३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अस्ट्रेलियामा दुई सातामा ५ नेपालीको मृत्यु

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा दुई सातायता ५ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ३ विद्यार्थी र २ अभिाभवक छन् । उनीहरुको मृत्यु भएको अस्ट्रेलियास्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

अस्ट्रेलियामा दुई सातामा ५ नेपालीको मृत्यु

न्यु साउथ वेल्स राज्यको सिड्नीमा २ जना विद्यार्थीले ज्यान गुमाएका हुन भने एकजना अभिभावकको मृत्यु भएको हो । यसैगरी क्विन्सल्यान्डमा समेत एक विद्यार्थी तथा एक अभिभावकले ज्यान गुमाएका छन् ।

एनआरएनए न्यू साउथ वेल्सका संयोजक देव गुरुङका अनुसार करिब २ महिनाअघि आएका २३ वर्षीय युवाको केही दिनअघि १२ तल्लाको भवनबाट खसेर मृत्यु भएको हो भने सोमबार सिड्नीस्थित ह्यारिस पार्कमा करिब १९ वर्षीया युवतीको ट्रेन स्टेसनमा मृत्यु भएको छ । उनीहरु उच्चशिक्षा अध्ययनका लागि करिब २ महिनाअघि मात्र अस्ट्रेलिया आइपुगेको बताइएको छ ।

यसैगरी आफ्ना परिवार भेट्न आएका केही समयअघि सिड्नी आएका एक वृद्धको समेत मृत्यु भएको छ । उनी सिड्नीस्थित होमबुसमा रहेका आफ्ना परिवार भेट्न नेपालबाट भिजिटर भिसामा आएका थिए । गुरुङले उनीहरुको परिवारलाई दूतावास, वाणिज्य दूतावासका साथै एनआरएनएलगायतका अन्य सामाजिक संस्थाले सक्दो सहयोग पुरयाइरहेको जनाएका छन् । मृत्यु भएकामध्ये सिड्नीका युवालाई म्याग्दी ओभरिसज नेप्लिज एसोसिएसन (मोना) ले सहयोग संकलन गरेर सहयोग पुरयाइरहेको छ ।

एनआरएनए क्विन्सल्यान्डका सनसाइनकोस्टमा समेत एक विद्यार्थीको मृत्यु भएको छ भने हार्भी बेमा आफ्ना परिवार भेट्न आएका एक ६० वर्षीय व्यक्तिको मृत्यु भएको छ । एनआरएनए क्विन्सल्यान्डका संयोजक विनोदभक्त आचार्यले करिब ४ वर्षअघि अस्ट्रेलिया आएका २२ वर्षका युवा एक साताअघि आफ्नै ओछ्यानमा बेहोस भेटिएका र उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन् । उनको परिवारको आग्रहमा शव नेपाल पठाउनका लागि सहयोग पुऱ्याइरहेको आचार्यले बताए । यसैबप्च हार्भि बेमा बस्दै आएका अभिभावकको समेत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आफूलाई छातीमा असजिलो महसुस गरेपछि अस्पताल लगिएको र उनको समेत उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

क्यानबेरास्थित नेपाली दूतावासका उपनियोग प्रमुख कुलबहादुर मगरले दूतावासले मृतकहरुका बारेमा जानकारी पाएको र आवश्यक्ताअनुसार सक्दो सहयोग पुरयाइरहेको जानकारी दिए । उनले मृत्यु भएका सबैको यथार्थ विवरण संकलन गर्ने कार्य गरिरहेको बताउँदै त्यसका लागि वाणिज्य दूतावास, एनआरएनएलगायतका संस्थासँग मिलेर काम गरिरहेको बताए ।

प्रकाशित : कार्तिक २३, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?