यूएईमा नेपाली युवकको मृत्यु- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएईमा नेपाली युवकको मृत्यु

कान्तिपुर संवाददाता

रोल्पा — पूर्व भलिबल खेलाडीसमेत रहेका रोल्पाका एक युवकको यूएईमा मृत्यु भएको छ । रोजगारका लागि तीन वर्षअघि यूएई पुगेका रोल्पा नगरपालिका–८ जंकोटका दीपक डांगीको गत शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ।


तीन वर्षअघि सुरक्षा गार्डको रुपमा काम गर्न त्यहाँ पुगेका दीपक केही वर्ष नेपाली सेनामा आवद्ध रही राष्ट्रिय भलिबल खेलाडी भइसकेका थिए । उनी सेनाको जागिर छाडेर खाडीमा आकर्षक मानिएको सुरक्षा गार्डको काम गर्न पुगेका थिए । मृत्युको कारणबारे ठोस जानकारी नपाइएको परिवारले जनाएको छ ।

हाल लिबाङमा बसोबास गरिरहेका उनका छिमेकी लालबहादुर डांगीले मृत्युको अचानक खबर पाए पनि के कारणले मृत्यु भयो भन्ने जानकारी नपाइएको बताए । करिब ३३ वर्षीय उनका घरमा श्रीमती, छोराछोरी, बाआमा र भाइबहिनी छन् ।

करिब ६ फिट अग्ला उनलाई राम्रो खेलाडी ठानेर नेपाली सेनाले खेलाडीका रुपमा भर्ना गरेको थियो । तर यूएईको आकर्षक जागिर पाइने आशले उनी त्यहाँस्थित इजीएसएस कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्न पुगेका थिए । दीपक यूएईस्थित रोल्पाली युवाहरूले गठन गरेको संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजमा पनि आवद्ध थिए । उक्त संस्थाले अप्ठ्यारो परेका युवाका लागि सहयोग गर्दैआएको बताइन्छ ।

दीपकको निधनप्रति दुःख व्यक्त गर्दै समाजका अध्यक्ष सन्दीप थापाले दुःखद् घटना भएको प्रतिक्रिया दिएका छन् । समाजको पहलमा मृतकको शव नेपालस्थित घरमा पठाउने तयारी गरिएको दुबइमा रहेका समाजका प्रवक्ता शेरबहादुर डांगीले बताए । उनका अनुसार केही दिनअघि खाडीमै त्रिवेणी गाउँपालिका रोल्पाबाट रोजगारका लागि पुगेका अर्का एक युवाको ज्यान गएको थियो ।

प्रकाशित : मंसिर १९, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूद्वारा शपथग्रहण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक समारोह बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिएका थिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरू र महामन्त्रीहरूलाई बस्नेतले शपथ गराएका थिए । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङदेनले शपथ खुवाए ।

शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा सहभागी भएका थिएनन् । कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

काठमाडौंको भृकटीमण्डपमा आइतबार बिहान सम्पन्न एकता महाधिवेशनबाट लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन् ।

यससँगै २०६१ सालदेखि लगातार अध्यक्षमा रहेका नेता कमल थापा नेतृत्वबाट बाहिरिएका छन् । अध्यक्षमा पराजित भएपछि उनले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भूमिका खेलेको संकेत गर्दै प्रतिक्रिया दिएका छन् । उनले शीतल निवासले नांगो हस्तक्षेप गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित : मंसिर १९, २०७८ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×