अस्ट्रेलिया — आइतबार बिहानैदेखि दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेड नेपालमय बन्यो । नेपाल महोत्सवका क्रममा आयोजित कार्यक्रममा यहाँको मुख्य पर्यटकीय क्षेत्र एल्डर्स पार्क 'मिनी नेपाल'झैं देखिएको थियो ।
हरेक दुई वर्षमा आयोजना गरिने नेपाल महोत्सवले अस्ट्रेलियामा नेपाली कलासंस्कृति र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना हुँदै आएको छ । एकाबिहानै सयौंको संख्यामा रहेका नेपाली आफ्नो परम्परागत भेषभूषा, गरगहनामा सजिएर करिब २ किलोमिटर पदयात्रा गरेका थिए । जसलाई यहाँका स्थानीयले उत्साहका साथ अवलोकन गरेका थिए । दिनभर आयोजना हुने महोत्सवमा यहाँका स्थानीयको उल्लेख्य सहभागिता छ ।
बिहान आयोजित परेडका क्रममा पञ्चेबाजा, ढोलक, सनाईलगायतका बाजागाजासहित नेपालीले आफ्नो संगीतका बारेमा पनि जानकारी दिने प्रयास गरेका थिए ।
महोत्सवमा दोस्रो पुस्ताका नेपालीको उत्साहजनक सहभागिताले अझ रौनक थपेको थियो । महोत्सवको माध्यमबाट नेपाली पर्यटनलाई अस्ट्रेलियामा प्रचारप्रसार गर्ने र पर्यटकहरू नेपाल भित्र्याउने उदेश्य रहेको आयोजक समितिका सचिव गणेश पराजुलीले जानकारी दिए ।
महोत्सवमा यहाका स्थानीय र केन्द्रीय मन्त्री तथा नेताको सहभागिता छ ।
