लन्डन — लन्डनमा आयोजित 'नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४' मा नेपाल फुड्सले उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । सोमबार विश्वप्रसिद्ध रोयल एस्कटमा आयोजित समारोहमा नेपाल फुड्सका निर्देशक विकास नेपालले अवार्ड लिए ।
नेपाल फुड्सका निर्देशक विकास नेपालले अवार्ड पाउँदा खुशी र कृतज्ञता व्यक्त गरेका छन् । 'हामी सन् २०२४ को उत्कृष्ट नेपाली ब्रान्डको रूपमा चिनिन पाउँदा निकै हर्षित छौं। यो अवार्ड नेपाली खानाको प्रवर्द्धन गर्ने हाम्रो समर्पणको प्रमाण मात्र होइन, हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र लगन पनि हो । यस्तो प्रतिष्ठित प्लेटफर्ममा नेपाली खानाको प्रतिनिधित्व गर्न पाउँदा हामी गौरवान्वित छौं,' नेपालले भने ।
बेलायतको खाद्य उद्योगमा उत्कृष्ट योगदान पुर्याउने कम्पनीलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको छ । अवार्डले खाद्य उद्योगको प्रतिष्पर्धात्मक बजारमा नेपाल फुड्सको उपस्थिति अझ दरिलो बनाएको नेपालले उल्लेख गरे ।
अवार्डले नेपाल फुड्सको प्रमाणिकता, गुणस्तर र नवप्रवर्तनका लागि नेपाली स्वादलाई विश्वव्यापी दर्शकमाझ पुरयाउने प्रतिवद्धतालाई उजागर गरेको नेपाल फुड्सले जनाएको छ । नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने नेतृत्वको रूपमा आफ्नो स्थान सुदृढ बनाएको कम्पनीको भनाइ छ ।
कम्पनीले बेलायतसहित अष्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरि २५ देशमा करिक ३ सय नेपाली उत्पादन आपूर्ति गरिरहेको छ । सन् २००९ मा अध्ययनका लागि लन्डन आएका नेपालले सन् २०१८ देखि नेपाल फुड्स कम्पनी सुरू गरेका थिए ।
अवार्डस् कार्यक्रममा खानाका पारखी, समीक्षक र व्यवसायीहरूको उपस्थिति थियो ।
