मेलामा नेपालका साथै युरोपबाट समेत नेपाली सहभागी थिए ।
लन्डन — बेलायतको मध्य लन्डनदेखि करिब १३ माइल पश्चिममा पर्छ केम्प्टन पार्क । यो पार्क घोडा दौडका लागि बनाइएको एउटा मैदान हो, जहाँ सुविधा सम्पन्न प्यारापिट छ ।त्यसैको छेकोमा आइतबार नेपाली राजदूतावासको सहकार्यमा तमू धीं यूकेले १६ औं नेपाली मेला धुमधामले आयोजना गर्यो । मेलामा संयुक्त अधिराज्य बेलायतको इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डदेखि मात्रै नभएर वरपरका देश तथा नेपाल साथै युरोपबाटसमेत नेपाली सहभागी भए ।
आयोजक तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले सन् २००९ देखि निरन्तर हुँदै आएको यो मेला भव्य बनेको बताए । उनका अनुसार नेपाली मेलाले सबै जातजातिको धर्म, संस्कृति, भेषभूषा र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने यो सुनौलो मौकाको रूपमा लिइएको छ ।
मेला संयोजक तमू धीं यूके उपाध्यक्ष कमल गुरुङका अनुसार १२ हजार बढीले १६ औं नेपाली मेलाको अवलोकन गरे । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कूलमान घिसिङ, गण्डकी प्रदेशका पूर्वमन्त्री सांसद वेदबहादुर गुरुङलगायतलाई निम्त्याइएको उक्त नेपाली मेलामा लोपोन्मुख दुरा जातिदेखि भक्तपुरे गाईजात्रा, गुरुङको घ्याब्रे, पच्यु, लामा नाच साथै क्षत्री समुदायको र्याली निकालिए । जहाँ ३५ भन्दा बढी झाँकीहरू प्रस्तुत गरिए । १५ बढी लोकनृत्य र कोरियाली नृत्यसमेत प्रस्तुत गरिए । नेपाली हस्तकला, परम्परागत भेषभूषा, व्यावसायिक तथा च्यारिटी स्टलसहित ७० भन्दा बढी स्टल राखेर नेपालको झल्को दिलाएको उपाध्यक्ष एवम् स्टल संयोजक दिलमाया गुरुङले बताइन् ।
गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाह) अध्यक्ष माया गुरुङ, अमेरिकाबाट आएकी कलाकार एन्सर्ज गुरुङ, गायिका एवम् पूर्वसांसद कोमल ओली, कलाकारहरू पवित्रा गुरुङ, प्रिया गुरुङ, विमल परियार, कृष्ण रेउले, आशराम गुरुङसँग धेरैले तस्बिर खिचे । कास्कीको मादी गाउँपालिका–२, ताङतिङका पूर्ववडाअध्यक्ष एकजङ गुरुङले सँगै पढ्ने खिलाङका साथी ३० वर्षपछि भेट्न पाउँदा खुसी लागेको बताए । नेपाली संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र नेपाली समुदायबीचको एकता बलियो बनाउन यो मेलाले सहयोग पूगेको तमू धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङले बताए । संस्कृतिज्ञ एवम् लेखक एकेन्द्र गुरुङले ‘मिनी नेपाल’ को रूपमा नेपाली मेला चिनिँदै आएको बताए । तमू धीं यूके महासचिव डा. विशाल गुरुङले नेपाली मौलिकता जोगाउन र पुस्तान्तरणका लागि नेपाली मेलाको आवश्यकता र महत्त्व बढ्दै गएको दाबी गरे । तस्बिरहरुः आश गुरुङ/कान्तिपुर
![Nepali Fair at Kempton Park, UK [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nepali-mela-uk-11-2582025040912-1000x0.jpg&w=1001&h=0)
![Nepali Fair at Kempton Park, UK [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nepali-mela-uk-28-2582025041849-1000x0.jpg&w=1001&h=0)
![Nepali Fair at Kempton Park, UK [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nepali-mela-uk-27-2582025041827-1000x0.jpg&w=1001&h=0)
![Nepali Fair at Kempton Park, UK [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nepali-mela-uk-26-2582025041810-1000x0.jpg&w=1001&h=0)