२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चण्डीगढको सरकारी सेवामा जम्दै नेपाली

प्रहरी, अस्पताल, नगरपालिका, अदालत तथा विभिन्न मन्त्रालय र विभागअन्तर्गत सयौं नेपाली कार्यरत
राजेश मिश्र

चण्डीगढ — स्याङ्जाका छविलाल पाठक उमेरले ४० वर्ष पुगे । उनी चण्डीगढ नगरपालिकामा कनिष्ठ सहायक पदमा कार्यरत छन् । त्यहाँ उनले जागिर खाएको २० वर्ष पुग्दै छ । उनका बुबाले पनि चण्डीगढकै प्रशासनमा २९ वर्ष नोकरी गरेका थिए । उनको निधनपछि पाउने पेन्सनको हिस्सा पाठककी आमाले बुझ्छिन् ।

चण्डीगढको सरकारी सेवामा जम्दै नेपाली

पर्वतका धर्मागत काफ्ले चण्डीगढ आएको ४० वर्ष भइसकेको बताउँछन् । उनी पञ्जाब विश्वविद्यालयको भौतिकशास्त्र विभागको पुस्तकालयमा काम गर्छन् । चार वर्षपछि उनले अवकाश पाउँदै छन् ।

पञ्जाब र हरियाणा प्रान्तको संयुक्त राजधानी भए पनि चण्डीगढ आफैंमा भने कुनै प्रान्त मातहत पर्दैन । यो ‘युनियन टेरोटरी’ अर्थात् केन्द्र सरकार मातहतको सहर हो । दुईवटा राज्यको राजधानी र केन्द्रका समेत कार्यालय हुने भएकाले यहाँ सरकारी अड्डाको संख्या प्रशस्तै छ । भारतको हरेकजसो सहरमा रोजगारीका लागि आएका नेपालीको संख्या भेटिनु खासै नौलो होइन । तर चण्डीगढ यस्तो सहर हो, जहाँ प्रशस्तै नेपाली सरकारी सेवामा कार्यरत छन् ।

विश्वविद्यालयका जागिरे काफ्ले धेरै नेपालीले चण्डीगढको सरकारी सेवामा अवसर पाएको बताउँछन् । ‘मैले काम गर्ने विश्वविद्यालयमै १८/२० जना नेपाली छौं,’ उनले भने । उच्च अदालतमा मात्रै सयौं नेपाली विभिन्न पदमा कार्यरत छन् । २५ वर्षदेखि अदालतमा कार्यरत ढाकाराम पौडेल कम्तीमा ३ सय नेपाली त्यहाँ जागिरे रहेको बताउँछन् । उनी आफू भने ‘क्लर्क’ हुन् । ‘पद सानै भए पनि सरकारी जागिर भएपछि धेरे खालको ढुक्क हुने अवस्था हुँदोरहेछ,’ उनले भने ।

‘पहिला पहिला नेपालीले पनि जागिर पाउँथे । १९५० को सन्धिअनुसार हामीले सुविधा पाएका हौं । समस्या पर्दा त्यही सन्धिका आधारमा अदालतबाट न्याय पनि पाइएको छ,’ उनले सुनाए, ‘तर, अब नेपालीले सरकारी जागिरमा जान्छु भन्दा मुस्किल छ । यहाँ नै बेरोजगारी धेरै छन् ।’

स्याङ्जाका जीबी गुरुङ ३७ वर्ष पुग्दै छन् । उनी पञ्जाब सरकारको सिँचाइ विभागमा ‘क्लर्क’ पदमा कार्यरत छन् । बुबा चन्द्रबहादुरको जागिरे अवधिमै निधन भएपछि सरकारी नियमानुसार उनले त्यही विभागमा नोकरी पाएका हुन् । ‘म १० कक्षामा पढ्दै गर्दा सन् २००४ मा बुबाको निधन भयो । एसएलसी उत्तीर्ण भएपछि मैले यहाँ जागिर खान थालेको पनि १७ वर्ष पुगेको छ,’ उनले भने, ‘सन् २०४३ सम्म मैले यहाँ जागिर खान पाउँछु ।’ सिँचाइ विभागको केन्द्रीय कार्यालयमा २० जनाजति र फिल्ड कार्यालयमा सयौं नेपाली कार्यरत रहेको उनले बताए ।

‘चण्डीगढको कुनै पनि सरकारी कार्यालय छैन, जहाँ नेपाली भेट्नु हुन्न,’ प्रवासी नेपाली संघका प्रदेश सचिवसमेत रहेका गुरुङले भने, ‘संख्या भनेरै कसैले त निकालेको छैन । तर, यहाँको प्रहरी, अस्पताल, नगरपालिका, अदालत, मन्त्रालय, विभाग सबैतिर प्रशस्तै नेपाली छन् ।’ नेपालीले जागिर खाएर आफूहरूको अधिकार खोसिएको मनोविज्ञान पछिल्लो समय पञ्जाबीमा देखिन थालेको उनले बताए । हरियाणाका नागरिकमा त्यस्तो मनोभावना कम छ, तर पञ्जाबीमा बढी छ ।

‘सरकारी जागिर होस्, निजी क्षेत्रको वा लेबर मजदुरीका काम सबैका लागि विदेश भनेको विदेश नै हो,’ उनले भने, ‘परिस्थितिवश यता आएका हुन्छन् सबै ।’ पछिल्लो समय सरकरी जागिरमा नेपालीले अवसर पाउने अवस्था कम भएको उनको बुझाइ छ । ‘अहिले आफ्नै व्यवसाय गर्ने नेपाली बढेका छन् । नेपालीले फास्टफुड चलाएका छन्,’ उनले भने ।

नेपाली इमानदार, निडर र अनुशासित हुन्छन् भन्ने कुरा यहाँ काम गरेका पूर्वजहरूले स्थापित गरिदिएकाले पछिल्लो पुस्तालाई धेरै सहज भएको नगरपालिकामा कार्यरत पाठकले बताए । ‘त्यो परिचय कायम राख्न सक्नुपर्छ,’ उनले भने, ‘सरकारी नभए पनि निजी र अन्य क्षेत्रमा नेपालीलाई कामको खाँचो हुँदैन ।’

प्रकाशित : असार २२, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?