कोरियामा एक नेपालीको मृत्यु- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा एक नेपालीको मृत्यु

गोकुल थोकर

सोल — दक्षिण कोरियामा एक नेपालीको औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । छुङ्छननाम्दोको छङयाङगुनको बंगुर फर्ममा कार्यरत लमजुङका इन्द्र गुरुङको शुक्रबार मृत्यु भएको हो । 

लमजुङ परिवार दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष मेघ वाइबाले ढलको पाइप मर्मतको क्रममा दुर्घटनामा परी गुरुङको मृत्यु भएको जानकारी दिए । ‘बंगुरको मलमूत्रबाट ग्यास निकाल्ने गरेको रहेछ । केही दिनदेखि त्यो पाइप बन्द भएकोले बनाउन जाँदा विषाक्त ग्यास निस्केर मृत्यु भएको अनुमान रहेछ । त्यहाँ सीसीटीभी पनि रहेनछ । थप कुरा अनुसन्धानपछि भन्न सकिने प्रहरीले बताएका छन्,’उनले भने । गुरुङसँगै काम गर्ने ३० वर्षीय कोरियालीको पनि सोही घटनामा मृत्यु भएको छ ।

दुई वर्षअघि पनि बंगुर फर्ममा काम गर्ने क्रममा विषाक्त ग्यासका कारण दुई जना नेपालीले ज्यान गुमाएकाथिए । कोरियाली मजदुर युनियनहरुले कामदारका लागि सुरक्षा माग्दै आए पनि सरकारले बेवास्ता गर्दै आएको छ । ‘कोरियामा ज्यान गुमाउने विदेशी धेरै छन् । औद्योगिक दुर्घटनामा रोजगारदाताको हेलचेक्र्याइँ मुख्य कारण हो । त्यसैले त्यस्ता रोजगारदातालाई कडा कारबही गरे धेरै कामदारको ज्यान बच्नसक्थ्यो,’ प्रवासी मजदुर युनियनका महासचिव मधुसुधन ओझाले भने ।

प्रत्येक वर्ष ८ हजारभन्दा बढी औद्योगिक दुर्घटना भएको कोरियाली श्रम मन्त्रालयको तथ्यांकले देखाउँछ ।

प्रकाशित : आश्विन २, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

भूकम्पले बनायो साइकलप्रेमी

बुनु थारु

काठमाडौँ — २०७२ सालको भूकम्पको प्रकोप । पराकम्प छिनछिनमा गइरहने । यस्तो समयमा पाटन अस्पतालमा काम गर्ने डा. पवन शर्मालाई गाडीमा जाने आँट आएन । साइकल सहज अनि सुरक्षित ठानेर उनी घरमा भएको चढेर अस्पताल हिँडे । बाटोमा पराकम्प आइरहँदा साइकल लडाएर भुइँमा थ्याच्च बसेको उनी सम्झन्छन् । त्यसबेला बाध्यताले साइकल रोजेका उनको आज साइकल प्रिय साथी बनेको छ ।

डा. शर्मालाई झन्डै १० वर्षको उमेरमा पहिलोपटक साइकल चढेको याद छ । त्यतिबेला लगनखेलमा एउटा साइकल पसल थियो जहाँ साइकल भाडामा पाइन्थ्यो । ‘सायद १५ पैसामा आधा घन्टा साइकल चलाउन पाइन्थ्यो । हामी साथीहरु मिलेर पैसा जम्मा पारी आफ्नो पालो पाउन झगडा गर्दै चलाउँथ्यौं,’ डा. शर्माले पुराना दिन सम्झिने कोसिस गरे । उनको घरमा पानीको दु:ख भइरहन्थ्यो । लुगा धुन अन्तैबाट पानी ओसार्नुपर्थ्यो । किशोरवस्थामा उनले साइकललाई घरको सहायतामा पनि प्रयोग गरे । बटुक भैरव भन्ने ठाउँमा ठूलो इनार थियो । उनी साइकलमा दुईतिर झुन्ड्याएर गाग्रोमा पानी ओसार्थे । उनले साइकलमा दाउरा बोकेको पनि सम्झन्छन् ।

लामो दुरीबाहेक उनी साइकलमै आवतजावत गर्छन् । हाल कुसुन्तीमा बस्दै आएका उनको घरबाट पाटन अस्पताल पुग्न डेढ किमि जति लाग्छ तर उनी घुम्दै डुल्दै करिब २३ किमी साइकल चलाएर अस्पताल आइपुग्छन् । अस्पताल ८ बजेसम्म आइपुग्नुपर्छ । डा. शर्मा बिहान सवा ६ बजे नभए साढे ६ बजेभित्र घरबाट हिँडिसक्छन् । रिंगरोड हुँदैभित्र गल्ली–गल्ली हुँदै धापाखेल हाइटबाट उकालो लाग्दै उनी अस्पताल प्रांगणमा छिर्छन् । डा. शर्मालाई साइक्लिङ नसा बनिसकेको छ । भन्छन्– ‘चलाउने बानी लागेपछि छोड्नै मन नलाग्ने’

