लन्डन — लन्डनमा बर्सेनि नर्थल्ट टेन के रन गर्दै आएको नेपाल रन युकेले एउटा महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । बेलायतको नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित उक्त संस्थाले ७७७ नेपाल म्याराथन च्यालेन्ज गर्न लागेको हो ।
आउँदो १५ फेब्रुअरीदेखि २१ फेब्रुअरीसम्म नेपालमा पहिलो पटक ७ प्रदेशमा ७ दिनमा ७ जना धावकहरू (युके-अमेरिका) सम्मिलित ७ वटा म्याराथन र सँगै हाफ म्याराथनको तयारी गरिएको नेपाल रन युकेले जनाएको छ ।
नेपाल रन युकेका संस्थापक अध्यक्ष सन्तोष राईले आउँदो १५ फेब्रुअरीमा गण्डकी प्रदेशमा पोखरा म्याराथन, १६ फेब्रुअरीमा लुम्बिनीको बुटवलमा, १७ फेब्रुअरीमा सुदूरपश्चिमको धनगढीमा, १८ फेब्रुअरीमा कर्णालीको सुर्खेतमा, १९ फेब्रुअरीमा वाग्मतीको हेटौँडामा, २० फेब्रुअरीमा मधेस प्रदेशको जनकपुर र २१ फेब्रुअरीमा कोशीको धरानमा एकसाथ पूरा र हाफ म्याराथन गर्ने तयारी भएको जानकारी दिए ।
म्याराथनमा दौडन सात जना अन्तर्राष्ट्रियबाहेक १०/१० जना स्थानीय धावकहरू पनि संलग्न गराइने राईले बताए ।
यस अतिरिक्त २२ फेब्रुअरीमा 'धरान टेन के रन' समेत गर्न लागिएको छ ।
ती दौडमा राजन खत्री नेतृत्वको एथलेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गरेको छ । प्रत्येक प्रदेशमा स्थानीय सङ्घसंस्थाले समेत सहयोग गरेका छन् ।
अध्यक्ष राईले यो च्यारिटी इभेन्ट भएको जनाउँदै प्राप्त हुने सबै नाफा जुम्लामा निर्माणाधीन हाइ अल्टिच्युड ट्रेनिङ क्याम्पका लागि दिइने बताए । उक्त क्याम्प बनाउन स्थानीय हरि रोकायाले जग्गा उपलब्ध गराइसकेका छन् ।
नेपालको पर्यटन प्रवर्द्धन, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र धरान टेन के रनको प्रचार प्रसार, नेपालमा रनिङ कल्चर नभएका बेला यसप्रति हौसला बढाउन र हरेक प्रदेशका स्थानीय जनतामा स्वास्थ्य सचेतना इभेन्टको मुख्य उद्देश्य भएको राईले बताए ।
उक्त प्रोजेक्टका लागि मेक्सवर्थ फाउन्डेसन, ओम नमो, न्युम्यु, तेन्जिङ हिलारी एभरेष्ट म्याराथन, एलिस रेष्टुरेन्ट, सफल इन्टरनेशनल म्याराथन र धरान रनले प्रायोजन गरेका छन् ।
