इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु - प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इराकमा बाढीले बगाउँदा दुई नेपालीको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ ।

कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । इराकमा आएको अविरल वर्षापछि बाढी आउँदा अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।

शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।

कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ । कुर्दिस्तान नेपाली समाजका महासचिव विनोद श्रेष्ठले सात वर्षको बसाइमा आफूले इराकमा वर्षाले यति धेरै क्षति पुर्‍याएको नदेखेको बताए ।

प्रकाशित : पुस ३, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्

‘कहिले टुंगिने भारतको भर ?’

मनोज बडू

दार्चुला — गाउँघरमा चाडपर्व सकियो । हिउँदे सिजनको खेतीपातीलगायतका सबै काम सकिएको छ । बर्सेनि यही समयमा यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत पस्ने गर्छन् ।

यतिबेला प्रमुख हिउँदेबाली गहुँ, जौ छर्ने काम सकाएर यहाँका स्थानीय दैनिक ज्यालादारीमा मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गइरहेका छन् । ‘हिउँदेबाली नपाकेसम्म सामान्य घरायसी कामबाहेक गाउँमा अन्य काम नहुने भएकोले एक/दुई महिना मजदुरीको कमाईबाट खर्च धान्न भारतमा कामको खोजीमा जाँदै छु,’ दार्चुलाको नौगाड गाउँपालिका–१ का नरिसिंह ठगुन्नाले भने । भारतमा दैनिक ज्यालादारीमा काम पाइने हुँदा खाली समयमा सबैजसो उतै मजदुरी गर्न जाने चलन पुरानो हो, तर अधिकांका लागि यो बाध्यता पनि हो ।

भारतका विभिन्न क्षेत्रमा भारी बोक्ने र सडकलगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै नेपाली भेटिन्छन् । भारत उत्तराखण्डको पिथौरागढ र धार्चुला जिल्लाका विभिन्न ठाउँहरूमा सडकलगायतका भौतिक संरचना निर्माणमा नेपाली मजदुरहरूले काम पाउने भएकोले दार्चुलाका अधिकांश कामदारको पहिलो रोजाइ यिनै ठाउँ हुने गरेका छन् । कारण त्यहाँ पारिश्रमिक केही बढीसमेत पाइन्छ । बास र खाना खाएर दैनिक ८ सयदेखि १२ सय रुपैयाँसम्म कमाइ हुने कामदार बताउँछन् ।

महिनामा खर्च कटाएर २० हजारभन्दा बढी आम्दानी हुने व्यास गाउँपालिका–५ का धनसिंह धामीको भनाइ छ । बढी काम हुने समयमा सघाउन घर आउने र अरु बेला भारतमै ज्यालादारीमा दिनहरू बितिरहेको उनले बताए । ‘त्यहाँ हामी मात्र होइन, सयौं नेपालीहरू ज्यालादारीमै पसिना बगाइरहेका छन्,’ उनले भने, ‘घरमा कमाइ गर्ने कोही नभएपछि मजदुरी गर्न भारत जाँदै छु ।’

प्रकाशित : पुस ३, २०७८ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×