अस्ट्रेलिया पुगेका नयाँ नेपाली विद्यार्थीले के–कस्ता समस्या झेलिरहेका छन् ?

अस्ट्रेलियामा ओपेरा हाउस, डार्लिङ हार्बर र यहाँका सामुन्द्रिक किनाराको सुन्दरता मात्रै छैन । विश्वविद्यालयलाई सेमेस्टर पिच्छे तिर्नुपर्ने लाखौंको अध्ययन शुल्कको भार, बस्नका लागि कोठा नपाउने, समयमा काम नपाउने, सोचेजस्तो कमाउन नसकिने लगायतका समस्या पनि छन् ।

श्रावण २८, २०८२

नारायण खड्का

What kind of problems are the new Nepali students who have come to Australia facing?

What you should know

अस्ट्रेलिया — अहिले पनि उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा छ । रोजेजस्तै विषयमा पढ्न पाइने, पढाइसँगै काम गर्ने अवसर र पढाइ सकेपछि पनि सजिलै करिअर अघि बढाउन सकिने सम्भावना भएकाले पनि अस्ट्रेलियाले धेरै विदेशी विधार्थीलाइ आकर्षित गरिरहेको छ । तर के अस्ट्रेलियामा सम्भावना मात्रै छ ? के यस्तो सम्भावनाबाट सजिलै लाभ लिन सकिन्छ ?

नयाँ आउने विद्यार्थीका लागि अस्ट्रेलियामा चुनौती पनि उत्तिकै छन् । ओपेरा हाउस, डार्लिङ हार्बर र यहाँका सामुन्द्रिक किनाराको सुन्दरता मात्रै यहाँ छैन ।  विश्वविद्यालयलाई सेमेस्टरपिच्छे तिर्नुपर्ने लाखौँको अध्ययन शुल्कको भार, बस्नका लागि कोठा नपाउने, समयमा काम नपाउने, सोचेजस्तो कमाउन नसकिने र सांस्कृतिक रूपमा घुलमिल हुन नसकिने समस्या पनि उत्तिकै छ । अनि परिवार तथा साथीभाइसँग नियमित भेटघाटको अवसर कम हुनाले पर्न सक्ने मानसिक स्वास्थ्यजन्य समस्यासँग जुध्नुपर्ने अवस्था पनि उत्तिकै छ । 

अस्ट्रेलिया सरकारको शिक्षा विभागको पछिल्लो तथ्यांक अनुसार अहिले अस्ट्रेलियामा ७ लाख २३ हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् । जसमा नेपाली विद्यार्थीको संख्या ५७ हजार ४८ छ । नेपाली अहिले पनि अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा तेस्रो नम्बरमा छन् । तथ्यांक अनुसार नेपाली विद्यार्थीले अस्ट्रेलियाली अर्थतन्त्रमा गत आर्थिक वर्षमा ४ दशमलव १ अर्ब बराबरको योगदान गरेका छन् । 

अध्ययनका लागि अस्ट्रेलियामा आउने नेपाली विद्यार्थी तथा अभिभावकले बुझ्नैपर्ने ४ विषयलाई हामीले बुझाउने प्रयास गरेको छौँ ।  

१‍. कोठा पाउने समस्या 

अस्ट्रेलिया सरकारले केही महिनाअघि आप्रवासी संख्याको कोटा घटाउने निर्णय सार्वजनिक गरेको थियो । यो निर्णयका पछाडि बढ्दो आवास समस्या जिम्मेवार थियो । सन २०२३ को तथ्यांक अनुसार अस्ट्रेलियामा ३ लाख २८ हजार अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएकोमा जम्मा १ लाख ३० हजारलाई मात्र विद्यार्थी आवास रहेको थियो । जुन सरकार तथा विश्वविद्यालयले प्रदान गर्दछ । यस बाहेकका विद्यार्थीले भने व्यक्तिगत रूपमा कोठा भाडा खोज्नुपर्ने बाध्यता छ ।

