काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो अभियानबाट नयाँ नेतृत्व जन्माउन सक्ने बताएका छन् ।
बहराइनबाट उज्यालो अभियान सुरु गरेका घिसिङको सम्मानमा गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन)द्वारा बिहीबार ओमानको राजधानी मस्कटमा आयोजित उज्यालो संवादमा उनले देशको समग्र क्षेत्रलाई जागरण ल्याउने अभियानको रुपमा यसलाई अगाडि बढाइएको बताए ।
‘यो अभियान देशलाई समृद्ध बनाउने हो । देशलाई आजको स्थितिबाट परिवर्तन गर्ने अभियान नै हो । देशको समग्र क्षेत्रलाई जागरण ल्याउने अभियान हो,’ उनले भने,‘यसबाट राम्रो नेतृत्व जन्माउने हुन सक्छ ।’
उनले अहिले नेतृत्वमा देखिएको विश्वासको संकटलाई समाधान गर्न जरुरी रहेको बताए । ‘अहिले नेतृत्वमा ठूलो विश्वासको संकट छ । यसलाई समाधान गर्दै नेतृत्वमा ठूलो परिवर्तन हुनुपर्छ । हामीले तत्काल राजनीतिक बहस चलाएको छैन,’ उनले भने,‘सही व्यक्ति सही ठाउँमा लैजानुपर्छ । राजनीतिक तहमा माथिदेखि तलसम्म सुध्रिँदै गएपछि सम्बोधन गर्नुपर्ने प्राविधिक विषयहरु आफै मिल्दै जान्छ ।’
घिसिङले कात्तिकमा रुपन्द्रेहीको हुन गइरहेको संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने संकेत गरेका छन् । ‘अहिले नै पार्टी खोल्ने अभियान होइन । एउटा व्यक्ति एक ठाउँमा गएर वा एउटा सांसद भएर मात्रै परिवर्तन सम्भव छैन । राज्यको संयन्त्र नै चलाउन सक्नुपर्छ,’ उनले भने,‘यो अभियानमा हामी जोडिँदै जानेछौं । टिम बनाउनेछौं । विस्तुत खाका बन्दै गर्छ ।’
उनले विदेशमा रहेका नेपालीलाई जोड्न डिजिटल प्लेटफर्म बनाउन लागिएको बताए । ‘यस्तो पोर्टल देशगत हिसाबले बन्छ,’ उनले भने ।
