काठमाडौँ — नेपाल र अस्ट्रेलियाबीचको अन्तर्राष्ट्रिय व्यापारिक सहकार्य, सांस्कृतिक आदान–प्रदान र आपसी संलग्नता प्रवर्द्धन गर्ने उद्देश्यले अस्ट्रेलियाको भिक्टोरिया राज्यमा अन्तर्राष्ट्रिय व्यापार मञ्चले एक कार्यक्रम गरेको छ ।
भिक्टोरियास्थित विन्डम सिटी काउन्सिलको स्पार्क इनोभेसन हबमा आयोजित कार्यक्रम वेरिबी व्यापार तथा पर्यटन संघ (डब्लुबीटीए) र अस्ट्रेलियन काउन्सिल फर मल्टिकल्चरल इन्टरप्रेन्योर्स (एसीएमई) ले संयुक्त रूपमा गरेको हो । कार्यक्रममा नेपालबाट धौलागिरी एड्भेन्चर सहयोगीको रूपमा जोडिएको थियो ।
कार्यक्रमका विशेष आकर्षणको रूपमा त्रैमासिक म्यागेजिन 'फ्रम हिमालयज टु ओसन' (हिमालदेखि महासागरसम्म) सार्वजनिक गरिएको थियो । म्यागेजिनमा नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध पाटाहरू समेटिएको छ।
म्यागेजिनमा द्विपक्षीय सम्बन्ध, कूटनीति, संस्कृति, व्यापार, पर्यटन, उद्यमशीलता, युवा सहभागिता तथा साझा उपलब्धिबारे सामग्री समावेश छन् । कार्यक्रमका वाल्टर एस. विलागोन्जालो (ओएएम) ले यस्ता मञ्चहरूले विभिन्न देशका उद्यमीहरूबीच संवाद र सहकार्यलाई प्रोत्साहन गर्ने बताए ।
पूर्वमेयर तथा काउन्सिलर जेनी बरेरा, बीना महार्जन, सल्लाहकार जिम ग्रिसबर्ट, रामकुमार श्रेष्ठ, इयान ग्रीन (ओएएम), रिनु मोक्तान लगायतका वक्ताहरूले नेपाल–अष्ट्रेलिया सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिए ।
कार्यक्रमका अवसरमा धौलागिरी एड्भेन्चर प्रालि र मौलिक फिल्म्स प्रालिका तर्फबाट दान घिसिङले वाल्टर एस. विलागोन्जालो, डेबोरा डिकिन्सन र राजेन्द्र महार्जनलाई नेपाल अस्ट्रेलिया सम्बन्धमा उल्लेखनीय योगदानको लागि सम्मान गरे । त्यस अवसरमा घिसिङले वेरबरीमा एसियाली महोत्सव गर्ने घोषणा समेत गरे ।
काउन्सिलर ज्यासमिन हिलले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै विन्डम सिटीको बहुसांस्कृतिक समुदायको भूमिकाबारे चर्चा गरिन् । कार्यक्रममा नेपाली र अस्ट्रेलियन विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
