशी श्रमिकको बढ्दो दबदबालाई सन्तुलन गर्न चुनौती रहेको भन्दै साझा श्रम रणनीतिलाई अगाडि बढाउन जरुरी रहेको बताए । 

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बैठकमा निजी क्षेत्रको रोजगारी, राष्ट्रियकरण, सामाजिक सुरक्षा, श्रम विकास तथा श्रम बजारमा महिलाको सहभागितासँग सम्बन्धित विषयमा छलफल भएको छ ।

बैठकमा जीसीसीका आर्थिक तथा विकास मामिलाका सहायक महासचिव खालेद अल सुनैदीले श्रम नीतिलाई दिगो विकासको आधारशिला भएको बताए । ‘खाडी देशबीच श्रम नियममा एकरूपता ल्याउन, कार्यस्थल वातावरण सुधार गर्ने र जनशक्तिलाई प्रतिस्पर्धी बनाउन मद्दत जरुरी छ,’ उनले भने । 

उनले राष्ट्रिय नागरिकलाई रोजगारी दिने र दक्ष विदेशी श्रमशक्ति उपयोग गर्नेबीच सन्तुलन कायम गर्न सरकारहरूलाई आग्रह गर्दै विश्व अर्थतन्त्रमा भइरहेको उतारचढावले निरन्तर सहकार्यको आवश्यकता देखाएको उल्लेख गरे ।

खाडीमा कार्यरत नेपाली श्रमिकबारे ईकान्तिपुरमा प्रकाशित अन्य लेख/रिपोर्टिङ 

खाडीमा घरेलु श्रमिकको रोजगारी

गल्फ कोअपरेसन काउन्सिलले नेपालको कानुन मिच्यो

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully