बेला–बेलामा गरिने धार्मिक कार्य र पूजापाठले आफूहरूको तनाव व्यवस्थापन हुने शान्ति सैनिकको भनाइ
दक्षिण सुडान — बुधबार, माघ शुक्ल पूर्णिमा । स्वस्थानी व्रतकथाको सांगेको दिन । त्यसैले दक्षिण सुडानस्थित प्राविधिक जमदार पविता थापा बिहान चारबजे नै उठिन् । नुहाएर पूजा सामग्री तयार पारिन् । त्यसपछि पूजापाठमा बसिन् । काठमाडौं दहचोककी उनी शान्तिसेनामा दक्षिण सुडान आएको तीन महिना भयो । पुस शुक्लपक्षका दिनदेखि नै विधि पूरा गरेर उनले स्वस्थानी व्रत सुरु गरेकी हुन् ।
‘बिहान ड्युटीमा खटिनुअघि पूजापाठ गर्दै आएकी छु । साँझ ड्युटी सकेर पूजापाठ गर्दै स्वस्थानी कथावाचन गरेपछि खानपिन गर्छु । एक महिना मेरो यही दैनिकी बन्यो,’ उनले भनिन् । ड्युटीमा अप्ठ्यारो नपर्ने गरी पूजापाठ गर्दै आएको उनी सुनाउँछिन् ।
‘नेपालमा हुँदा पनि स्वस्थानीको व्रत लिन्थें,’ थापाले भनिन्, ‘यता आएर पनि ड्युटीमा असर नपर्ने गरी व्रत लिएँ र सबै प्रक्रिया पुर्याएर व्रत समाप्ति गरें । स्वस्थानीको किताब र पूजाका सामग्री नेपालबाट आउँदै ल्याएको उनले सुनाइन् । पूजामा जमदार (पण्डित) मधुसूदन ओझाले थापालाई सघाए ।
स्वस्थानीको व्रत सुरु हुँदा र समापनमा क्याम्पमा माछा–मासु नपाक्ने थापाले जनाइन् । ‘यस्तो ठाउँमा कुन बेला के हुन्छ, थाहै हुँदैन,’ उनले भनिन् । ड्युटीमा जति तनाव भए पनि भजनमा बस्दा मन आनन्दित हुने उनको भनाइ छ । उनी एक वर्षसम्म दक्षिण सुडानको दुरूपीमा बस्ने गरी पल्टन आएकी हुन् ।
दक्षिण सुडानको जुबामा प्रमुख सेनानी (कर्णेल) सन्तोष चन्दको कमान्डमा १ सय ५० जनाको विशेष फौज तैनाथ छ । यो ईश्वरी बक्स गुल्म एचआरसी (हाई रेडिनेस कम्पनी) को आठौं डफ्फा हो । बेला–बेलामा गरिने धार्मिक कार्य र पूजापाठले आफूहरूको तनाव व्यवस्थापन हुने कर्णेल चन्द सुनाउँछन् । ‘हामी के उद्देश्यले यहाँ आएका हौं, यस विषयमा सबै अवगत हुनुहुन्छ,’ उनले भने ।
विदेशमा मिसनमा कार्यरत फौजलाई स्फूर्त राख्न पनि आध्यात्मिक कार्यले सघाएको सुडानको जुबामै तैनाथ अरिदमन गण एफआरबी (फोर्स रिजर्भ बटालियन) प्रमुख सेनानी (कर्णेल) महेश्वर सिल्वाल सुनाउँछन् । उनको क्याम्पमा ८ सय ५० जना सेना तैनाथ छन् । दक्षिण सुडानका विभिन्न स्थानमा गरी नेपाली सेनाका तीन युनिट तैनाथ छन् । तिनमा सबैतिर गरेर १ हजार ७ सय ५३ जना शान्तिसेना परिचालित छन् ।
सन् २०११ मा सुडानबाट छुट्टिएर दक्षिण सुडान स्वतन्त्र बनेको हो । त्यसपछि यहाँ जातीय युद्ध चर्किएपछि जातीय युद्ध चर्किंदै गएको बताइन्छ । दक्षिण सुडानमा २० भन्दा बढी देशका सैनिक, प्रहरी र गैरसैनिक गरी १८ हजार १ सय ३४ जना मिसनमा कार्यरत छन् ।
