नेपाल र चीनबीचको ७०औं कूटनीतिक वर्षमा साहसिक खेलकुदले चिनियाँ पर्यटकलाई आकर्षित गर्ने योजना, बेइजिङमा प्रस्तुति देखाइयो।
What you should know
बेइजिङ — साहसिक खेलकुदमा रुचि राख्ने चिनियाँ पर्यटकलाई आकर्षिक गर्ने ध्येयले तेन्जिङ हिलारी एभरेस्ट म्याराथनले चीनको राजधानीमा नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमबारे परिचय दिएको छ ।
बिहीबार बेइजिङस्थित नेपाली राजदूतावास प्राङ्गणमा उपस्थित भएका चिनियाँ साहसिक पर्यटक, पर्यटन संस्थाका प्रतिनिधिहरू, चिनियाँ पत्रकार लगायतको उपस्थितिमा आयोजकले एक जानकारीमूलक प्रस्तुति दिएका हुन् ।
तेन्जिङ हिलारी एभरेस्ट म्याराथनका संस्थापक अध्यक्ष एवं ग्रीसका लागि अवैतनिक नेपाली महावाणिज्यदूत विक्रम पाँडे काजीले ‘स्लाइड शो’ मार्फत् म्याराथनले ध्यानाकर्षण गरेका विषयबारे प्रस्तुति दिए । उनले जलवायु परिवर्तनका असर तथा प्रकृति संरक्षणको अभियानमा म्याराथनले गरेको योगदानबारे बताए । उनले हरेक म्याराथनको महत्व र विरासत, नेपालको समृद्ध सांस्कृतिक र प्राकृतिक सम्पदाको विषयमा प्रचारमूलक भिडियो र भाषणमार्फत् सहभागीहरूलाई स्पष्ट पार्ने प्रयास गरे ।
तेन्जिङ हिलारी एभरेस्ट म्याराथन, लुम्बिनी शान्ति म्याराथन, रानी मायादेवी बौद्ध म्याराथन र शाक्यमुनि बुद्धको जीवनका ५ सत्यहरूको भ्रमणको मर्म समेटेर यस्तो खेल गतिविधि हुँदै आएको छ । विश्वव्यापी रूपमा प्रसिद्ध म्याराथनमार्फत नेपालको साहसिक कार्य र शान्तिको अनुपम मिश्रण प्रदर्शन गर्ने ध्येयले यस्तो अन्तर्क्रिया गरिएको आयोजकको भनाइ छ । लुम्बिनीका सद्भावना दूतसमेत रहेका पर्यटन व्यवसायी पाँडेले केही ऐतिहासिक मार्गको प्रवर्द्धन गरेर पर्यटनसँगै लुम्बिनीको सांस्कृतिक जीवन्तता र आध्यात्मिकता प्रवर्द्धन गरिएको बताए ।
नेपाल र चीनबीचको सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई सुदृढ पार्न योगदान पुर्याउनुका साथै हिमाल र बुद्ध जन्मस्थलमा खेलकुद पर्यटनको प्रवर्द्धन गर्ने पनि प्रस्तुतिको मुख्य भावार्थ थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले चिनियाँ पर्यटक नेपाल लैजानका लागि हरदम प्रयासहरू भइरहेको सुनाए ।
उनले चीनले नै नेपाल भ्रमण वर्ष मनाइरहेका बेला विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ट्रेल रनिङ खेलकुद कार्यक्रमबारे जानकारी दिलाइनुले चिनियाँ पर्यटक आकर्षित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेको वर्षगाँठको उपलक्ष्यमा सन् २००३ देखि सगरमाथा आधार शिविरबाट मे २९ मा तेन्जिङ हिलारी एभरेस्ट म्याराथन हुँदै आएको छ । यो नेपालको अति उच्चस्थलमा हुने एक मात्रै अन्तर्राष्ट्रिय साहसिक खेल गतिविधि हो ।
चिनियाँ साहसिक खेलकुद संघका साथै चिनियाँ पर्यटन क्षेत्रका प्रतिनिधिहरूले कार्यक्रममा उत्सुकताका साथ नेपालको साहसिक खेलकुद गतिविधिका गन्तव्यबारे विमर्श गरेका थिए । यो वर्ष नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव हो भने चीनले नेपाल पर्यटन वर्ष सन् २०२५ घोषणा गरेकाले चिनियाँ पर्यटकलाई आकर्षित गर्न यस्तो प्रस्तुतीले सहयोग पुग्ने सहभागीहरुको भनाइ थियो ।
