१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गाह्रोसाह्रोमा गलकोटलाई प्रवासी युवाको साथ

गलकोटमा हुने खेलकुद प्रतियोगितादेखि गाउँलेको उपचार खर्चसमेत जापान बस्ने युवाबाट संकलन हुन्छ । छात्रवृत्तिदेखि पूर्वाधार विकासमा पनि गलकोट समाज जापानका युवाले निरन्तर सहयोग गरिरहेका छन् ।
प्रकाश बराल

बागलुङ — जापानमा काम गरेका युवाले पठाएको रकमबाट गलकोट नगरपालिकाभित्र २ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याइएको छ । जापानमा काम गर्ने गलकोटे युवालाई एक करोड रुपैयाँ पठाएपछि गलकोट–५ मा आँखा उपचार केन्द्र र थिरबम स्मृति पुस्तकालयको तीनतले भवन बनेर सञ्चालनमा समेत आएका छन् । 

गाह्रोसाह्रोमा गलकोटलाई प्रवासी युवाको साथ

गलकोटमा हुने खेलकुद प्रतियोगिता सञ्चालन गर्नुपरे युवाले लाखौं रकम सहयोग गर्छन् । कोही बिरामी भयो भने उपचार खर्चसमेत जापान बस्ने युवाबाट संकलन हुन्छ । छात्रवृत्तिदेखि पूर्वाधार विकासमा पनि गलकोट समाज जापानका युवाले निरन्तर सहयोग गरिरहेका छन् ।

२ महिनाअघि रुखबाट लडेर घाइते भएका हटियाका एकबहादुर खत्रीको उपचारमा जापानबाट ६ लाख रकम आयो । त्यही पैसाले उनले उपचार गरे । मानसिक रोगले ग्रसित हटियाकै नेत्रबहादुर पुनको उपचारमा युवाले ८ लाख सहयोग गरे । नगर अस्पताल बनाउने अभियानमा गलकोटे युवाले ५० लाख बढी सहयोग पठाए । अहिले १५ बेड क्षमताको अस्पताल सञ्चालनमा छ । ‘गलकोटे युवाले पठाएको सहायोगले धेरै सहज भयो,’ अस्पतालका प्रमुख डा.राजेश पौडेलले भने, ‘उपकरण र अन्य सेवाका लागि पनि युवाले सहयोग गर्न खोजेका छन् ।’

रोजगारीको लागि गएका युवाले गलकोट समाज जापान गठन गरेका छन् । २० टोलका उपसमिति पनि छन् । ती समितिले गाउँमा अप्ठ्यारो पर्दा सहयोग गर्दै आएका हुन् । पछिल्लो १० वर्षमा यहाँ २० करोड रुपैयाँभन्दा बढीको सहयोग भित्रिएको गलकोट समाज जापानका बरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले बताए । ‘रोजगारीमा भए पनि २ सय युवा निरन्तर अनलाइनमा राख्छौं, केही गर्नुपरे तत्काल रकम संकलन गर्न यो समूह तयार हुन्छ,’ बस्नेतले भने, ‘हामीसँग केही रकम कोषमा रहन्छ, आवश्यक पर्दा त्यसबाट तत्काल पठाउछौं ।’ एक दुई दिनमा पठाउन सकिने भए भर्चुअल बैठकको निर्णय गरेर सहयोग पठाउने उनले बताए । आवश्यक पर्नासाथ युवाले कोषमा रकम जम्मा गर्ने र पठाउने गरेको उनले बताए । दुर्घटनाको उपचारका लागि भने फेसबुक समूहमा कुरा राखेर तत्काल रकम पठाउने निर्णय गरिन्छ ।

उनीहरूले बिरामी उपचार खर्च, अस्पताल निर्माण, सडक तथा अन्य पूर्वाधार निर्माण, विद्यालयमा अक्षयकोष, छात्रवृत्ति र असहायलाई सहयोगमा लगानी गरेको गलकोट–३ का अध्यक्ष फमबहादुर खत्रीले बताए । ‘युवा गाउँमा छैनन् भनेर चिन्ता छ, सामाजिक कामका लागि सहयोग उतैबाट भित्रिन्छ,’ खत्रीले भने, ‘उपचारका लागि गलकोटबाट पोखरा पुग्दा खातामा सहयोग आइपुग्यो ।’

