बेलायतमा १० नेपालीलाई ‘वर्ष व्यक्तित्व २०२५’ सम्मान

यस वर्ष रुबी राउत, डा. विशाल गरुङ, विकास नेपाल, सुनिल खड्का, दिवाकर पाण्डे, महेश अधिकारी, पुरन गिरी, डा. रक्षा थापा, रण केसी र डा. दिलिसा सिम्खडालाई सम्मान गरिएको हो ।

भाद्र १८, २०८२

आश गुरुङ

In Britain, 10 Nepali people have been awarded 'Person of the Year 2025'

What you should know

लन्डन — बेलायतमा सक्रिय नेपाली समुदायका १० जना सामाजिक व्यक्तित्वलाई ‘वर्ष व्यक्तित्व २०२५’ घोषणा गर्दै सम्मान गरेको छ । आइतबार लन्डननस्थित स्ट्यानवेल कम्युनिटी हलमा आयोजित नेपालब्रिटेन डट कम को १८ औं वार्षिकोत्सवको अवसरमा उनीहरूलाई मिडिया पर्सनालिटी अफ द इयर २०२५ सम्मान प्रदान गरिएको हो ।

यस वर्ष रुबी राउत, डा. विशाल गरुङ, विकास नेपाल, सुनिल खड्का, दिवाकर पाण्डे, महेश अधिकारी, पुरन गिरी, डा. रक्षा थापा, रण केसी र डा. दिलिसा सिम्खडालाई सम्मान गरिएको हो । त्यस्तै, बेलायतमा सक्रिय चारभन्ज्याङ तमू समाज यूकेलाई ‘वर्षको उत्कृष्ट सामाजिक संस्था’ का रूपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, तमू धीं यूके अध्यक्ष जुमकाजी गुरुङलगायतले सम्मानित व्यक्तित्वहरुलाई खादा र सम्मानपत्र प्रदान गरेका थिए । राजदूत घिमिरेले नेपालको सकारात्मक छवि अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । ‘नेपाल अब केवल गरिबीले मात्र चिनिने देश होइन, प्रतिभा सम्पन्न मुलुकका रुपमा प्रस्तुत हुनुपर्ने बेला आएको छ’ उनले भने ।

In Britain, 10 Nepali people have been awarded 'Person of the Year 2025'स्पेलथोर्न काउन्सिलका पूर्व मेयर तथा काउन्सिलर मेड बकलेले नेपाली र ब्रिटिश समुदायबीच सहकार्य अझै प्रगाढ बनाउन आवश्यक रहेको धारणा राखे । कार्यक्रममा वेस्ट लन्डनस्थित रिभर एकेडेमीकी छात्रा टिया आचार्यले नेपालमा शिक्षा र पशु अधिकारसम्बन्धी आफ्नो परोपकारी पहलबारे वृतचित्र प्रस्तुत गरेकी थिइन् ।

आयोजक संस्था नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले बेलायतमा विभिन्न क्षेत्रमार्फत नेपाली समुदाय र समाजमा विशेष योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई प्रत्येक वर्ष सम्मान गरिँदै आएको बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully