एनआरएनए अस्ट्रेलिया अध्यक्ष बन्न ३ लाख रुपैयाँ

असार २७, २०८२

नारायण खड्का

3 lakh rupees to become NRNA Australia president

अस्ट्रेलिया — अस्ट्रेलियामा बसोबास गर्ने प्रवासी नेपालीहरू यति बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनले छोपिएका छन्। एनआरएनएको राष्ट्रिय कार्यसमितिमा उम्मेदवारी दिन चाहनेका लागि शुल्क यति महँगो पारिएको छ ।

निर्वाचन आयोगका सदस्य राजु उपाध्यायका अनुसार अध्यक्षको उम्मेदवारी दर्ताका लागि मात्र ३५ सय अस्ट्रेलियन डलर (करिब ३ लाख रुपैयाँ) बुझाउनुपर्नेछ। विभिन्न पदअनुसार उम्मेदवारी शुल्क २ सयदेखि ३५ सय डलरसम्म तोकिएको छ।

उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि २५ सय डलर, सचिवका लागि २ हजार र सदस्यका लागि १ हजार डलर तोकिएको छ। त्यस्तै, राज्य तथा टेरिटोरी संयोजक र नारी निकुञ्ज संयोजक बन्न २ हजार डलर तिर्नुपर्नेछ। उपसंयोजक र राज्य सचिवका लागि क्रमशः ७ सय र ५ सय डलर शुल्क लाग्नेछ।

कतिपयले शुल्क अत्यधिक महँगो भएको भन्दै आलोचना गरेका छन् भने केहीले संस्थाको सञ्चालन खर्च जुटाउन सहयोग पुग्ने बताएका छन्।

यस वर्षको निर्वाचन यही साउन १० गते (जुलाई २६) अनलाइनमार्फत हुनेछ। निर्वाचनमा १७ हजार सदस्यले मतदान गर्नेछन्। अध्यक्ष पदका आकाङ्क्षीहरूमा डार्बिनबाट संजीव गोर्खाली, ब्रिसबनबाट सन्तोष कुँवर र पर्थबाट भैरव ढकालले आफ्नो नाम अघि सारेका छन्।

विवाद कायमै

अन्तर्राष्ट्रिय समन्वय परिषद्ले विवेक थापाको संयोजकत्वमा नयाँ समितिलाई सदस्यता वितरण र एकता अधिवेशनको जिम्मेवारी दिएको छ। निर्वाचनको अन्तिम तयारी भइरहेका बेला आईसीसीको उक्त निर्णयले अन्यौलता थपेको छ।

थापाले एक विज्ञप्ति जारी गर्दै एनआरएनए अस्ट्रेलियामा आर्थिक अनियमितता र सदस्यता वितरणमा पक्षपात भएको आरोप लगाएका छन्। उनले समावेशी र सर्वपक्षीय सहमतिको आधारमा अधिवेशन गर्ने बताएका छन्।

तर वर्तमान कार्यसमितिले भने निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने दाबी गरेको छ। आईसीसी र राष्ट्रिय कार्यसमितिबीचको द्वन्द्वले एनआरएनए अस्ट्रेलियाको नेतृत्व छनोट प्रक्रिया अन्यौलपूर्ण बनेको छ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully