अस्ट्रेलियामा लुम्बिनी चिनाइरहेका इयान

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

Ian introducing Lumbini in Australia

काठमाडौँ — सन् १९७० को दशकमा इयान ग्रीन अस्ट्रेलियाको व्यस्त विज्ञापनको संसारमा रमाइरहेका थिए- मदिरा र जमघटको जीवनमा । तर त्यो तेज गतिमा बगिरहेको जीवन एकदिन उनलाई थामिएजस्तो लाग्यो । एक प्रकारले उनलाई आफू भित्रैबाट खाली भएजस्तो लाग्यो । अनि उनी भारत भ्रमणमा निस्किए । 

भारत पुगेपछि उनले देखे- हरेक कुनामा मन्दिर, हरेक मानिसमा आस्था । उनले महसुस गरे, ‘मैले जीवनभर आत्मिक पक्ष बिर्सेको रहेछु ।’ हिन्दू धर्मको विविधताले उनलाई आकर्षित मात्र गरेन, सारनाथको डियर पार्क पुगेपछि उनले भोगे एक अपूर्व शान्ति । त्यहींबाट उनले किनेको सानो पुस्तक बौद्ध धर्मसम्बन्धी पुस्तक 'ह्वाट इज बुद्धिजम ?' पढेपछि उनमा गहिरो परिवर्तन आयो ।

अस्ट्रेलिया फर्किएपछि उनले नेपालबाट फर्किएका एक बौद्ध भिक्षुको प्रवचन सुने । त्यसपछि त उनको जीवनमा नयाँ अध्याय नै सुरू भयो । सन् १९७९ मा पहिलोपटक कपनस्थित गुम्बामा पुगे । त्यहाँ उनले लामा यस्हे र लामा जोपा रिन्पोछे भेटिए । जीवनको लक्ष्य स्पष्ट भयो- ध्यान, साधना, र बौद्ध धर्मको सेवा ।

त्यही यात्राले भिक्टोरिया राज्यको बेन्डिगोस्थित एक जंगलमा पुर्‍यायो उनलाई । बुबाको ५० एकड जग्गाको प्रस्ताव, लामा यस्हेको आशीर्वाद र इयानको निष्ठाले जन्म दियो- ‘द ग्रेट स्तुपा अफ युनिभर्सल कम्प्यासन’ । तिब्बतको ग्यान्त्से गुम्बुममा आधारित यो स्तुपा अहिले ५० मिटर अग्लो बनेको छ । परिकल्पना र डिजाइनअनुसार निर्माण सम्पन्न गर्न भने करिब पाँच दशक लाग्ने बताइएको छ । Ian introducing Lumbini in Australia

‘२००३ मा जग हालियो,’ इयान सम्झन्छन्, ‘अहिले पनि पूर्णरूपमा तयार भएको छैन । अझै दुई/तीन दशक लाग्न सक्छ ।’ तर यो स्तुपा अब पर्यटकीय गन्तव्य बनेको छ । अस्ट्रेलियन सरकारले संरचना निर्माणमा लाखौं डलर अनुदान दिएको छ । सिलिङमा बनिरहेको छ-संसारकै ठूलो कालचक्र मण्डला । 

इयानको यो यात्रा व्यक्तिगत मात्र होइन- सांस्कृतिक र अन्तर-धार्मिक पुल पनि हो । त्यसैले अस्ट्रेलियाली सरकारले उनलाई ‘अर्डर अफ अस्ट्रेलिया मेडल (ओएएम) बाट सम्मानित गर्‍यो । उनको जीवन अब पूरै बौद्ध अनुशासनमा समर्पित छ । तर उनी भन्छन्, ‘जीवन सुरुमा कठिन थियो, तर अब मलाई लाग्छ- धेरै कम मानिसलाई यस्तो अवसर मिल्छ, जुन मृत्युपछि पनि हजारौं वर्षसम्म अरूलाई लाभ दिन सक्छ ।’

उनको परिवार श्रीमती जुडी र तीन छोराबारे सोध्दा भने उनी मुस्कुराउँछन् । ‘श्रीमती मेरी सबैभन्दा ठूलो सहारा हुन् । उनी चर्चामा आउन चाहँदिनन् । तर उनकै सहयोगले यो सम्भव भएको हो ।’ Ian introducing Lumbini in Australia

इयानको जीवन अब लुम्बिनीसँग पनि जोडिएको छ । ‘दुई लाखभन्दा बढी नेपाली अस्ट्रेलियामा छन्,’ उनी भन्छन् । अस्ट्रेलियामा नेपाली भेट्यो कि उनले सोध्ने गर्छन्- 'तपाईं लुम्बिनी जानुभएको छ ?' तर गएको छैन भन्ने जवाफ पाए भने चाहि नमिठो लाग्छ । ‘हामीले लुम्बिनीलाई अझ चिनेका छैनौं जस्तो लाग्छ,’ उनी भन्छन् । 

त्यसैले अब उनले लुम्बिनी चिनाउने योजनासहित ‘द ग्रेट स्तुपा’ मा नेपाली संस्कृति समर्पित ‘लुम्बिनी महोत्सव’ आयोजना गर्न लागेका छन् । नेपाली खाना, नाचगान, धर्मकथा सबै समेटिने त्यो उत्सव नोभेम्बरमा हुँदैछ । 

वास्तवमा इयान ग्रीनको कथा कुनै एक व्यक्तिको यात्रा मात्रै होइन । यो आफैमा पश्चिमको व्यस्तता र पूर्वको शान्तिको संगम हो । बेन्डिगोको जंगलबाट सुरु भएको उनको जीवन पछिल्लो समय लुम्बिनीसँग जोडिएको छ । त्यसैले त ‘द ग्रेट स्तुपा' परिसरमा सानो लुम्बिनी बनाउने योजना पनि छ उनको । 

कान्तिपुर

Link copied successfully