प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तर्क्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह

असार १९, २०८२

रासस

Interaction of the Pravasi Nepali Manch with the Prime Minister: Request to return to the country and help in development and prosperity

मेड्रिड (स्पेन) — प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी तथा प्रतिनिधिसँग अन्तर्क्रिया गरेका छन्।

संयुक्त राष्ट्र सङ्घको विकासका लागि वित्त सम्मेलनसम्बन्धी कार्यक्रम सकिएपछि स्पेनको सेभियाबाट म्याड्रिड पुगेका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीसँग गएराति भेटघाट भएको हो।

स्पेनका लागि नेपाली राजदूतको निवासमा आयोजित भेटका क्रममा एमाले निकट मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई स्वागत एवं सम्मान गर्दै नेपालमा भइरहेको विकास र समृद्धिको यात्राको सफलताको कामना व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले विदेशमा आर्जन गरिएको ज्ञान, अनुभव र पुँजीलाई स्वदेशको विकासमा लगाउन आग्रह गर्दै नेपाल फर्केर उपयुक्त पेसा–व्यवसायमा संलग्न हुन अनुरोध गरे।

उनले मुलुकमा स्थिरता र विकासका लागि दुई ठूला दलबीचको सहकार्यमा वर्तमान सरकार बनेको स्पष्ट पार्दै, समयअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए।

प्रधानमन्त्री ओलीले विषम परिस्थितिमा समेत राजनीतिक निकास र स्थायित्व प्रदान गर्दै आएको विगतलाई स्मरण गर्दै आगामी दिनमा पनि त्यस्तै निकास प्रदान गरिने बताए। उनले अहिलेको गठबन्धन वा आफ्नै पार्टीभित्र बाहिर चर्चा भइरहेकोजस्तो कुनै समस्या नरहेको स्पष्ट गरे।

भेटका क्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश समिति संयोजक मुक्तबहादुर गुरुङ, मञ्चका स्पेन अध्यक्ष केदार ढुङ्गाना, म्याड्रिड समिति अध्यक्ष शिवराज सिग्देल र पोर्चुगल अध्यक्ष दीपक क्षेत्री सहभागी थिए।

रासस

Link copied successfully