तस्बिरहरू : दीपेन्द्र रोक्का/कान्तिपुर

अस्पतालको प्रांगणमा दायाँ पाखोमा साइकल पार्किङको छुट्टै व्यवस्था गरेको छ । उनीजस्तै अरु ३–४ जना स्टाफ पनि साइकल चढ्छन् । बुधबार र शनिबार बिदाको दिन बाहेक अरु काम परेन भने उनी दैनिक साइकल कुदाउँछन् । अस्पतालमा साइकलप्रेमी स्टाफहरुले साइकल क्लब पनि गठन गरेका छन् । बेलाबेलामा स्टाफहरु मिलेर विभिन्न ठाउँमा गइरहेका हुन्छन् । उनी उपत्यकाबाहिर भने साइकल लिएर गएका छैनन् । उनी विशंखुनारायण, इचंगुनाराण, मच्छेनारायण, चाँगुनारायण, टीकाभैरव, साँखु आदि डाँडाकाँडा साइकलमा पुगिसकेका छन् । उनले लामो दुरीको यात्रामा थकान भन्दा पनि खुसी मिल्ने बताए । डा. शर्मा भन्छन्–‘मैले यति किमि दुरी पार गर्न सकेँ है भनेर मन फुरफुर भइरहेको हुन्छ । त्यसै थकान मेटिन्छ ।’

उनलाई नियमित साइकल किन चलाउन छोडेछु भनेर कहिलेकाहीँ थकथकी पनि लाग्ने रहेछ । उनले कलेज पढ्दा पनि साइकल नचढेका होइनन् तर पेसा र सामाजिक परिवेशले साइकल हुँदै बाइक त्यसपछि गाडीले ठाउँ लियो । कल्पिन्छन्–‘अलि अगाडिदेखि नै निरन्तर साइकल चलाएको भए उपत्यकाबाहिर पनि धेरै ठाउँ जान्थेँ होला । उमेर २०–३० वर्ष उल्ट्याउन पाए नि हुने’ उनी दैनिक ३० देखि ३२ किमि साइकल कुदाउँछन् । घर फर्किदा भने कुन रुट जाने उनको मुडमा भर पर्छ ।

साइकल नियमित चलाउन थालेदेखि उनका धेरै साइकलप्रेमी र साइकल पसलेहरुसँग दोस्ती भइसकेको छ जसले उनलाई साइकलका फिचरबारे अपडेट गराइरहन्छन् । उनी आफैंले किनेको ‘हिरो’ साइकल थियो जुन ६ हजार पथ्र्यो । उनी गइरहने लगनखेलको साइकल पसलमा उनले एउटा पहेँलो रंगको जेटिए साइकल देखे । उनले केही रकम थापेर पुरानो साइकलसित साटे । ‘कुद्न पनि छिटो थियो त्यो साइकल मजा लाग्यो । त्यसपछि साइकलको नसा बढ्न थाल्यो,’ डा शर्माले साइकल मोह देखाए । उनले त्यसपछि ट्वीटर भन्ने साइकल चढे । जसले उनलाई डाँडाकाँडातिर पुर्‍यायो । एकदिन साइकल पसलेले उमेरअनुसार डबल सस्पेन्सनवाला साइकल लियो भने ढाड पनि कम दुख्छ भन्ने सल्लाह दिएपछि उनले डबल सस्पेन्सन साइकल किने । हालसम्म उनले ५ वटा साइकल फेरिसकेका छन् । भन्छन्–‘अहिले सेफवे भन्ने साइकल चढिरहेको छु । एक वर्ष भयो । यसको ब्याट्री ब्याकअप पनि छ उकालोमा सजिलो हुन्छ ।’

माघमा ६२ औं वर्षमा लाग्दै गरेका डा. शर्माले साइकलले पर्याप्त मात्रामा व्यायामको काम गरिरहेको बताए । उनी साइक्लिङको त क्रेजी हुन् नै त्यसबाहेक गार्डेनिङमा पनि उनको विशेष लगाव छ । उनी फुर्सदको समयमा आफ्नो करेसाबारीको गोडमेलमा रमाउँछन् । बिहान उठ्नेबित्तिकै एकपटक बारीमा पुगेकै हुन्छन् । उनले आफूले फलाएका फलफूल तथा तरकारीहरुलाई विभिन्न आकृति दिएर सामाजिक सञ्जालमा पनि पोस्ट गर्ने गरेका छन् । फेसबुकको कमेन्टमा उनको कलालाई धेरैले मनपराएको देखिन्छ । हरेक बुधबार बिदाको दिन फुर्सदमा उनी आफ्नै बारीको उत्पादनबाट कहिले साइकल, गणेश, मानिस, मयुरजस्ता विभिन्न आकृतिहरु बनाउँछन् । कति समय खर्चिनुहुन्छ कुनै आकृति बनाउन? भन्ने प्रश्नमा उनले भने– ‘सुरुमा दिमागमा एउटा आकृति सम्झिन्छु । यसपछि बनाउन सुरु गर्छु । एकदम मुड आएको दिन २ घण्टा पनि लाग्छ नभए १ घण्टामा केही आकृति दिने कोसिस गर्छु ।’