पोखरामा पुगेर उपचार गरेका खत्री अहिले आराम गरिरहेका छन् । ज्याला मजदुरी गरेर परिवार पालेका खत्री परिवारले यति धेरै रकम खर्चेर उनको उपचार गर्न सक्थेनन् । ‘बेलैमा जापानबाट सहयोग नआएको भए मेरो ज्यानै जाने थियो,’ खत्रीले भने, ‘केही दिनमा काममा निस्कन सकें भने मजदुरी गरेर परिवार पाल्छु ।’ गलकोट समाजकै कारण ज्यान बचेको उनले बताए । ‘मृत्यु संस्कारको खर्चदेखि स्वास्थ्य संस्था बनाउने काममा पनि जापानबाट सहयोग आएको छ’ वडाध्यक्ष फमबहादुर खत्रीले भने, ‘विद्यालयमा पढ्ने बालबालिकालाई न्यानो कपडा, जुत्ता, झोला र कापीकलमका लागि समेत युवाले सहयोग गरेका छन् ।’ खेलकुदको विकासमा नियमित सहयोग आएको उनले बताए ।

गलकोट समाज जापानका युवाको ८० लाख र स्थानीयको २० लाख संकलन गरेर बागलुङको गलकोट–५ मा बनेको आँखा उपचार केन्द्र । तस्बिरः प्रकाश बराल/कान्तिपुर

सामान्य समस्याको उपचार गर्नुपर्दा गलकोटवासीले ५० किलोमिटरपरको सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । एकतर्फी ७ सय देखि ९ सय रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता हटाउन जापानमा बसेका युवाले अस्पताल बनाउन लगानी गरेपछि अहिले सहज बनेको छ । वडा नम्बर–५ स्थित हरिचौरमा बनेको १५ शय्याको नगर अस्पतालमा ल्याब स्थापना र एक्सरे सेवाका लागि मात्रै गलकोट समाज जापानले ३० लाख सहयोग गरेको सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले बताए । ‘नगर अस्पतालमा एक चिकित्सक राख्नका लागि पनि गलकोटे युवाले सहयोग गरेका छन्,’ भण्डारीले भने, ‘अस्पताल सञ्चालनका लागि मात्रै गलकोट समाज जापानको वार्षिक ३० लाख लगानी भइरहेको छ ।’ उक्त रकमले एक चिकित्सक, एक रेडियोग्राफरको समेत व्यवस्थापन भएको उनले बताए ।

गलकोट समाजका पदाधिकारीमध्ये एक–दुई जना पालैपालो बर्सेनि गलकोट आएर यहाँको वास्तविकता बुझेर फर्कने, कतिपय कामको अनुगमन गर्ने सल्लाहकार दिपेश केसीले बताए । ‘खेलमैदान बनाउनेदेखि एम्बुलेन्स किनेर हस्तान्तरण गर्ने काममा पनि समाजका सदस्य कोही न कोही आउने गरेका छन्,’ उनले भने, ‘विभिन्न पूर्वाधारका काम समितिका पदाधिकारीले पनि अनुगमन गर्छन् ।’ गलकोट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन, मेयरकप भलिबलसहित वडावडामा हुने खेलका गतिविधि चलाउन र पुरस्कारमा समाजले लगानी गरेको उनले बताए । काम विशेषले जापान बसे पनि गाउँमा हुने सबै क्रियाकलापमा जोडिने गरी समाज गठन भएको हो ।

गलकोट समाज जापानकै लगानीमा नगरपालिकाले पनि एम्बुलेन्स किनेर सञ्चालन गरेको छ ‘यहाँका हरेक काममा जापानका युवाको पसिना मिसिएको छ,’ वडा नम्बर ५ का अध्यक्ष पवन हमालले भने, ‘सामाजिक सुरक्षामा जापानको लगानी अब्बल देखिन्छ ।’ रकमको सदुपयोगका लागि जापानका युवाले वडाध्यक्षको सिफारिस खोज्ने उनले बताए । आफ्नो क्षेत्रमा सहयोग गर्ने भनेपछि युवाहरू रातभर नसुती काममा खटिने गरेको बस्नेतको भनाइ छ । ‘गाउँमा खेलकुद प्रतियोगिता भए पनि युवाले पुरस्कारको व्यवस्था जापानबाटै गरिदिएका छन्,’ उनले भने ‘गलकोटे एकताले स्वास्थ्य र सामाजिक सुरक्षामा बढी सहयोग मिलेको छ ।’ समाज सन् २०१० बाट क्रियाशील छ ।

प्रकाशित : जेष्ठ ५, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?