नेपाली राजदूतलाई यूएईका राजकुमारले भने- 'समस्या लिएर सिधै मलाई भेट्नू'- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली राजदूतलाई यूएईका राजकुमारले भने- 'समस्या लिएर सिधै मलाई भेट्नू'

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त राज्य इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद विन जायद अल नाहयानले यूएईमा अप्ठ्यारोमा परेका नेपालीको समस्या लिएर सिधै आफूकहाँ आउन
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई आग्रह गरेका छन् ।

‘यूएईको विकास र समृद्धिमा नेपालीको ठूलो योगदान छ । नेपालीले पुर्‍याएको योगदानको कदर गर्दछु,’ राजदूत ढकालसमक्ष आफ्नो निजी मजलिसमा भएको भेटमा भने, ‘नेपाली साँचिक्कै अप्ठ्यारोमा परेको अवस्थामा सिधै मलाई भेट्न आउनू । नेपालीलाई परेको अप्ठ्यारोलाई समाधान गर्न म हरपल तयार रहनेछु ।’

सन् २०१४ मा यूएईका अध्यक्ष खालिफ अल नाहयान स्वास्थ्य अवस्था बिग्रिएदेखि नै राजकुमार मोहम्मद विन जायद अल नाहयानले शासकीय बागडोर समाल्दै आएका छन् । यूएईको नीतिलाई दैनिक कार्यान्वयन गर्न उनी आफैं सक्रिय छन् । उनी यूएई सैन्य शक्तिका सहायक सर्वोच्च कमाण्डर पनि हुन् ।

राजकुमार नाहयानले यूएईमा कार्यरत नेपालीसहितको आप्रवासी श्रमिकलाई अझ सुरक्षित र मर्यादित बनाउन आफू हरदम तयार रहेको बताए । उनले आफू नेपालीको इमानदारिता र स्नेहबाट प्रभावित रहेको पनि बताए ।

भेटमा राजदूत ढकालले राजकुमार नाहयानलाई नेपाल भ्रमणको पुन: स्मरण गराएका छन् । तीन वर्षअघि राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल भ्रमणको लागि निम्तो दिएकी थिइन् । ‘हामी अहिले कोभिड विरुद्ध लडिरहेका छौं । यसलाई सबै मिलेर परास्त गरौं । म नेपालको भ्रमण अवश्य गर्नेछु’, नाहयानको भनाइ उद्धृत गर्दै ढकालले कान्तिपुरसँग भने ।

राजदूत ढकालले कोभिड विरुद्ध लड्नको लागि यूएई सरकारले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिएका थिए । युएईले आधुनिक स्तरको एक सय ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री नेपाललाई पठाएको थियो ।

प्रकाशित : पुस १९, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्

संकीर्ण जातिवादले राष्ट्रिय पहिचान बन्‍न सक्दैन : अध्यक्ष ओली

रासस

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संकीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न सक्नुपर्ने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको ३५औं स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपालीले सही विश्लेषणका आधारमा नेपालको ऐतिहासिकता र मौलिकताको उजागर गर्न सक्नुपर्नेमा जोड दिए । राम नेपालकै अयोध्यामा जन्मेका हुन् भन्नु वा पशुपतिनाथलाई संरक्षण गर्दै त्यहाँभित्रको वैज्ञानितालाई जनताका पक्षमा उपयोग गर्न खोज्दा त्यसलाई आध्यात्मवादसँग जोड्नेहरुप्रति आफूलाई दया लाागेको अध्यक्ष ओलीको भनाइ थियो ।

“वामपन्थीहरूको बहुमतको सरकार ढालेर दर्शन नमिल्ने विपक्षीको पछि लाग्ने अनि समाजवादको नेपाली बाटोको कार्यदिशा लिइनु कलंकीतिर हिँडेर भक्तपुर जाँदैछ भन्नुजस्तै हो,” नेकपामा भएको विभाजनतर्फ लक्ष्य गर्दै अध्यक्ष ओलीले भने, “जनतालाई यतिसम्म ढाँट्ने यो एक प्रकारले भीषण सांस्कृतिक विचलन हो । हामीले योजनाबद्धरूपमा सांस्कृतिक क्षेत्रलाई गतिशील बनाउन लाग्नुपरेको छ ।” एमाले फुटाउनुलाई अग्रगमन मान्ने पक्षलाई जवाफ दिँदै उनले एमालेले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनलाई आत्मसात् गरेर हिँड्ने पार्टी भएको जनाए ।

उनले मुलुकमा नेताहरूका लामा भाषणको तुलनामा जनस्तरमा चेतना र परिवर्तनको बिगुल फुक्नका लागि सांस्कृतिक कर्मीका लेख, रचना र प्रस्तुतिले असाधारण योगदान दिएको बताए ।

एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले विश्वको परिवेशलाई समेत ख्याल गरेर कम्युनिष्ट धारलाई जनतामुखी बनाउन संस्कृतिकर्मीको भूमिका हुने बताए । एमालेका जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले महासंघले सबै कलाकर्मीलाई एकतबद्ध बनाउँदै एमालेले मुलुकको पहिलो शक्तिका रूपमा स्थापित गर्ने भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : पुस १९, २०७८ १७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×