लन्डन — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाले मात्र देश परिवर्तन हुने बताएका छन् ।
प्रवासी नेपाली एकता समाज (पानस) यूकेले आइतबार अल्डरसटमा आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं जलश्रोत मन्त्रीसमेत भइसकेका लिङ्देनले अहिलेको व्यवस्थाअनुसार प्रधानमन्त्री एउटा सानो निर्वाचन क्षेत्रको जस्तो मात्र भएको बताए ।
'देश एउटा सिंगो निर्वाचन क्षेत्र हुनुपर्छ अब । संसद् पूर्ण समानुपातिक समावेशी हुनुपर्छ', उनले भने, 'यो तीन तहको सरकार देशले धान्न सक्दैन । प्रदेश खारेज गर्नुपर्छ। राष्ट्रिय सभा पनि खारेज गर्नुपर्छ । राष्ट्रिय सभा हारेकालाई तह लगाउने ठाउँ भएको छ ।'
उनले आफ्नै जीवनकालमै परिवर्तन हेर्न मत परिवर्तन आवश्यक रहेको बताए । 'पुराना नेताहरूलाई जिताएर देश बन्छ ? देश बर्बाद बनाउने काम उनीहरूलाई जिताउने र पैसा पठाउनेले पनि गरेका छन्', उनको धारणा थियो । राप्रपा जनताले विश्वास गरेको एकमात्र पार्टी बनेको दाबी गर्दै लिङ्देनले अगाडि भने, 'देश बनाउने संकल्प बोकेर हिँडेको छु, भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह मानेर काम गर्ने छु ।'
अहिले पार्टीले डायस्पोरासँग साक्षात्कार अभियानलाई प्राथमिकता दिएको बताउँदै अध्यक्ष लिङ्देनले थपे, 'अब नेपाल भूगोलको नेपालमात्र रहेन, मेची महाकालीबाहेक संसारभर छरिएर रहेका नेपालीको भावनाको नेपाल पनि छ । भावनाको नेपाललाई नजोडेसम्म नेपालको विकास हुन्न भनेर हामी डायस्पोरा आएका छौँ ।'
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले 'एक पटकको नेपाली सधैंको नेपाली' हुनुपर्छ भन्ने पार्टीको मान्यता रहेको र त्यसको ग्यारेन्टी राप्रपाले गर्ने बताए । विदेशका समस्त नेपालीको चाहना आफ्नो देश फर्कौं भन्ने रहेकाले उनीहरुको साथ र हात साथमा राखेर नेपाललाई विकासको बाटोमा लैजान राप्रपा लागिरहेको शाहीले बताए । गैरआवासीय नेपाली नागरिकता कागजको खोस्टो भएको जिकिर गर्दै उनले वंशजको नेपाली नागरिकता राप्रपाको मूल मुद्दा रहेको उल्लेख गरे ।
मुलुकको अर्थव्यवस्था र स्थिति झन् खंस्कदै गएको र देश परनिर्भर बन्दै गएको उनको टिप्पणी थियो । 'अहिलेको व्यवस्थाले महिनामा दशौं लाख युवा विदेश पलायन भइरहेका छन्', उनले भने, 'दलाल पुँजीपतिहरूको हातमा देशको अर्थतन्त्र रहेकाले देश कहिल्यै विकास भएन ।'
