बेलायतको हाउस अफ लर्ड्समा हिमालयन अवार्ड वितरण

माघ २३, २०८१

कान्तिपुर संवाददाता

Distribution of Himalayan Awards in the UK House of Lords

लन्डन — सेन्टर फर नेपलिज कल्चर एन्ड नेपाल सेन्टर यूकेले बेलायतको वेस्टमिन्स्टरस्थित हाउस अफ लर्ड्समा एक समारोहबीच हिमालयन अवार्ड वितरण गरेको छ । उक्त अवार्डबाट संस्कृति, पर्यटन, नवप्रवर्तन र सामाजिक कार्यका क्षेत्रमा विशेष योगदान पुर्‍याएका ७ व्यक्तित्व सम्मानित भएका छन् । 

सम्मानित हुनेमा किशोर कायस्थ (नेपाल), रुबिना शर्मा (बेल्जियम), देवी गर्बुजा (पोर्चुगल), डा. विनीता कपुर (भारत), राजेश रेग्मी (यूके), स्नेहा श्रेष्ठ (यूके) र सुमन्त बत्रा (भारत) छन् ।  उल्लेखित व्यक्तिहरू सांस्कृतिक आदानप्रदान अगाडि बढाउन निरन्तर समर्पण र नेपाली सम्पदाको संरक्षण एवं प्रवर्द्धनमा उनीहरूको प्रतिबद्धताका लागि चयन गरिएको हो।

नेपाली संस्कृतिको विश्वव्यापी प्रवर्द्धनमा गहिरो लगाव र जोश देखाउनेहरूप्रति सम्मान गर्ने उद्देश्यले कार्यक्रम गरिएको सेन्टरले जनाएको छ । उक्त समारोहमा हाउस अफ लर्ड्सकी सदस्य ब्यारोनेस वर्माले अवार्ड प्रदान गर्दै हालैको नेपाल भ्रमणका आफ्ना व्यक्तिगत अनुभव सुनाएकी थिइन्।  उनले नेपालको समृद्ध सांस्कृतिक परिदृश्य र यसको सामाजिक-आर्थिक विकासलाई सुधार गर्ने सम्भाव्यताबारे पनि उल्लेख गरिन् ।  

पुरस्कृतहरूमध्ये बेलायतमा नेपाली समुदायबाट पहिलो महिला ब्यारिस्टर स्नेहा श्रेष्ठले नेपालको मनमोहक परिदृश्य र यसको विविध सांस्कृतिक सम्पदाबारेमा आफ्नो धारणा राखेकी थिइन्। दिल्लीका एक अधिवक्ता सुमन्त बत्राले भारतको सिनेमा इतिहासको संरक्षण र सांस्कृतिक उत्सवमार्फत साहित्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रयासबारे बताए ।  उक्त समारोहमा ग्रीनविचका मेयर काउन्सिलर  जीत रानाभाट, अवकास प्राप्त ब्रिटिश सेनाका लेफ्टिनेन्ट कर्णेल टोल खाम्चा, सेलेस्टियल रेडियो प्रस्तोता परवीन स्मिथ, राजेश रेग्मी लगायतले आफ्नो व्यावसायिक उपलब्धि साथै सांस्कृतिक संरक्षणमा उनीहरूको प्रतिबद्धता बारे धारणा राखेका थिए ।

नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक तथा अध्यक्ष निर्मल थापाले हिमालयन अवार्डको महत्त्वमा जोड दिँदै यस कार्यक्रमले असाधारण व्यक्तित्वलाई मात्र नभई विदेशमा नेपाली संस्कृतिको प्रवर्द्धनमा आफ्नो कामलाई निरन्तरता दिन अरुलाई पनि उत्प्रेरित गर्ने बताए । केन्द्रले लन्डनमा आउँदो फेब्रुअरी ६ मा लन्डनमा अर्को सांस्कृतिक कार्यक्रम पनि गर्दैछ।

कान्तिपुर

Link copied successfully