अस्ट्रेलियामा कोठा भाडामा लिनका लागि जागिर, कोठा भाडा लिएको व्यक्तिको विगतको विवरण लगायत सूचना हेर्ने गरिन्छ । त्यसैले पनि भर्खरै अध्ययनका लागि विदेशी विद्यार्थीले कोठा भाडामा पाउन त्यति सजिलो छैन । अर्कोतिर यहाँका घरधनीका लागि भर्खरै आएका विद्यार्थी प्राथमिकता पर्दैनन् । त्यसले पनि समस्या थप जटिल बनाएको छ । अस्ट्रेलियामा आफ्नै घर बनाएर बसेका दसौँ हजार नेपाली भए पनि उनीहरूले आफ्नो घर भाडामा नलगाउने गरेकाले नेपाली विद्यार्थीलाई नेपालीको घरमा भाडा पाउन मुस्किल छ । त्यसैले उच्चशिक्षा अध्ययनका लागि आउने विद्यार्थीले आफ्नो वासस्थानको पूर्व तयारी गरेर आउनु उपयुक्त हुन्छ ।

२. कामको समस्या

अस्ट्रेलियाको अहिले  बेरोजगार दर ४ दशमलव ३ प्रतिशत छ । तर पनि भर्खरै आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई जागिर पाउन भने सहज छैन । एकातिर यहाँको कामको प्रकृति र काम गर्ने शैलीका बारेमा जानकार नहुनु र नेपालबाट आउने अधिकांशले कुनै कामको अनुभव नलिई आउने कारणले समस्या देखिने गरेको छ  कामका लागि आवेदन दिए पनि यहाँको अन्तरवार्ता शैली र कार्यक्षेत्रका बारेमा जानकार नहुँदा उनीहरू काम पाउन असफल हुने गरेका छन् । अर्कोतिर विद्यार्थीले दुई सातामा ४८ घन्टामात्र काम गर्न पाउने भएकाले समेत रोजगारदाताले पूर्णकालीन काम गर्न पाउने कर्मचारीलाई रुचाउने गरेका छन् । 

मुख्य गरेर नयाँ आउने विद्यार्थी क्लिनिङ (सरसफाइ), रेस्टुरेन्ट तथा क्याफेमा काम गर्ने गरेका छन् तर अनुभव तथा यहाँको नियम नबुझेका कारण थोरै तलबमा काम गर्नुपर्ने बाध्यता छ । अधिकांश विद्यार्थीको रोजाइमा एज्ड केयर (वृद्धवृद्धाको हेरचाह गर्ने) स्थान रहे पनि त्यसका लागि तालिम लिन करिब १ हजार डलर खर्च हुने गरेको छ यद्यपि तालिम पछि काम पाउने कुनै ग्यारेन्टी समेत हुँदैन ।  विद्यार्थी परामर्श तथा माइग्रेसनको क्षेत्रमा काम गरिरहेकाहरू नयाँ आउने विद्यार्थीलाई अस्ट्रेलियामा आवश्यक जनशक्ति अनुसारको सीप सिकेर मात्र आउन सुझाव दिन्छन् । 

३. महँगो शैक्षिक शुल्क

अस्ट्रेलियामा शैक्षिक शुल्क नेपालको तुलनामा अत्यन्तै महँगो छ । तथ्यांक अनुसार यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न आउने विद्यार्थीले वार्षिक न्यूनतम २० हजार डलर (करिब १८ लाख रुपैयाँ) देखि ५० हजार डलर (करिब ४६ लाख रुपैयाँ) सम्म बुझाउनुपर्छ । उच्चशिक्षा अध्ययनका लागि आउने विद्यार्थी दुई साताको ४८ घण्टा काम गरेर यहाँको सबै खर्च कटाएर शैक्षिक शुल्क जुटाउन असम्भव छ । यसले यहाँ आउने विद्यार्थीलाई मानसिक तनाव त दिन्छ नै नेपालमा रहेका अभिभावकलाई समेत थप आर्थिक भार पर्छ । 

