लन्डन — दुई जना बेलायती मन्त्रीले प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन प्रयास थाल्ने बताएका छन् । वेस्टमिनिस्टरस्थित ब्रिटिस संसद्को पोर्टकुलिस हाउसमा सोमबार बेलुका आयोजित ‘नेपाल बेलायत सम्बन्ध’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायतको दक्षिण एसिया मामिला हेर्ने सहायक परराष्ट्रमन्त्री क्याथरिन वेस्टले ब्रिटिस प्रधानमन्त्रीले नेपालको भ्रमण गर्ने उपयुक्त समय आएको बताइन् ।
उनले प्रधानमन्त्री किअर स्टार्मरलाई स्वागत गर्न नेपाल इच्छुक रहेको कुरा आफूले पुर्याइदिने वाचा गरिन्। उनले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नु परिरहेको चुनौतीबारे बेलायत जानकार रहेको बताउँदै नेपालका महत्त्वपूर्ण सम्पदा सुरक्षित गर्न अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यमा नेपाललाई मद्दत गरिरहेको बताइन्। वेस्टले स्वच्छ हावा र सफा पानी पिउन पाउनु सबै जनताको अधिकार हो भन्दै वातावरण संरक्षणमा दुवै मुलुक प्रतिबद्ध रहेको पनि बताइन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष नाघे पनि अहिलेसम्म कुनै पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमण गरेका छैनन् ।
त्यस्तै बेलायतको व्यापार तथा व्यवसाय मन्त्रालयका सहायक मन्त्री गरेथ टमसले दुई देशबीचको ऐतिहसिक सम्बन्ध सुदृढ गर्न गोर्खा सैनिकहरूको योगदानको प्रशंसा गरे। उनले बेलायतमा बसिरहेका नेपालीहरुले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा, केयरलगायत विभिन्न क्षेत्रमा योगदान गरिरहेको भन्दै प्रशंसा गरे । उनले नेपाल-बेलायतबीच सिधा उडान सम्पर्क कायम गर्न सक्दो पहल गर्ने आश्वासन दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आजका दिनमा जनस्तरको सहकार्यले बढाउँदै लगेको बताए । ‘नेपालीहरूले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै हाम्रा दुई देशबीचको दुई शताब्दी लामो मित्रताको आधार हो,’ उनले भने ‘दुवै देशमा जेजस्ता परिवर्तन भए पनि हाम्रो दुई देशबीचको सम्बन्धमा त्यसले कहिल्यै कुनै असर गरेन, बरु अझ प्रगाढ बन्दै गयो । दुई लाखभन्दा बढी गोर्खा सैनिकले दुई विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्नो अमूल्य जीवन पनि गुमाए । बेलायत सरकारले उनीहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेकोमा म खुसी छु ।’
सन् १९२३ मा नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धिले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा विधिवत् विश्वसामु चिनाएको उनको भनाइ थियो । बेलायत नेपालको आर्थिक सामाजिक रूपान्तरणको अभियानमा महत्त्वूर्ण सहयोगी रहेको बताउँदै उनले नेपालको जलविद्युत्, पर्यटन, कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना अनि इमान्दार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त सम्भावना भएको क्षेत्रमा पर्ने उल्लेख गरे । नेपाल सरकारले वैदेशिक लगानीमैत्री वातावरण बनाएको जनाउँदै उनले नेपालमा बेलायती लगानी राम्रो भए पनि अझ यसमा धेरै वृद्धि गर्न सकिने उनको धारणा थियो ।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले सन् १९२३ मा नेपाल तथा बेलायतबीच सम्पन्न शान्ति तथा मैत्री सन्धिले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भारत वा पाकिस्तानभन्दा पहिले नै नेपालले लन्डनमा आफ्नो कूटनीतिक नियोग स्थापना गरेको स्मरण गर्दै २०७२ सालमा नयाँ संविधान जारी भएपछि नेपालमा लोकतन्त्रले राम्रोसँग काम गरिरहेको र राजनीतिक स्थायित्व आएको जनाए। सुवेदीले नेपालमा गरिने लगानीलाई नेपाली तथा अन्तर्राष्ट्रिय कानुनले पनि सुरक्षा गर्ने बताउँदै नेपालमा ब्रिटिस लगानी बढाउन अपिल गरे। उनले ब्रिटिश सरकारलाई नेपालमा ठूला पूर्वाधार आयोजनामा सघाउन आग्रह गर्दै नेपालमा लगानीका लागि एउटा 'फ्रेमवर्क' स्थापना गर्न पनि सुझाव दिए।
