लन्डन — लन्डन । बेलायतमा करिब तीन सातादेखि नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् । युनिभर्सिटी अफ क्रियटिभ आर्टस्मा पढ्न गत १७ सेप्टेम्बर २०२२ मा बेलायत आएका धनुषा हंसपुर-६ का २३ वर्षीय कमल अधिकारी फेब्रुअरी २ यता सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ । उनका बाबु हरिनारायण मण्डलले आफ्नो छोराको खोजीका लागि माघ २३ मा नै नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।
नेपाली दूतावास लन्डनले अधिकारीको खोजीका लागि पहल गरिरहेको जनाएको छ । दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले अधिकारीको खोजीका लागि लन्डन मेट्रोपोलिटन प्रहरी र स्थानीय समुदायसमक्ष अनुरोध गरिएको जनाए ।
'परिवार पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ । यहाँको स्थानीय समुदाय र प्रहरीसँग हामीले अपिल गरिरहेका छौं,' दुवाडीले भने, 'बीचमा एकपटक अधिकारीकै हुलियासँग मिल्ने नेपाली भेटियो भन्ने खबर आएर हामी आफैं पनि लन्डन ग्लोस्टररोडतिर गयौं तर ती व्यक्ति अर्कै रहेछन् ।'
उनका अनुसार अधिकारीको आनीबानीका कारण वेस्ट लन्डनमा घरबेटीले निकालेपछि उनी इलफोर्ड सेभेन किंग्स्का सुरज पण्डितसँग सम्पर्कमा आएका थिए । पण्डितले 'नेपालीको बिचल्ली भयो, बस्न दिनु पर्यो भनेर अर्को घरबेटीमा कुरा गरे' तर उनको हाउभाउ र अवस्था देखेर राख्न मानेनन् ।
अनि पण्डितलगायत नेपालीले फेब्रुअरी २ मा रेल चढ्न बाटो खर्च जुटाएर पठाएयता उनी सम्पर्कमा छैनन् । 'हामीकहाँ यस्ता केस धेरै आएका छन्,' दुवाडीले भने, 'अधिकारी भाइको केसबारे हामी बुझ्दैछौं ।'
