कोरियामा नेपालीबाटै नेपालीको हत्या

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियाको राजधानी सोलभन्दा १ सय ५ किलोमिटर दक्षिणमा पर्ने छुङछनबुक्दोको जिनछनमा रहेको प्लास्टिक कम्पनीमा काम गर्ने नेपालीले आफ्नै सहकर्मीलाई धारिलो छुरा प्रहार गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । मंगलबार राति भएको उक्त घटनाका आरोपित यूवालाई प्रहरीले पक्राउ गरेको छ ।


रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका नुवाकोटका प्रकाश विकको हत्या भएको हो । ६ महिनाअघि मात्र कोरिया आएका उनकै कम्पनीमा काम गर्ने पाँचथरका राजेश बुढाथोकीले उनको हत्या गरेको खुलासा भएको हो । राजेश तीन हप्ताअघि मात्रै कोरिया आएका थिए ।

‘उनीहरू कम्पनीकै खिसुक्साको एउटै कोठामा बस्थे । यसअघि कुनै झगडा भएको थाहा भएन,’ घटना भएको कम्पनीमा ९ वर्ष देखि काम गर्दै आएका गोविन्द अघिकारीले भने । ‘हिजो राति एक्कासी यस्तो घटना भयो हामी पनि आश्चार्यमा छौं ।’

घटना भएकै खिसुक्सा (होस्टेल)मा बस्ने गरेका कृष्ण आलेले मंगलबार राति साढे ११ बजे ठूलो स्वर सुनेर कोठा बाहिर निस्कँदा प्रकाश भुइँमा लडिरहेको बताए ।

‘हामी सबैले ८ बजेसम्म सँगै काम गरेका थियौं । म १० बजेतिर नुहाएर बाहिर निस्कँदा भाइहरूको कोठाको बत्ती निभेको थियो । मैले सुतिसकेछन् भनेर आफ्नो कोठामा ढोको लगाएर घरतिर कुरा गर्दै थिएँ । एक्कासी ठूलो स्वरमा केही खसे जस्तो सुनियो । म बाहिर निस्केर हेर्दा ऊ लडिरहेको थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौं ।’

प्रहरी आएर हेर्दा प्रकाशको मृत्यु भइसकेको थियो । आरोपित बुढाथोकी भने कोठामै बसेको र उनको पनि घाँटीमा घाउ रहेको प्रहरीले बताएको छ । अहिले उनको उपचार भइरहेको र थप अनुसन्धानपछि मात्रै घटनाको बारेमा विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ ।

सोलमा रहेको नेपाली राजदूतावासले घटनाबारे अनौपचारिक रुपमा जानकारी भए पनि कोरियाली प्रहारी मार्फत् आधिकारिक जानकारी भने अझै नआएको जनाएको छ । ‘गम्भीर खालको घटनामा अनुसन्धान गर्न केही समय लाग्ने भएकोले पनि उनीहरुले जानकारी नगराएको हुनसक्छ,’ सोलस्थित कार्यवाहक राजदूत रामसिंह थापाले भने ।

‘कोरियामा भएको आपराधिक घटनाको कोरियाली कानुन अनुसार नै कारबाही हुन्छ । अन्य विषयमा कोरियाली प्रहरीले हामीलाई जे जानकारी दिन्छ त्यसपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।

सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत नेपाली कोरियामा आउन थालेका हुन् । यसअघि नेपाली कामदार कुनै गम्भीर खालका अभियोगमा कारागार पुगेका छैनन् ।

प्रकाशित : भाद्र १५, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्

ओलीको दाबी - 'एमालेले कम्तीमा १५० सिट जित्छ'

नेकपा एसका प्रदेश मन्त्रीसहित एमाले प्रवेश
भवानी भट्ट

कञ्चनपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रत्यक्ष र सामानुपातितर्फ गरी एमालेले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । उनले दुनियाँ नै आश्चर्यचकित हुने गरी एमाले विजयी हुने दाबी गरेका हुन् । 

‘अरुका भरमा होइन, अरुको वैशाखी टेकेर र पैसा बाँडेर होइन,’बुधबार महेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘इमान्दारिता र जनताको भोटले हामी जित्छौं ।’ उनले देशलाई जिताउन र विकासको अभियानलाई अघि बढाउनसमेत एमालेले जित्नुपर्ने बताए ।

