कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाली श्रमिकले धानेको मनालीको अर्थतन्त्र

विकास निर्माण, पशुपालन, खेतीपाती, पर्यटन, मजदुरीलगायत मनालीमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ नेपालीले काम नगरिरहेको होस्
राजेश मिश्र

मनाली, भारत — भारत हिमाचल प्रदेशको ‘हिल स्टेसन’ मनाली पर्यटकीय स्थलका रूपमा परिचित छ । बढी गर्मी हुने भारतका विभिन्न सहरका सर्वसाधारणलाई यहाँको चिसो मौसमले लोभ्याउने गरेको छ ।बर्सेनि लाखौं भारतीय नागरिक मनाली घुम्न आउँछन् ।

नेपाली श्रमिकले धानेको मनालीको अर्थतन्त्र

मनालीस्थित पर्यटन कार्यालयको तथ्यांकअनुसार कोरोना महामारीका बाबजुद गत वर्ष (सन् २०२१) मात्रै यहाँ २१ लाख आन्तरिक पर्यटक भित्रिएका थिए । विदेशीको संख्या भने केही हजारमा सीमित रहेको थियो । कोरोना महामारीका कारण सन् २०२० मा भने करिब ८ लाख भारतीयले मात्रै मनालीको भ्रमण गरेका थिए । भारतका विभिन्न सहरबाट मासिक सरदर डेढदेखि २ लाख जना मनाली आउने गरेको कार्यालयले जनाएको छ । मनालीको आयस्रोत आन्तरिक पर्यटकमा निर्भर रहेको यसबाटै प्रस्ट हुन्छ ।

यसरी भित्रिने पर्यटकलाई सेवा पुर्‍याउनेमा अग्रपंक्तिमा खटिएका हुन्छन्, नेपाली नागरिक । सानो हिल स्टेसन मनालीमा हजारौंको संख्यामा नेपालीभाषी छन् । कैयौंको त पुस्तान्तरण नै भइसकेको छ । मनाली बजारमा जताततै नेपाली कामदारहरू नै भेटिन्छन् । बिहीबार स्थानीय ‘माल रोड’ मा एक हूल नेपालीहरू नाम्लो र रस्सी बोकेर उभिएका भेटिए । उनीहरू कुल्लीको काम गर्छन् । उनीहरूलाई कसैले नाम्लो त कसैले रस्सी पाटीका रूपमा बोलाउँछन् । कामका लागि उभिएकामध्ये कैलालीका विनोद बम भन्दै थिए, ‘धेरै नेपालीहरू यहाँ बस्नुहुन्छ, उहाँहरूबाटै सम्पर्क हुन्छ । र, बेलाबेला काम गर्न यहाँ आउँछु ।’ विनोदको समूहमा दैलेख, बागलुङ, कैलाली र बर्दियाका व्यक्तिहरू थिए । उनीहरूले भन्दै थिए, ‘मनालीको मुठो (पैसा) र नेपालको पानीले आफूहरूको घर चलेको छ ।’

भारीको प्रतीक्षामा नाम्लो लिएर उभिएका नेपाली कामदार । तस्बिर : राजेश मिश्र/कान्तिपुर

मुख्य बजारमै छ, लक्ष्मी चिया पसल । त्यसका सञ्चालकदेखि कामदारहरू सबै नेपाली । टेबल–टेबलमा चिया पुर्‍याउन उनीहरूलाई भ्याइनभ्याई थियो । त्यहाँ कार्यरत ४ जनामध्ये दैलेखका राजबहादुर खत्रीले आफू मनाली आएको ३० वर्ष भइसकेको बताए । ‘अहिले ४६ को भए, १६ वर्षको हुँदा यता आएको रहेछु,’ उनले भने, ‘मनालीमै गरेको श्रमले आफ्नो जिन्दगी धानिएको छ ।’ बागलुङ मिसीखोलाका रवि पुन मगर सन् १९८३ मा २३ वर्षको हुँदा मनाली आएको सम्झिन्छन् ।

‘उताकै जस्तो पहाड, नदीनाला र मौसमले नेपालमै बसेको महसुस पनि हुन्छ,’ उनले भने, ‘जीवनको ऊर्जाशील समय मनालीलाई दिइसके ।’ भौतिक पूर्वाधार निर्माणमा संलग्न रहँदै आएका उनले केही वर्षदेखि आफैं निर्माण व्यवसायीका रूपमा काम गरिरहेका छन् । दर्जनौं नेपाली युवालाई रोजगारी पनि दिइरहेका छन् । ‘मैले उहाँहरूबाट र उहाँहरूले मबाट सहयोग पाउनुभएको छ, एकअर्काको पूरक बनेर बसेका छौं,’ उनले सुनाए ।

