काठमाडौँ — स्कटल्यान्ड । नेपालको बहुक्षेत्रीय पोषण योजना तेस्रो (२०२३-२०३०) को अनुसन्धान, अन्वेषण तथा जनशक्ति क्षमता विकासका लागि युनिभर्सिटी अफ एबर्डिनले चासो दिएको छ ।
हालै बेलायतमा उक्त योजनाको अनुभव आदानप्रदान गर्न आएको उच्चस्तरीय अधिकारीहरूसमेत सम्मिलित सेमिनारमा युनिभर्सिटी अफ एबर्डिन, इन्स्टिच्युट अफ एप्लाइड हेल्थ साइन्सेसका रिसर्च लिड डा. रोजालिण्ड एडमले नेपालको बहुक्षेत्रीय पोषण योजनाको मूल्यांकन तथा क्षमता विकासका लागि सहयोग गर्न इच्छुक रहेको बताए ।
पोषण अनुसन्धानमा विश्वमै अग्रणी दि रावेट इन्स्टिच्युटमा आयोजित सेमिनारमा नेपाल सरकारका सहसचिव प्रकाश दाहालले नेपालले पोषण क्षेत्रमा सकारात्मक प्रयास गरेको र लक्ष्यअनुसार प्रगति भइरहेको बताएका थिए । यस्तै अर्का सहसचिव रुद्रसिंह तामाङले स्थानीय निकायहरूको पोषण जनशक्ति क्षमता विकास चुनौतीपूर्ण रहे तापनि पाँच वर्ष मुनिका बालबालिकाको पोषण योजना प्रभावकारी रहेको उल्लेख गरे ।
कार्यक्रममा कार्यपत्र पेस गर्दै उपसचिव रेशम कँडेलले उक्त योजनाको लागि ३० प्रतिशत बजेट अन्तर्राष्ट्रिय सहयोगमा आधारित भएर विनियोजित भए तापनि अमेरिका, बेलायतले समग्र विदेशी सहयोग कटौती गरेकोले योजनामा असर गर्न सक्ने बताए ।
यसैगरी नेपाल सरकारका अधिकारीहरू जनकराज शर्मा, यमप्रसाद ढुंगाना, प्रकाश पन्थी, दिपेश कट्टेलले पनि मन्तव्य व्यक्त गरेका थिए । योजनाको अन्त्यसम्ममा पाँच वर्ष मुनिका बालबालिकामा हुने पुड्कोपन दर २५ प्रतिशतबाट १५ प्रतिशतभन्दा कम, ख्याउटेपनको दर ८ प्रतिशतबाट ४ प्रतिशत र कम तौलको दर १९ प्रतिशतबाट ९ प्रतिशतमा कम गराउने लक्ष्य रहेको छ । यसैगरी गुणस्तरीय पोषणलाई सहज बनाएर कमतौलको बच्चा जन्मने दर, अधिक मोटोपनको दर, रक्तअल्पता लगायतमा प्रभावकारी सुधार गर्ने लक्ष्य लिइएको छ ।
युनिभर्सिटी अफ एबर्डिन ग्लोबल हेल्थका लेक्चरर डा. सन्तोष गैह्रेले कार्यक्रमको सहजकर्ता गर्दै नेपालको बहुक्षेत्रीय पोषण योजनाको कार्यन्वयनमा अन्तर्राष्ट्रिय अनुसन्धान, अनुभव र क्षमताले ठुलो प्रभाव पार्ने बताए । डा. गैह्रेको नेतृत्वको टोलीले केही वर्षअघि गरेको बहुक्षेत्रीय पोषण योजना पहिलेको मूल्यांकन अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशित भएको थियो ।
कार्यक्रममा डा. ज्यानेट कायल, डा. अर्बिन्दा गुण्टुपल्लीले पोषण योजनासम्बन्धी अन्तर्राष्ट्रिय अनुभवहरू व्यक्त गरेका थिए ।
नेपाल सरकार संघीय मन्त्रालय, युनिभर्सिटी अफ एबर्डिन तथा अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयरको सहकार्यमा भएको कार्यक्रममा अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष प्रकाश अर्यालले उक्त संस्थाले नेपाली डायस्पोरा, नेपालसम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धानलाई नेपाल सरकारसँग सहकार्यका लागि सहयोग गर्ने बताए ।
