दिल्लीमा अप्रिल दोस्रो साता तीन दिने नेपाल महोत्सव हुने 

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

A three-day Nepal festival will be held in Delhi in the second week of April

नयाँ दिल्ली — भारतको नयाँ दिल्लीमा आउँदो अप्रिल दोस्रो साता तीन दिने नेपाल महोत्सव हुने भएको छ । एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज तथा नेपाल राजदूतावास, नयाँ दिल्लीको संयुक्त आयोजनामा अप्रिल ११, १२ र १३ मा 'नेपाल महोत्सव-२०२५ : नयाँ दिल्लीमा व्यापार, संस्कृति र पर्यटनको भव्य उत्सव' हुन लागेको हो । 

नेपाल राजदूतावास परिसर, बाराखम्बा रोडमा हुने महोत्सवको मुख्य उद्देश्य भारत-नेपाल आर्थिक सहकार्य, पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानलाई सशक्त बनाउनु रहेको आयोजकले विज्ञप्तिमार्फत जनाएको छ । साथै महोत्सव व्यावसायिक र सांस्कृतिक मञ्च भएकाले उद्यमी, नीति निर्माता, लगानीकर्ता, सांस्कृतिक प्रेमी र सर्वसाधारणलाई एकसाथ ल्याइनेछ । 

महोत्सवमा इन्डो-नेपाल व्यापार तथा लगानी शिखर सम्मेलनअन्तर्गत व्यापार तथा उद्योग क्षेत्रका उच्चस्तरीय छलफल, सीमापार व्यापार र लगानी अवसर विस्तार गर्ने प्लेटफर्म, नेपालका साहसिक, धार्मिक र सांस्कृतिक पर्यटन गन्तव्यको प्रदर्शनी हुनेछन् । यस्तै परम्परागत नृत्य, लोक संगीत र ऐतिहासिक सांस्कृतिक प्रस्तुति, नेपाली परिकार र योग, ध्यान र प्राकृतिक उपचार कार्यशाला रहनेछन् । 

महोत्सवले सरकारी अधिकारी, व्यापारिक नेता, पर्यटन व्यवसायी, कलाकार र हस्तकला व्यवसायीलाई एक ठाउँमा ल्याउने भएकाले भारत-नेपाल सम्बन्धलाई अझ प्रगाढ बनाउने र नयाँ आर्थिक साझेदारी स्थापना गर्ने आयोजकको विश्वास छ ।

एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले भने, 'महोत्सव ऐतिहासिक हुनेछ, जसले सबै सहभागीहरूलाई उत्तम अवसर प्रदान गर्नेछ ।'

कान्तिपुर संवाददाता

Link copied successfully