अहिलेको गठबन्धन सरकारले राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिरहेको तथा देश र जनताका लागिभन्दा गठबन्धनका नेता र व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको उनले आरोप लगाए । आफ्नो नेतृत्वको सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्साका विषयमा समेत अहिलेको सरकार बोल्न नसकेको उनले बताए ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी अहिलेका सरकारका लागि एउटा समस्यामात्रै भएको छ, त्यो क्षेत्रको सहितको नयाँ नक्सा जारी भएर संविधानको अंश भइसकेको छ,’ ओलीले भने, ‘प्रधानमन्त्री देउवाले भारत भ्रमणमा गएर समेत यसका विषयमा बोल्न सक्नुभएन, त्यत्रो गठबन्धन केका लागि ?’

अध्यक्ष ओलीले गठबन्धन आफै बनेको नभई अरुले नै बनाइदिएको बताए । उनले गठबन्धन सरकार नै असंवैधानिक भएको बताए । ‘अहिलेको सरकार वैधानिक बाटोबाट बनेको होइन, असंवैधानिक बाटोबाट बनेको हो,’ उनले भने, ‘देश र जनताका लागि पीडा दिन बनेको हो, हामी मसिंर ४ सम्म पर्खिन्छौं, त्यसपछि जनताले नै यसलाई पछार्ने छन् ।’

गठबन्धन सरकार विकास विरोधीमात्रै नभएर राष्ट्र र राष्ट्रियताविरोधी समेत भएको उनको आरोप थियो । एमसीसीलगायत पछिल्लो पटक नागरिकता विधेयकमा समेत गठबन्धन सरकारको चरित्र उदांगिएको ओलीको भनाइ छ । ‘गठबन्धनका नेताहरु पनि दोहोरो चरित्रका छन्,’ उनले भने, ‘बाहिर एउटा कुरा भन्छन्, भित्रै अर्कै गर्छन्, एमसीसीमा पनि माधव नेपाल र प्रचण्डले बाहिर विरोध गरे, विद्यार्थी र युवालाई विरोधमा उतारे तर संसद्‌मा चुँइक्क समेत नबोली पक्षमा हात खडा गरे ।’

उनले गठबन्धन सरकारको चरित्र जनताले बुझिसकेकाले आगामी निर्वाचनमा जनताले नै पछार्ने बताए । दिनप्रतिदिन बढ्दो महँगी र भ्रष्टाचारले जनता हैरान भएको उनले बताए । ‘चार धामजस्तै एमाले राष्ट्रियता र लोकतन्त्रको धाम हो,’ उनले भने, ‘अरु पार्टीका नेता, कार्यकर्ता पनि यही धाममा बसेर देश विकासमा सहभागी हुनुस् ।’ एमालेको सरकार बनेपछि रोकिएको विकासको काम सँगै गरिब, विपन्न र पिछडिएको जनताको हकहितमा काम गर्ने बताए ।

नेकपा एसका प्रदेश मन्त्रीसहित एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका प्रदेश मन्त्रीसहित प्रदेशसभा सदस्यलगायतका नेता, कार्यकर्ताहरु बुधबार एमाले प्रवेश गरेका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजना राज्यमन्त्री कुलवीर चौधरीसहित प्रदेशसभा सदस्य तारा लामा तामाङ, एकीकृत समाजवादीको प्रदेश अध्यक्षबाट हालै राजीनामा दिएका विक्रम शाही, बेदकोट नगरपालिकाका पूर्वनगर प्रमुख अशोककुमार चन्दलगायत नेतालाई अध्यक्ष ओलीले स्वागत गरेका हुन् ।

यसैगरी, स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट बेदकोट नगरपालिकामा नगर प्रमुखको उम्मेदवार भएका रामचन्द्र रेग्मी, कृष्णपुर नगरपालिकाका नगर प्रमुखका उम्मेदवार सुरेन्द्र बमलगायत नेताकार्यकर्ताहरु समेत एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट संविधानसभा सदस्य भएकी दुर्गा खुना, संविधानसभा निर्वाचन लडेका मोहन गिरी लगायतका नेताकार्यकर्ता पनि बुधबार एमाले प्रवेश गरेका छन् ।

प्रकाशित : भाद्र १५, २०७९ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×