उनको एक रोपनी जग्गामा काठमाडौंमा पाइने प्राय: फलफूल तथा सिजनमा हुने तरकारी फल्छन् । उनले घर अगाडि फूल तथा घरपछाडि भने करेसाबारी छ । उनीसँग गुलाबको भेराइटी नै ४४ वटा छ । उनले कम्पोष्ट मल पनि बनाउँछन् जसले गर्दा प्लास्टिकबाहेक अरु केही फाल्नुपर्दैन । उनी हरेक वर्ष पुषको तेस्रो हप्तामा गुलाब काटछाट गरेर बाँड्छन् ।

उनले आफूले चलाउँदै गरेपछि सुरक्षित महसुस हुँदै जाने उनको बुझाइ छ । उनले धेरैमा साइकल असुरक्षित तर मोटरसाइकल सुरक्षित भन्ने मानसिकता रहेको बताए । ‘साइकल नै चढ्नुहुन्न भने आज पनि असुरक्षित महसुस गर्नुहुन्छ । काठमाडौंमा साइकल सुरक्षित छैन अनि मोटरसाइकल सुरक्षित छ त ? दुर्घटना हेर्नु त मोटरसाइकलको कति उच्च छ?’ उनले प्रश्न गरे । साइकल कुदाउँदै गर्दा उनले बाटोमा विभिन्न अवस्थाहरुलाई अवलोकन गरिरहेका हुन्छन् । उनले प्राय युवाहरुले एकदमै स्पिड चलाएको देख्छन् । भन्छन्–‘ट्राफिक नियम पालना गरेर कतिले चलाउँछन् होला ? अझै कतिपयले हेल्मेट पनि लगाएका हुँदैनन्।’ उनले स्कुलिङ नै गलत भइरहेको देख्छन्।

‘बाइकमा हेल्मेट नै नलगाइ आफ्नो बच्चाबच्चीलाई विद्यालय पुर्‍याउन बाआमालाई गएको देख्छु ।उनीहरुले के सिक्छन् पछि? ट्राफिक हुँदा नियम पालना गर्ने र नभए नगर्ने । यही त सिक्छन् नि,’ उनले भने ।

मानिस वातावरणप्रति सजग नभएकोप्रति दु:ख व्यक्त गर्छन् उनी । भन्छन्–‘साइकल चढेर हिँडेको कारणले मेरो बच्चाले स्वस्थ हावामा सास फेर्न पाउँछ । मोटरसाइकल तथा गाडीले धुवाँ भएर वातावरण प्रदुषित हुन्छ भन्ने सोचाइ जनमानसमा आएको छैन । विद्यालयले पनि सिकाउनुपर्छ ।’

कला तस्बिर : डा. पवन शर्मा

उनले मानिसहरुमा हिँड्ने बानीको विकास गराउनुपर्ने बताउँछन् । ‘नजिकैको बाटोमा पनि मोटरसाइकल नै लिएर जाने बानी छ । हिँड्ने बानी नै विकसित भएको देखिँदैन,’ उनले भने । उनले सानोमा अभिभावकले साइकल दिने तर ठूलो भएपछि मोटरसाइकल नै थमाइदिने संस्कृति देखिएको बताए । ‘वातावरण मरिरहेको छ । प्रकृति बिगार गर्दे गइरहेका छौं । आज सोचिएन भन्ने भावी पुस्ता कसरी बाँच्ने? अहिले हेर्नुस् त गर्मी । डेंगु फैलिएको छ । हामीले वातावरण तताएको कारणले त हो नी ,’ उनले दु:ख व्यक्त गरे ।

साइकल क्रेजी डा. शर्मा आफूलाई चाहिने सामान सबै बोकेर हिँड्छन् । पानी परेको सिजनमा रेनकोट ब्यागमै हुन्छ । साथमा एउटा फ्रेन्टहेड लाइट र टोपी । कुराकानीपछि छुट्टिने क्रममा उनले ज्याकेट लगाए, त्यसपछि टोपी र खुट्टामा चेन नअल्झियोस् भनेर ब्यान्ड बाँधे । अस्पतालको साइकल पार्किङमा रातो रंगको साइकल झिकेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टार डा.पवन शर्मा आफ्नो गन्तव्यतर्फ हिँडे ।

प्रकाशित : आश्विन २, २०७९ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×