काठमाडौँ — हास्य कलाकार कुञ्जना घिमिरे(सुन्तली)को निर्देशनमा वेब सिरिज 'मै राम्री' प्रदर्शनमा आउने भएको छ । सामाजिक विषयवस्तुमा आधारित वेब सिरिज पुस २९ देखि धुर्मुस सुन्तली युट्युब च्यानलबाट प्रदर्शनमा आउँदैछ ।
७ भागको यो सिरिजमा नयाँ पुराना कलाकारहरुको अभिनय रहेको बताइएको छ । वेब सिरिज कमेडीमा विधामा बनेको होइन । यसमा सीताराम कट्टेल(धुर्मुस) र उनी आफैंको अभिनय छैन । यही वेब सिरिजमार्फत् उनीहरु कलाकारितामा कमब्याक गर्न चाहन्छन् ।
उनीहरूका अनुसार यो वेब सिरिजलाई सुरुवातमा टेलिभिजनमै प्रदर्शन गर्ने सोचेका थिए । तर, टेलिभिजनबाट डिजिटल अधिकारमाथि नै दाबी गरिसकेपछि प्रदर्शनका लागि आफूहरुले युट्युब रोजेको घिमिरे बताउँछिन् ।
'हामी यो सिरिजमार्फत कमब्याक गर्दैछौं भनेर विभिन्न टेलिभिजनमा हामीले हाम्रो प्रोडक्ट देखायौं । हामी टेलिभिजनबाट उदाएका कलाकारलाई टेलिभिजन नै प्यारो लाग्छ । आफ्नो काम त्यहीँ देखाउँ भन्ने लाग्छ । तर, टेलिभिजनले डिजिटल अधिकार पनि माग्यो । अब हामीले गरेको मिहेनत बराबरको खर्च बेहोरिदिएको भए हामीले प्रोडक्ट टेलिभिजनलाई दिन्थ्यौं होला,' कुञ्जनाले भनिन्,'तर, हाम्रो युट्युब त धुर्मुस सुन्तलीको सम्पति हो । त्यसैले युट्युबबाटै रिलिज गर्ने सोच्यौं ।'
वेब सिरिजको छायांकन उनीहरुले काभ्रेको ढुंखर्कमा गरेका हुन् । धुर्मुस-सुन्तलीकै चरित्रमा उनीहरु अर्को कमेडी सिरिज ल्याउने तयारीमा छन् ।
प्रकाशित : पुस २६, २०७९ १८:१४