पवित्राको आवाजमा बेलायतमा गुन्जिए अरुणा लामा र तारादेवी

पवित्रा आधुनिक र गुरुङ फिल्ममा भर्सटाइल गायिकाको रुपमा चिनिन्छन् । उनले गुरुङ फिल्ममा अभिनय समेत गरेकी छन् ।

भाद्र १७, २०८२

आश गुरुङ

Aruna Lama and Taradevi resonated in Britain with the voice of Pavitra

What you should know

लन्डन — लन्डनको दक्षिण–पश्चिममा पर्ने लगभग ३० माइल टाढाको मिचएडस्थित तमू धीं यूकेको हल मन्द बत्ती र दर्शकको उत्सुक अनुहारले भरिएको थियो । मञ्चमा बिस्तारै चढिन् रातो रंगमा सुनौलो फूलले सजिएको चोली र रातोमा सुनौलो फेरोले समातेको घाग्रो लगाएकी, उज्यालो अनुहारकी पवित्रा गुरुङ । दर्शकदीर्घामा ताली छुट्यो, मञ्चलाई ढोग्दै बसिन् पवित्रा ।

धुन बज्छ, उनी नेपाली राष्ट्रिय गान गाउन सुरु गर्छिन्, मातृभूमि सम्झाउने एउटा यात्रा सुरु हुन्छ । उनी दर्शकलाई आकर्षित पार्दै भन्छिन्, ‘म गाउँको स्कुललाई सम्झेर गाउँछु, अनि बालबालिकालाई उज्यालो भविष्य दिन सानो हातेमालो खोज्छु ।’ यसअघि उनीबारेको सानो भिडियोचित्र प्रस्तुत भइसकेको हुन्छ ।

‘समय’ को धुन बज्छ । आफैंले गाएको र अभिनय गरेको यो गीत उनको आफ्नै युट्युब च्यानलमा ४ वर्षअघि अपलोड भइसकेको छ । स्क्रिनमा अरुणा लामा देखा पर्छिन् । कार्यक्रम सञ्चालक गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङले गायिकाको परिचय दिन्छन् । ब्याण्डबाट धुन बजाउन थाल्छ, अनि गुन्जिन्छ, ‘पोहर साल खुसी फाट्दा जतन गरी मनले टालें । यसपालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो ।’

बेलायतको अल्डरशटमा गोर्खा ट्राभल चलाउँदै आएका दिलरास गुरुङ र तमू धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ एकैसाथ सम्झन्छन्, अरुणा लामाका आवाजहरु, तारादेवीका आवाजहरु । भन्छन्, ‘यी गीतहरुमा पवित्राको आवाजमा कत्ति सुहाएको है ।' पवित्रा आधुनिक र गुरुङ फिल्ममा भर्सटाइल गायिकाको रुपमा चिनिन्छन् । उनले गुरुङ फिल्ममा अभिनय समेत गरेकी छन् ।

Aruna Lama and Taradevi resonated in Britain with the voice of Pavitra

बेलायती समय अनुसार अगस्ट ३१ (भदौ १५ गते) आइतबार साँझ ७ बजेदेखि १० बजेसम्मको साँझ केबल एउटा संगीतिक कार्यक्रम मात्र थिएन, स्मृतिको गहिरो धरोहर र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति थियो । दर्शकहरुबाट सहयोगको आवाज बोलिरहेका थिए ।

गोर्खा मिडियाले आयोजना गरेको ‘अ म्युजिकल सोलो विथ पवित्रा गुरुङ र डीएमटी ब्यान्ड च्यारिटी नाइट’ बेलायतमा बस्ने नेपालीहरूको लागि एउटा विशेष अवसर बनेको तमू धीं यूके अध्यक्ष जुमकाजी गुरुङले बताए । जहाँ उनी यसअघि २ वटा कार्यक्रम सकेर आइपुगेका थिए ।

पवित्राले आफ्नो बाल्यकाल बिताएको विद्यालय नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ स्थित गोल्फुभन्ज्याङ माध्यमिक विद्यालयका लागि सहयोग जुटाउने उद्देश्यले यो कार्यक्रमलाई परोपकारी स्वरुप दिएकी थिइन् । यो कार्यक्रमबाट नेपाली ८ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ ।

पवित्राको आवाजमा स्वरसम्राट नारायण गोपाल, अरुणा लामा, तारादेवी, भक्तराज आचार्य, पवित्रा सुब्बा, अरुण थापा, बीमाकुमारी दुराका कालजयी गीतहरू प्रस्तुत हुँदा हलभित्रको वातावरण स्मृतिले भरियो । उनले १३ वटा गीत गाइरहँदा युगलमा साथ दिएका थिए हार्मोनियममा बसेका सोनाहाङ राइ । युगल आवाजमा प्रविन गुरुङ र विमाकुमारी दुराको आवाज रहेको यो दाजुको मिर्मिर आँखाले कार्यक्रमका बीचमा आँसु झारिरहेकाहरु उठेर नाचे ।

Aruna Lama and Taradevi resonated in Britain with the voice of Pavitra

पवित्राको यो प्रस्तुतिलाई किबोर्डमा कुमार गुरुङ, रिदम गिटारमा सन्तोष राइ, लिड गिटारमा सुशिल गुरुङ, तबला र ढोलक रेशम पाचे, मादलमा मिनबहादुर गुरुङ, बाँसुरीमा दिनेश गुरुङले साथ दिए । हार्मोनियमका सोनाहाङ राइ पवित्राले संगीत सिक्दै गरेका चन्दनकुमार श्रेष्ठका विद्यार्थी हुन् । श्रेष्ठले भिडियो शुभकामना दिइरहँदा पवित्राले धुरुधुरु आँसु झारिन् । तमू धीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, एनआरएनए पूर्वअध्यक्ष सूर्य गुरुङलगायतले आँसु थाम्न सकेनन्, हलमा सन्नाट छायो । डीएमटी ब्यान्डको तालसँगै हलका दर्शकहरु नाचे ।

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङले परोपकारी कार्यका लागि पवित्राको आवाजलाई बेलायतमा गुन्जाएको बताए । उनका अनुसार संकलन गरिएको रकम सबै खर्च कटाएर पवित्राले अध्ययन गरेको गाउँको स्कुललाई सहयोग गरिनेछ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully