कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियामा १ सय २५ प्रतिशतले बढे नेपाली

अस्ट्रेलियामा नेपालीको जनसंख्या करिब १ लाख ३० हजार पुगेको छ ।
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा नेपालीको जनसंख्या करिब १ लाख ३० हजार पुगेको छ । ५ वर्षअघि ५५ हजार मात्र रहेको नेपालीको जनसंख्या झण्डै १ सय २५ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ ।

अस्ट्रेलियामा १ सय २५ प्रतिशतले बढे नेपाली

अस्ट्रेलिया सरकारले हरेक ५ वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । सन् २०१६ को जनगणनामा करिब ५५ हजारको हाराहारीमा रहेका नेपालीको संख्या ५ वर्षको अन्तरमा दोब्बर बढी भएको हो । अस्ट्रेलियन सरकारले मंगलबार सार्वजनिक गरेको जनगणनाको तथ्यांक अनुसार विदेशमा जन्मिएर अस्ट्रेलिया आउने नागरिकको जनसख्ंया वृद्धिमा नेपालीको संख्या दोस्रो स्थानमा परेको छ ।

यस ५ वर्षको अवधिमा मात्र झण्डै ७० हजार नेपाली थपिएका छन् । अस्ट्रेलियाको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०११ मा जम्मा २७ हजार मात्र जनसंख्या रहेको नेपालीको संख्या ११ वर्षमा १ लाख ३० हजार पुगेको छ ।

अस्ट्रेलियामा अध्ययनका लागि आउने विदेशी विद्यार्थीको संख्यामा नेपाली तेस्रो स्थानमा रहेकाले पनि यो जनसंख्या वृद्धिलाई स्वभाविक रुपमा लिइएको छ । यसका साथै अस्ट्रेलियन सरकारले अनिवार्य नगरेका कारण जनगणनाको फारम नभर्ने कैयौं नेपाली रहेका कारण यो संख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको छ । सन् २०१० सम्ममा विद्यार्थीका रुपमा रहेका अधिकांश नेपालीले यहाँ स्थायी बासिन्दाको अनुमति लिएर पारिवारिक रुपमा व्यवस्थित बनिसकेका कारणसमेत नेपालीको संख्या ह्वात्तै बढेको अध्यागमन क्षेत्रका जानकारको भनाइ छ । उनीहरूले यो संख्या आगामी वर्षहरूमा अझ बढ्नसक्ने बताएका छन् ।

अस्ट्रेलियाको तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को जनगणनाको विवरणमा केही रोचक तथ्यांक समेत सार्वजनिक भएको छ । अस्ट्रेलियाको जनसंख्यामध्ये करिब आधा (४८ दशमलव २) प्रतिशत अभिभावक विदेशमा जन्मिएका छन् भने करिब २८ प्रतिशत नागरिक विदेशमा जन्मिएका छन् ।

अस्ट्रेलियाले कोरोना भाइरस महामारीका वावजुद १० लाख बढी विदेशीलाई आफ्नो देशमा भित्र्याएको छ भने भारतबाट मात्र करिब २ लाख २० हजार थपिएका छन् । भारतमा जन्मिने देशको हिसाबले अस्ट्रेलिया इंग्ल्याण्डपछिको तेस्रो ठूलो राज्य बन्न पुगेको छ । यसअघि चीन र न्युजिल्याण्ड भारतभन्दा अघि थिए ।

यसैगरी अस्ट्रेलियामा रहेका ५५ लाख नागरिकले आफ्नो परिवारमा अंग्रेजी बाहेक अन्य भाषासमेत बोल्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । यस्तै म्याण्डरिन भाषा अंग्रेजीपछि सबैभन्दा धेरै बोलिने भाषामा गनिएको छ । करिब ९ लाख अस्ट्रेलियामा रहेका जनताले या त अंग्रेजी राम्रो नबोल्ने वा बोल्दै नबोल्ने समेत विवरण सार्वजनिक गरिएको छ ।

३ लाख ६७ हजार नागरिकले अरबिक भाषा बोल्ने गरेका छन् भने झण्डै २ लाख ४० हजार नागरिक पन्जाबी भाषा बोल्छन् । बहुसांस्कृतिक देशका रुपमा विश्वमा चिनिएको अस्ट्रेलियामा विश्वभरिका नागरिक बसोबास गर्ने गरेका छन् । पछिल्लो समयमा यहाँको केन्द्रीय सरकार तथा राजनीतिक दलमा समेत विभिन्न धर्म तथा संस्कारका व्यक्तिले महत्वपूर्ण स्थान बनाउँदै गएका छन् ।

अस्ट्रेलियाका तथ्यांकविद डा. डेभिड गु्रएनले यस वर्षको रास्ट्रिय जनगणना अत्यन्तै महत्वपूर्ण भएको र भाषिक विविधताको दायरालाई समेटेको बताएका छन् । उनले यस जनगणनाले २ सय ५० बंशज तथा पुर्खा र ३ सय ५० भाषालाई समेटेको बताएका छन् ।


प्रकाशित : असार १४, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?