चीनमा मनाइयो रंगोत्सव

फाल्गुन २९, २०८१

लक्ष्मी लम्साल

Color festival celebrated in China

बेइजिङ — रंगहरूको उत्सव होली पर्व नेपालको उत्तरी छिमेकी चीनमा रहेका नेपालीहरूले उल्लासपूर्वक मनाएका छन् । एनआरएन चीनको पहलमा बिहीबार क्वाङ्चौस्थित महावाणिज्य दूतावासलगायत नेपालीहरूको उपस्थितिमा एकअर्कामा अबिर दलेर होली पर्व मनाइएको हो ।

भारतीय तथा नेपाली खाद्य परिकार पाइने लिटिल पापा नामक रेस्टुरेन्ट परिसरमा भेला भएका ४ दर्जनभन्दा बढी नेपालीहरूले एकासपसमा सद्भाव र भाइचारा बाँड्दै होली पर्व मनाए । महावाणिज्यदूत भरत खनालका अनुसार पहिलेदेखि नै त्यहाँस्थित नेपालीहरूले फागु पूर्णिमालाई रमाइलोसँग मनाउने गरेका थिए।

चीनको चलायमान व्यापारिक सहर क्वाङ्चौमा नेपालीहरुको प्रायः बाक्लो उपस्थिति रहने गर्दछ । पर्यटन प्रवर्द्धनका लागि यो राम्रो मौका भएकाले यस्तो अवसरलाई नछुटाइएको खनालको भनाइ थियो । उनले भने, ‘नेपाली कला संस्कृतिको प्रसार गर्न र पर्यटन प्रवर्द्धनको उपायको रुपमा यस्ता खालका कार्यक्रमहरूलाई प्रोत्साहन गर्दै जाने योजना छ ।’

रंगहरूको पर्व होली मनाउनका लागि १ सय जना चिनियाँ पत्रकार टोली हाल नेपाल भ्रमणमा छ । नेपालमा आयोजना हुने रंगोत्सवलाई चिनियाँ संचारमाध्यमहरूले प्राथमिकताका साथ प्रसारण गर्ने गरेका छन् भने विदेशी पर्यटकहरूले सांस्कृतिक उत्सवमा भाग लिने गरेका छन् । यस पटक होलीलाई लक्षित गरी चिनियाँ फोटो पत्रकारहरू नेपाल भित्रिएका बेला क्वाङ्चौस्थित चिनियाँहरूको ध्यानाकर्षण गर्न रंगोत्सव भएको छ।

एनआरएनए चीनका सल्लाहकार एवं अन्तर्राष्ट्रिय नेपाल युवा उद्यमी महासंघ (फिन्ये) का अध्यक्ष दिल कठायतले चीनमा ‘वर्किङ डे’ अर्थात् कामकाजको दिन परेकाले धेरै नेपालीहरुले उपस्थिति जनाउन नपाएको बताए । तर सांस्कृतिक गतिविधिमा एकजुट भएर भाइचारा देखाउने प्रचलन नेपालीमाझ रहेको उनले सुनाए ।

मित्रता, सद्भाव र प्रेम साटासाट गर्ने पर्व होलीमा नेपालीहरुलाई भेला गराएर सांस्कृतिक परम्परा निभाइएको उप-कन्सुलर सागर मरासैनीले कान्तिपुरलाई बताए ।  

लक्ष्मी

Link copied successfully