लमजुङ — लमजुङ सेवा समिति हङकङको आयोजनामा डिसेम्बर २२ तारिख (पुस ७ गते) आइतबार हङकङमा ‘मर्स्याङ्दी नाइट–६’ आयोजना गरिने भएको छ ।
यसअघि ५ पटक सफलतापूर्वक मर्स्याङ्दी नाइट आयोजना गरेको लमजुङ सेवा समिति हङकङले युएन लङस्थित अडिटोरियम थिएटरमा साँझ सवा ७ बजे ‘मर्स्याङ्दी नाइट–६’ आयोजना गर्न लागेको हो ।
लमजुङ सेवा समिति हङकङले सम्पर्क समिति लमजुङमार्फत स्थापना गरेको अक्षयकोषलाई १ करोड रुपैयाँको अक्षयकोष बनाउन ‘मर्स्याङ्दी नाइट–६’ को आयोजना गर्न लागेको अध्यक्ष श्यामकुमार गुरुङले बताए ।
उनका अनुसार लमजुङ सेवा समिति हङकङले मातृभूमि लमजुङमा शिक्षा, स्वास्थ्य तथा परोपकारी कार्यमा सहयोग गर्दै आएको छ । यसका लागि स्थापना गरिएको अक्षयकोषलाई बढाएर १ करोड रुपैयाँ बनाउन ‘मर्स्याङ्दी नाइट–६’ कार्यक्रमको आयोजना गर्न लागिएको समितिका सचिव ओमप्रसाद गुरुङले बताए ।
अक्षयकोषमा हाल करिब ४४ लाख रुपैयाँ रहेकोमा थप रकम संकलन गर्ने उद्देश्यले ‘मर्स्याङ्दी नाइट–६’ कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक लमजुङ सेवा समिति हङकङले जनाएको छ ।
कार्यक्रममा गायक छेवाङ लामाको व्याण्ड छेवाङ एण्ड व्याण्डको प्रस्तुति रहनेछ । यस्तै, नेपाली लोक दोहोरी गायक राजु परियार, गायिका मञ्जु बिक, लोकगायिका माया गुरुङ, खुस्बु गुरुङलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । कलाकारको टिम शुक्रबार हङकङ जाँदैछ ।
लमजुङ सेवा समिति हङकङले आफ्ना सदस्यहरुबाट संकलन गरेर विपदमा परेकालाई समेत सहयोग गर्दै आएको छ । गत असारमा जिल्लामा बाढीपहिरोबाट ज्यान गुमाएका तथा घरबारबहीन पीडित परिवारलाई ११ लाख २३ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको सम्पर्क समिति लमजुङका अध्यक्ष मीना गुरुङले बताइन् र यो समेत गरी लमजुङ सेवा समिति हङकङले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समाजिक सेवा तथा परोपकारी कार्यमा ७५ लाख रुपैयाँ बढी सहयोग गरिसकेको छ ।
