हङकङ — फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरपेनर्स हङकङ (फिने) ले दुई दिने नेपाली युवा उद्यमी अन्तर्राष्ट्रिय सम्मेलन सुरु गरेको छ । हङकङमा आयोजित सम्मेलनमा अस्ट्रेलिया, जापान, अमेरिका, बेलायतलगायतका देशमा उद्यमशीलता गरिरहेका नेपालीहरू भेला भएका छन् ।
'नेपाली उद्यमीको सशक्तीकरणः नवप्रवर्तन, सहकार्य र सफलता' भन्ने नाराका साथ सुरु गरिएको दुई दिने सम्मेलनमा एक दर्जनभन्दा धेरै सत्र छन् । सम्मेलनमा नेपाली युवाहरूले संसारभर गरिरहेका नयाँ उद्यमशीलता अनुभव, नेपालभित्र गर्न सकिने उद्यमशीलताका सम्भावनाहरूको खोजी गर्ने र यसबारे बौद्धिक बहस गर्ने फिने हङकङ च्याप्टरका अध्यक्ष तथा विश्व सम्मेलनका संयोजक इन्दर पुनले बताए ।
कार्यक्रममा डोल्मा फण्डका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देल, ग्लोब इक्युटी फण्डका मनिस थापा, फिनटेकका सञ्जीव सुब्बालगायतका झन्डै डेढ सय नेपालीहरू सहभागी भएका छन् ।
