बेइजिङमा 'टुरिजम प्याकेज' बेच्दै नेपाली व्यवसायी

असार १५, २०८२

लक्ष्मी लम्साल

Nepali businessman selling 'tourism package' in Beijing

बेइजिङ — अन्तर्राष्ट्रिय ट्राभल प्रदर्शनी (बीआईटीई-२०२५) चीनको राजधानी बेइजिङस्थित छाओयाङ जिल्लामा पर्ने चाइना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा चलिरहेको छ ।

शुक्रबारदेखि सुरु प्रदर्शनीको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का शनिबार अवलोकन गर्न पुगेका थिए । 

शाङ्हाई सहयोग संगठन अन्तर्गत ऊर्जामन्त्रीस्तरीय सम्मेलनमा भाग लिन चीन आएका मन्त्री खड्का चच्याङ प्रान्तबाट व्यक्तिगत यात्राका सिलसिलामा बेइजिङ आएका यो मौका जुरेको थियो । शनिबार प्रदर्शनीस्थलमा बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरू पनि पुगेपछि नेपाली प्रदर्शकहरु उत्साहित भए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले छिमेकी मुलुक चीन नेपालका लागि पहिलेदेखि पर्यटकीय स्रोत मुलुक भएकाले चीनमा आयोजना हुने कुनै पनि पर्यटन प्रवर्धनमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । घिमिरेका अनुसार नेपालले कला, संस्कृति, होलिडे, बुद्धिजम लगायतका विषयलाई पर्यटन प्याकेजमा राखेको छ ।

पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल पोखरेलका अनुसार यो प्रदर्शनीबाट धेरै पर्यटकीय प्याकेज सेल हुने प्रतीक्षामा ट्राभल एजेन्सीहरू छन् ।

Nepali businessman selling 'tourism package' in Beijing

नेपालले तीन दिने मेलामा उच्च गुणस्तरका पर्यटन सेल पहिचान गर्ने, सहकार्य बैठक आयोजना गर्ने र बीटूबी सत्रहरू राखेर नेपालको विविध सौन्दर्य प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनी स्थलमा पर्ल होलिडेज प्रालि, आउटसाइन एडभेन्चर प्रालि, नेपाल हिमालयन इन्टरनेशनल ट्राभल कम्पनी प्रालि, जर्नी डीएमसी प्रालि, हिमालय सेफ्टी ट्रेक्स एन्ड एक्सपिडिसन प्रालि, ड्र्यागन होलिडेज प्रालि, एक्सेसिबल एडभेन्चर प्रालि/फ्रेन्ड्स एडभेन्चर टोली प्रालिले टुरिजम प्याकेज सेल गरिरहेको पर्ल होलिडेका रामशरण न्यौपानेले कान्तिपुरलाई बताए ।

‘पर्यटनले संसारलाई जोड्छ, बेइजिङले विश्वको ध्यान मोड्छ’ भन्ने नारा राखिएको यस प्रदर्शनीमा नेपाल सहित जापान, माल्दिभ्स, रूस, क्युबा, काजकिस्तान, भियतनाम लगायतका देश र क्षेत्रका पर्यटन उद्यमी, एजेन्सीहरू, पर्यटन उत्पादन आपूर्तिकर्ताहरू र पर्यटन सेवा ब्रान्ड प्रदर्शनीमा आकर्षित भएका छन् । प्रदर्शनी आज सकिँदै छ । 

लक्ष्मी

Link copied successfully