मनालीलाई जोड्ने सडक खन्ने कार्यमा पनि नेपालीहरू नै थिए । ‘ठूला चट्टानलाई फुटाएर मनालीसम्म सडक ल्याउने कार्यमा हाम्रो योगदान छ,’ सडक विभागकै स्थायी जागिरे सिन्धुपाल्चोकका साइँला लामा शेर्पाले कान्तिपुरलाई सुनाए । मनाली हिमाचल प्रदेशको कुल्लु जिल्लामा पर्छ । कुल्लुमा मात्रै ७० हजार नेपालीको बसोबास रहेको लामाले बताए । उनका अनुसार मनालीको सडक, जल र वन सम्बन्धित कार्यालयमा ६ सय नेपाली स्थायी रूपमै कार्यरत छन् । ‘राजधानी सिमला र अन्य जिल्लालाई पनि जोड्ने हो भने यो संख्या २ हजारभन्दा बढी छ,’ उनले भने ।

सडक विभागको ‘मेठ’ पदमा कार्यरत लामामातहत २० कर्मचारी/मजदुर खटिन्छन् । उनी अबको २ वर्षमा ६० वर्ष उमेर हदका कारण सरकारी सेवाबाट अवकाश पाउँदै छन् । मंगोलियन समुदायको बसोबास रहेकाले पनि मनालीमा धेरै पहिलेदेखि रोजगारी गर्न नेपालीहरू आउने गरेका उनले बताए । ‘स्थानीयहरू स्याउ खेती र पर्यटन क्षेत्रको आम्दानी तथा व्यापार व्यवसायबाट सम्पन्न छन् । जो छैनन्, उनीहरू पनि कामदार भएर काम गर्न चाहँदैनन्,’ उनले भने, ‘स्याउ टिप्न र घाँस काट्नमात्रै बर्सेनि मौसमी रूपमा हजारौं नेपाली कामदार यहाँ आउँछन् । केही महिनाको काम गरेपछि फर्किन्छन् । तिनको औपचारिक रेकर्ड त हामीले राख्नै सकेका छैनौं ।’

मनालीमा कुनै यस्तो काम छैन, जसमा नेपालीको संलग्नता नभएको होस् । सडक खन्ने, नदीजन्य पदार्थको उत्खनन, भवन निर्माण, पशुपालन, खेतीपाती, सवारी चालक, कुली, होटलमा सेफदेखि मजदुरीसम्म जताततै नेपालीले काम गरिरहेको भेटिने रोल्पा सुलिचौरका रतनलाल मगरले बताए । उनी आफू पनि सन् २००६ देखि यतै छन् । पर्यटकलाई प्याराग्लाइडिङ, र्‍याफ्टिङ, डाइभिङ, जीपलाइन, क्लाइम्बिङजस्ता साहसिक खेल खेलाउने कार्यमा पनि नेपाली युवाले कौशलता देखाएका छन् ।

भारतको राजधानी नयाँदिल्लीबाट ५ सय ७५ किलोमिटरको दूरीमा रहेको मनाली ठूलो सहर भने होइन । तर, हिउँ हेर्न/खेल्न, तातोपानी नुहाउन, व्यास नदीमा र्‍याफ्टिङ गर्न पर्यटकको घुइँचो नै लाग्ने गर्छ । ‘नेपालको पहाडी क्षेत्रमा पाइने जस्तै सुविधाहरू नै हो मनालीको आकर्षण, त्योभन्दा भिन्नता केही छैन,’ लामाले भने, ‘नेपालमा यस्ता ठाउँ एउटा/दुइटा होइन सयौं वा हजारौं बन्न सक्छन् । भारतीय पर्यटकलाई मात्रै उनीहरूले खोजेको अनुसारको सेवा सुविधा र सम्मान दिन सक्यो भने त्यसैले पनि नेपालका युवाहरूलाई उतै रोक्न सकिन्थ्यो ।’ उनले यहाँका मानिसले विदेशीबाट होइन, आफ्नै नागरिकलाई घुम्न बोलाएर कमाइरहेको उल्लेख गरे ।

भारतीय पत्रिका ‘पन्जाब केशरी’ का स्थानीय पत्रकार सोनु शर्मा मनालीको सानोदेखि ठूलो काम नेपालीहरूकै भरमा धानिएको बताउँछन् । ‘नेपालीहरू परिश्रमी र विश्वासिलो हुन्छन् । मनालीको पर्यटन, कृषि र निर्माण उद्यममा नेपालीहरूको धेरै ठूलो योगदान छ,’ उनले भने, ‘कुल्लु मनाली मात्रै होइन, छिमेकी लाहोल जिल्ला पुग्नुस्, त्यहाँ पनि कृषि कार्यमा नेपालीहरू नै भेटिन्छन् ।’ कुल्लु जिल्लाको जनसंख्या ५ लाख हाराहारी छ । त्यसभित्र ७० हजार नेपाली हुनुले पनि उनीहरूको योगदान कति होला भन्ने अनुमान लगाउन सकिने उनको भनाइ छ ।

प्रकाशित : चैत्र १२, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?