टेक्सस, अमेरिका — नर्थ क्यारोलिनामा रहेर रियल्टरका रुपमा सक्रिय जितमान बस्नेतले अमेरिकी रियल स्टेट कम्पनीले प्रदान गर्ने 'युनाइटेड इस्टेट इलाइट अवार्ड' पाएका हुन् ।
शनिबार युनाइटेड रियल स्टेटले टेक्ससको ड्यालस आयोजना गरेको एक समारोहमा उनलाई सम्मान प्रदान गरिएको थियो । यो सम्मान पाउने जितमान पहिलो नेपाली हुन् ।
अमेरिकामा करिब ४ सय बढी नेपालीले रियल स्टेट कम्पनी स्थापना गरेर रियल्टरको रुपमा काम गर्दै आएका छन् । जितमान अमेरिकाका २५ हजार रियल्टरहरु मध्येबाट सम्मानका लागि छनोटमा परेका थिए । जितमानले विगत ३ वर्षदेखि उत्कृष्ट रियल्टरको अवार्ड पाउँदै आएका छन् ।
उनले इलाइट तहको सम्मान पाएको भने यस वर्ष मात्र प्राप्त गरेका हुन् । साथै उनले मिलिनियम क्लब अवार्ड र टप एजेन्ट सेल्स भोलुम गरी तीन अवार्डहरु प्राप्त गरेका छन् । इलाइट अवार्ड प्राप्त गर्ने जितमान नर्थ क्यारोलिना राज्यकै पहिलो रियल्टर पनि हुन् । उनले नर्थक्यारोलिनाको रालेस्थित युनाइटेड ट्रयाङ्गल कम्पनीसँग आवद्ध भएर काम गर्दै आएका छन् । सम्मान समारोहमा उनीसहित २० भन्दा बढी राज्यका रियल्टरहरु सम्मानित भएका थिए ।
‘निरन्तर मेहनत्, क्लाइन्टको विश्वास्, सबैको साथ सहयोगकै कारण म यहाँ पुगेको हु । यो अवार्ड उहाँहरुप्रति समर्पित छ,’ सम्मान लिएपछि जितमानले भने । आफू ६ वर्षदेखि रियल्टरका रुपमा सक्रिय भएपनि यो सम्मानले धेरै नेपालीलाई पनि रियल्टर बन्न र त्यस क्षेत्रमा काम गर्न हौसला प्रदान गर्ने आफूले विश्वास लिएको उनले धारणा राखे । उनले नेपाल दृष्टिविहीनका लागि विगत ३ वर्षदेखि मेची महाकाली छडि अभियानमार्फत् दृष्टिविहीन र श्रवणशक्ति नभएकालाई निःशुल्क आवश्यक सामग्री उपलब्ध गर्दै आएको समेत बताए ।