विश्वव्यापी रूपमा बढिरहेको महँगीले अस्ट्रेलियालाई समेत गाँजेको छ । कोठा भाडा पाए पनि अहिले एउटा कोठाको साताको न्यूनतम १ सय ५० देखि २ सय डलरसम्म तिर्नुपर्छ भने अन्य अतिरिक्त खर्च समेत धेरै बढेको छ । अस्ट्रेलियामा अहिले न्यूनतम प्रतिघण्टा २४ डलर ९५ सेन्ट डलर श्रमको मूल्य तोकिएको छ ।  यदि विद्यार्थीले दुई साताको ४८ घण्टा काम गर्न पाए भने करिब १२ सय डलरसम्म कमाउन सक्छन् । जसमा सरकारी ट्याक्स कटाएर करिब १ हजार डलरसम्म आम्दानी गर्न सक्छन् । कोभिडपछि कम हुँदै गएको कामको अवसरका कारण सधैँभरि दुई सातामा तोकिएको समय अवधिको काम पाउन सकिन्छ भन्ने ग्यारेन्टी भने छैन ।  

अस्ट्रेलिया सरकारले तोकिएको नियमभन्दा बढी काम गर्ने र क्यास (नगद) मा काम गर्ने कर्मचारी र नगदमा काम लगाउने व्यवसायीलाई पछिल्लो समयमा अत्यन्तै कडाइ गरेको छ । जसका कारण तोकिएको भन्दा बढी काम गरेर थप कमाउने सम्भावना छैन । त्यसैले शैक्षिक परामर्शदाताहरू कम्तीमा एक वर्षको शैक्षिक शुल्क बुझाएर आए आर्थिक रूपमा विद्यार्थीलाई केही सहज हुने सुझाव दिन्छन् ।  

४. बढ्दो मानसिक समस्या

पछिल्लो समय अस्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूले मानसिक समस्या भोग्ने क्रम बढ्दो छ । समयमा काम नपाउने अनि पाइहाले पनि सोचेजस्तो काम नपाउने, अध्ययनको दबाब, साथीभाइ तथा परिवारको कमी, शैक्षिक शुल्कको तनाव लगायतका समस्याले विद्यार्थीलाई मानसिक रूपमा कमजोर बनाएको देखिन्छ ।  भिक्टोरिया विश्वविद्यालयले सन् २०२२ मा गरेको एक अध्ययन अनुसार अस्ट्रेलियामा रहेका १६ देखि २४ वर्षका २० प्रतिशत युवाले मानसिक तनावको सामना गर्ने गरेका छन् भने ३० प्रतिशत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी डिप्रेसनको सामना गर्नुपरेको छन् । यस अध्ययनमा यहाँका ४० प्रतिशत विद्यार्थी एन्जाइटीसँग जुधिरहेको पनि उल्लेख गरिएको छ ।  

अस्ट्रेलियामा मानसिक स्वास्थ्यका बारेमा निःशुल्क सहायता पाइन्छ । तर नयाँ विद्यार्थीहरूले भने सामाजिक डर र संकोचका कारण समस्या लुकाउँछन् । अनि नेपालमा रहेका अभिभावक तथा आफन्तले आफ्ना छोराछोरीको मानसिक स्वास्थ्यका बारेमा धेरै चासो नदिने गरेको देखिन्छ । यी दुवै कारणले नेपाली विद्यार्थीहरू मानसिक उकुसमुकुससँग जुधिरहन बाध्य छन् । अस्ट्रेलियामा आएका अन्तर्राष्ट्रिय विद्यार्थी यहाँको संस्कृति, नियम कानुनसँग परिचित नहुँदा, सामाजिक रूपमा घुलमिल हुन नसक्दा र  भाषाको समस्या झेल्दा पनि समस्यामा पर्ने गरेका छन् । त्यसैले अस्ट्रेलिया आउनुअघि यहाँको नियम कानुन, भोग्नुपर्ने समस्या, वास्तविकता र जीवनयापन लगायतका बारेमा जानकारी दिन अनिवार्य देखिन्छ । 

नारायण खड्का खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully